राजविराज, जेठ २२ गते। कृषि तथा घरेलु औजार बनाउने सीप बोकेका बरही समुदायको मुख्य परम्परागत पेसा सङ्कटमा परेको छ। फलामबाट कृषि तथा घरेलु औजार बनाउने ग्रामीण क्षेत्रका बरही समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ ।
उनीहरूको जीविकोपार्जन गर्नका लागि कृषि तथा घरेलु औजार बनाएर बेच्ने मुख्य पेसा अहिले सङ्कटमा परेपछि उनीहरू आफै सङ्कटमा परेका छन् । बजारमा भित्रिएका सस्तो आयातित आधुनिक औजारले उनीहरूको पेसा सङ्कटमा पार्ने कारण बनेका छन् ।यो समुदायले फलामबाट घरेलु प्रविधिद्वारा चुलेसी, हलो, खुकुरी, हसिया, बन्चरो, कोदालो, खुर्पालगायतका औजार बनाउने गर्छन् । स्थानीयस्तरमा बनाएका औजार आयातितका तुलनामा केही महँगो भएकाले पनि बजारको समस्या परेको हो । यो पेसाबाट घरपरिवार चलाउन समस्या भएको कुशहा-६ का रामप्रसाद चौधरी बरहीले पहिले आरन थापेर काम गर्दा जहान परिवार पाल्न समस्या हुँदैन्थ्यो । राम्रो कमाइ थियो तर अहिले कृषि औजारको पनि त्यति अडर आउँदैन ।
जिल्लाको प्रायः सबै गाविसमा बरही समुदायको बसोबास छ । फलामका सामान बनाउने र यसैको बिक्रीबाट गुजारा चलाउने गरेकोमा अहिले सो समुदायले आफ्नो पुर्खौली पेसा छाड्न बाध्य भएका छन्। वषार्ंैदेखि यसै पेसालाई निरन्तरता दिँदै रामप्रसाद बाहिरबाट फलाम ल्याएर सामान बनाउँदा मूल्य केही बढी देखिने बताउँदै मानिस हाम्रो उत्पादन भन्दा बजारिया सामान बढी रुचाउँछन् । यसले हामी मारमा पर्यौँ । बजारको अभावले कति बरही जातिहरू यस पेसाबाट विस्थापित भइसकेको जानकारी दिनुभयो ।
स्थानीय बरही समुदायले बनाएका कृषि औजार बजारमा पाइने आयातित आधुनिक औजारभन्दा धेरै राम्रो र टिकाउ हुने गरेको सप्तरीको रायपुर गाविस-१ बस्ने भोला यादवले जानकारी दिनुभयो।
सहज र सरलरूपमा आवश्यक परेको बेलामा कृषि तथा घरेलु औजार बनाउन सकिने भएकाले झन्झट नहुने र बजार पनि धाउनु नपर्ने हँुदा आफूहरू खुशी रहेको तर सो समुदायले बजारको उचित व्यवस्था नपाउँदा सङ्कटमा परेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।
बरही समुदायको सो पेसाको संरक्षण र सम्बर्द्धन गरी बजार व्यवस्था मिलाउन सकेमा सो समुदायसँगै कृषकहरूसमेत लाभान्वित हुने उहाँको कथन छ। जाडो र गर्मीमा समेत कोइलालाई भात्तीको सहायताले फलाम तताएर औजार बनाउने गरेको कुलदीप शर्माले बताउनु भयो। आफूहरूको पुर्खौली पेसा बडो जोखिमपूर्ण तथा श्रमिकपूर्ण रहेको जानकारी दिँदै उहाँले आवश्यकता अनुसार कोइला नपाउँदा औजार बनाउन गाह्रो हुने र बनाएको औजारको उचित मूल्य नपाउँदा आफ्नो पुख्र्यौली पेसा सङ्कटमा पर्ने चिन्ता लागेको उहाँले बताउनुभयो।
गाउँका कृषकहरू बिहानैदेखि औजार बनाउन र मर्मत गर्न लाइनमा बसेका हुन्छन्, आफूले भ्याइनभ्याई उनीहरूको काम गर्छु, काम गरेबापत कृषकहरूले तोकिएबमोजिमको वाषिर्करूपमा धान, चामल, गहुँजस्ता खाद्यान्न दिने गरेको उहाँले बताउनुभयो। औजार बनाएको आम्दानीबाट छोराछोरीको पढाइ र घरपरिवारको खर्च पछि केही रकम बचतसमेत हुने गरेको र सोही कमाइबाट घडेरी, खेती योग्य जग्गासमेत जोडेको बताउनुभयो।
आफूहरूले बनाएको औजारहरूको प्रचारप्रसारका साथै उचित बजार व्यवस्थापन भएमा सङ्कटमा पर्न लागेको बरहीको पेसा उकास पाउने विश्वास व्यक्त गर्दै शर्माले युवाहरूले छोड्न लागेको पुख्र्यौली पेसाप्रति आकषिर्त हुनुका साथै बेरोजगारी समस्या समाधानमा सहयोग पुग्ने बताउनुभयो।