जुरिच, जेठ २० गते। विश्वकप फुटबल उपाधि चारपटक जितिसकेको इटाली शुक्रबार राति मैत्री खेलमा रुससँग ३-० ले स्तब्ध बनेको छ।
युरो कप २०१२ को अभ्यासमा रहेको इटाली यसअघि पनि दुई मैत्री खेलमा पराजित भएको थियो। सन् १९८३ पछि इटालीले तीन खेल लगातार हारेको यो पहिलोपटक हो। यसैगरी इटालीले गोल नगरेको ३०० मिनेट भइसकेको छ। म्याच फिक्सिङले पनि अहिले समस्यामा रहेकोले युरो २०१२ का लागि इटालीको मनोबल उच्च हुन पाएको छैन। लक्जेम्वर्गसँगको मैत्री खेल रद्द भएकोले रुससँगको खेल इटालीको युरो कपअघि अन्तिम खेल थियो। लक्जेम्वर्गमा भूकम्प गएपछि अन्तर्राष्ट्रिय फुटबल रद्द भएको हो।
विश्व फुटबलमा आप\mनो रक्षात्मक खेलले सधैँ चर्चामा रहने इटालियाली डिफेन्स रुससँगको खेलको उत्तरार्द्धमा निकै कमजोर बनेको थियो। खेलको ६०औँ मिनेटमा डिबक्समा बिनानिगरानीमा रहेका अलेक्ज्यान्दर कर्जाकोभले पहिलो गोल गरे। खेलको ७६औँ मिनेटमा अर्को रक्षात्मक गल्तीमा रोमन सिर्कोभले खाली पोस्टमा बल छिराए। इटालीका गोलरक्षक मोर्गन डी सान्कटिस र डिफेन्डर क्रिस्टियन मागियोबीच तालमेल नमिलेपछि सिर्कोभ सहज गोल गर्ने मौका पाए। रुसले गरेको तेस्रो गोलमा पनि मागियोकै गल्ती रहृयो। उनले सिर्कोभलाई निगरानीमा राख्न नसकेपछि तेस्रो गोल भएको थियो। निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा सिर्कोभले हेडमार्फत गोल गरे।
यसैगरी, मार्को अर्नाउटोभिचले खेलको ८९औँ मिनेटमा गोल गरेपछि अस्टि्रयाले युरो २०१२ को सहआयोजक युक्रेनलाई ३-२ ले स्तब्ध पारेको छ। वेडर बि्रमेनका स्ट्राइकर अनाएटोभिचले कुल दुई गोल गरे। डायनामो किएभका मिडफिल्डर ओल हुस्एभले पनि दुई गोल गरे तर उनको दुई गोलले पनि युक्रेनलाई हारबाट जोगाउन सकेन। अस्टि्रयाका लागि पहिलो गोल ज्लाट्को जुनुजोभिचले गरेका थिए।
युरो २०१२ अन्तर्गत पहिलो खेलमा युक्रेनले स्वीडेनविरुद्ध खेल्नेछ। सो समूहमा इङ्ल्यान्ड र प|mान्स पनि रहेका छन्।
चेक गणतन्त्र पनि अन्तिम समयमा गोल बेहोरी हङ्गेरीसँग २-१ ले स्तब्ध बनेको छ। खेलमा दबाब बनाए पनि चेक गणतन्त्रलाई सिर्जनात्मक तथा प्राविधिक रूपमा उत्कृष्ट कप्तान टोमस रोसिकीको अनुपस्थिति खट्कियो। हाल घाइते रहेका रोसिकी युरो कप २०१२ अन्तर्गत रुसविरुद्धको पहिलो खेलमा भने दुरुस्त भइसक्ने आशा गरिएको छ। चेकको समूह 'ए'मा रुस, ग्रीस र पोल्यान्ड पनि छन्। एपी