हेटौँडा, जेठ १९ गते। हेटौँडा सिमेन्ट उद्योगबाट निस्कने धूलो नियन्त्रणका लागि उद्योगले भारतीय कम्पनी बेट्ली ब्वाई इन्भाइरोमेन्टल इन्जिनियरिङ कम्पनीसँग गरेको सम्झौता अवधि बिहीबारबाट सकिएको छ।
सम्झौता अवधि सकिए पनि उद्योगमा रिभर्स एयर ब्याग हाउस -आरएबीएच) जडान गर्ने कार्य सम्पन्न भएको छैन। उद्योगसँग बेट्ली ब्वाईले आठ महिनाभित्र निर्माण कार्य सक्ने सम्झौता अनुसार २०६७ साउन २३ गते निर्माणको काम सुरु गरेको थियो।
उद्योगले समयमै साइट उपलब्ध गराउन नसक्दा ठेकेदार कम्पनी र उद्योगबीच २०६९ जेठ १८ गते निर्माण कार्य सम्पन्न गर्ने सहमति भएको थियो। बिहीबारदेखि सम्झौता अवधि सकिए पनि हालसम्म सिभिलतर्फको ९० प्रतिशत र मेसिन जडानको ३० प्रतिशत कार्य मात्र सम्पन्न भएको उद्योगका नायब महाप्रबन्धक राजाराम अधिकारीले बताउनुभयो।
धूलो प्रभावित स्थानीय बासिन्दाको चौतर्फी दबाबका कारण हेटौँडा सिमेन्ट उद्योगले धूलो नियन्त्रणका लागि आरएबीएच जडानको कार्य अघि बढाएको हो। धूलो नियन्त्रणको प्रविधि जडानका लागि उद्योगले बेट्ली ब्वाई इन्भाइरोमेन्टल इन्जिनियरिङ कम्पनीलाई १२ करोड १० लाख रुपियाँमा ठेक्का दिएको थियो।
उद्योगले हालसम्म ७० प्रतिशत रकम ठेकेदार कम्पनीलाई भुक्तानी गरिसकेको छ। मुलुकको जटिल राजनीतिक परिस्थिति, लगातारको बन्द हड्तालले समयमै सामान आयात गर्न नसक्दा निर्माण कार्य प्रभावित भएको बेट्ली ब्वाई इन्जिनियरिङ कम्पनीका इन्जिनियर मनोजकुमार दीक्षितको भनाइ छ।
चर्को लोडसेडिङलेसमेत तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न कठिन भएको दीक्षितको दाबी छ। उद्योग प्रशासनले नियमित अनुगमन गरी र निर्माण कार्यमा विशेष सहयोग नपुर्याएको समेत उहाँले आरोप लगाउनुभयो। यता उद्योगका नायब महाप्रबन्धक अधिकारीले भने ठेकेदार कम्पनीले समयमै सामान आयात गर्न नसकेको र थोरै जनशक्ति लगाएको बताउनुभयो।
उद्योगसँग आरएबीएच प्रविधिको ज्ञान भएका इन्जिनियर नहँुदा यसको अनुगमनका लागि उद्योगले कन्सल्टेन्सी नियुक्त गरेको र सो कन्सल्टेन्सीले दिने प्रतिवेदनका आधारमा मात्र सामानहरू खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएकाले निर्माण कार्य ढिलाइ भएको अधिकारीले स्वीकार गर्नुभयो।
निर्माण कार्यमा ढिलाइ भए पनि यसको लागतमा वृद्धि नहुने उद्योगको दाबी छ। यता, भारतीय कम्पनी बेट्ली ब्वाईका साइट इन्जिनियर प्रकाश नारायणले आगामी दुई महिनाभित्र निर्माण कार्य सम्पन्न हुने दाबी गर्नुभएको छ। रिर्भस एयर ब्याग हाउस प्रविधि जडानपछि उद्योगबाट धूलोका रूपमा उड्ने लाइम स्टोन र आइरन उद्योगले पुनः प्रयोग गरी सिमेन्ट उत्पादन गर्न सक्नेछ।