काठमाडौँ, जेठ २३ गते। चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर चार दशमलव ५६ प्रतिशत रहने अनुमान गरिएको छ। केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको चालू आर्थिक वर्षको प्रथम आठ महिना -२०६८ साल फागुन) सम्मको आँकडा र सूचनाका आधारमा यो अनुमान गरिएको हो।
सोमबार सूचना विभागले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहप्रवक्ता सागर आचार्यले यो कुराको जानकारी गराउनुभएको हो।
आ.व. २०६८/६९ को बजेट वक्तव्यमा पाँच प्रतिशत आर्थिक वृद्धि रहने अनुमान गरिएको थियो।
आचार्यका अनुसार चालू आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा चार दशमलव ५६ प्रतिशत रहने जसमा कृषि क्षेत्रको वृद्धिदर चार दशमलव ९३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर चार दशमलव २७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
चालू आर्थिक वर्षको सो अवधिमा कृषि तथा वन, मत्स्यपालन, खानी तथा उत्खनन, विद्युत्, ग्यास तथा पानी, होटल तथा रेष्टुराँलगायतका केही क्षेत्रको वृद्धिदर पाँच प्रतिशतभन्दा बढी रहे पनि उद्योग, निर्माण र घरजग्गा क्षेत्रको वृद्धिदर न्यून रहेको छ।
तथ्याङ्क विभागका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो आठ महिनासम्ममा उद्योग क्षेत्र एक दशमलव २८ प्रतिशत, निर्माण क्षेत्र शून्य दशमलव शून्य सात प्रतिशत र घरजग्गा तथा व्यावसायिक सेवा क्षेत्र दुई दशमलव ९७ प्रतिशतले बढ्ने अनुमान छ।