चितवन, जेठ २४ गते। पूर्वजानकारी दिएर मात्र राजस्व कार्यालयले पसलमा छापा मार्नु पर्ने भन्दै नारायणगढका व्यापारी प्रदर्शनमा उत्रेका छन्। नारायणगढको एक पसलले राजस्व छलेको आशङ्कामा आन्तरिक राजस्व नियन्त्रण विभाग केन्द्रीय कार्यालयको टोलीले वुधबार नारायणगढमा छापामार्दा व्यापारीहरू आक्रोशित हुँदै प्रदर्शनमा उत्रेका थिए।
प्रदर्शनका क्रममा राजस्व कार्यालयको टोलीमा आएको सशस्त्र प्रहरीको बा १ झ ९१३५ नम्बरको गाडी जलाएका छन् भने प्रहरी बिटसमेतमा आगजनी गरेका छन्। आगजनीबाट बिट र गाडी पूर्ण रूपमा क्षति पुगेको छ।
राजस्व कार्यालयका निर्देशक भरत सुवेदीको नेतृत्वमा आएको टोलीले नारायणगढको सहिद चोकमा रहेको लक्ष्मीनारायण वस्त्रालयमा छापामारी सिल लगाउने क्रममा व्यापारीहरू आक्रोशित भएका थिए। टोलीले वस्त्रालयको कागजपत्र नियन्त्रणमा लिएर पसलमा सिल गरेको थियो।
उद्योग वाणिज्य सङ्घसँग कुनै समन्वय नगरी पसलमा छामामारेको भन्दै व्यापारीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका थिए। उनीहरूले राजस्वका कर्मचारीले रकम घूस मागेको र रकम नपाएपछि पसलमा सिल गरेको आरोप लगाएका छन्। सोही वस्त्रालयमा यसअघि पनि राजस्व कार्यालयले छापामारी कारबाही गरिसकेको स्थानीय एक व्यापारीले बताएका छन्।
राजस्व छलेको, अनियमितता गरेको भन्दै टोलीले पसलमा सिल लगाएपछि व्यापारीहरू टोलीमाथि आक्रमणमा उत्रेको र स्थिति असमान्य बनेको प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिनु भयो। व्यापारी र प्रहरीबीच दोहोरो झडप भएपछि नारायणगढ क्षेत्र बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तनावग्रस्त बनेको थियो।
स्थिति असामान्य बन्न थालेपछि टोलीसँगै आएको प्रहरीले अश्रुग्यासका सेलहरू छाडेको प्रमुख जिल्ला अधिकारी दवाडीले जानकारी दिनु भयो। तनावग्रस्त स्थिति भएपछि विभागबाट आएका नौजनालाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा लगेको थियो।
टोलीका सदस्य बुधवार नै काठमाडौँ फर्किसकेका छन्। दिउँसो नारायणगढमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा दुई जना घाइते भएका छन्। भरतपुर-३ की ३३ वषर्ीय कमला महतो र भरतपुर-६ का ५९ वर्षका रामशरण तिवारी घाइते भएको प्रहरीले बताएको छ। दुबै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। नारायणगढकै विषयलाई लिएर पूर्वी चितवनको रत्ननगरका व्यवसायीले समेत बजार बन्द गराएका थिए। उनीहरूले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका थिए।
यता आगजनी नियन्त्रण लिन आएको भरतपुर नगरपालिकाको बारुणयन्त्रलाई समेत आगो निभाउन नदिएर फर्काइदिएका थिए। प्रहरी र प्रदर्शनकारीबीच बिहान १० बजेदेखि सुरु भएको झडप मध्यान्ह १ः३० बजेपछि मात्र सहज बनेको थियो। असहज परिस्थिति सिर्जना भएपछि बन्द भएका पसलहरू १ बजेपछि खुलेका थिए।
विभागबाट आएका कर्मचारीले पसलमा सिलबन्दी गरेपछि त्याहाँ पुगेका उद्योग वाणिज्य सङ्घ चितवनका प्रतिनिधिसमेतको सहभागिता रहेका व्यवसायीहरूले निर्देशक सुवेदीलाई तीन घण्टाभन्दा बढी कब्जामा लिएर सिलबन्दी खोल्न बाध्य पारेका थिए।
व्यवसायीको दबाबमा परेका विभागका निर्देशकले माथिको आदेशमा आफूले सिल गरेको र सिल खोल्न पनि माथिकै आदेश चाहिने बताइरहँदा व्यवसायीहरू उनको कुरो सुन्न चाहेनन्। निर्देशकको सुरक्षामा रहेका प्रहरीले समेत सुरक्षा दिन नसक्ने अभिव्यक्ति दिइरहेका थिए। सुरक्षाको महसुस गर्न नसकेका निर्देशक सुवेदीले व्यवसायीको माग पूरा गरे पनि उहाँलाई मुक्त गर्न ठूलो प्रहरी शक्ति परिचालन गरी अपहरणको शैली अपनाउन परेको थियो।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले व्यवसायीलाई आतङ्कित पार्ने किसिमले छापामारेका कारण यो परिस्थिति सिर्जना भएको बताउनुभयो ।