अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
'सहमतिका लागि प्रधानमन्त्रीले पद त्याग गर्नुपर्छ'
गोरखापत्र समाचारदाता
 

काठमाडौँ, जेठ २५ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार पूर्वप्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दसँग भेट गरेर राजनीतिक परामर्श गर्नुभएको छ।

२०४६ सालयताका पूर्वप्रधानमन्त्रीलाई भेट्ने क्रममा उहाँले थापा र चन्दसँग भेट गर्नुभएको हो।

संविधानसभा विघटनपछि दलहरूबीच राष्ट्रिय सहमति कायम गर्ने उद्देश्यले प्रधानमन्त्री डा. भट्टराईले केही दिनयता राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ।

प्रधानमन्त्री डा. भट्टराईले यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपालसँग भेटघाट गरिसक्नुभएको छ।

बिहीबार प्रधामन्त्री डा. भट्टराईले पूर्वप्रधानमन्त्री थापा र चन्दको निवासमै पुगेर राष्ट्रिय सहमतिका लागि आग्रह गर्नुभएको बताइएको छ।

प्रधानमन्त्री डा. भट्टराईको निजी सचिवालयका अनुसार प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री थापा र चन्दलाई मुलुकलाई निकास दिन राष्ट्रिय सहमति र नयाँ निर्वाचनमा जानुको विकल्प नरहेकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो।

प्रधानमन्त्रीसँगको भेटपछि पूर्वप्रधानमन्त्री थापाले अहिलेको असहज राजनीतिक अवस्थालाई सहज बाटोमा ल्याउन प्रधानमन्त्रीलाई पद त्याग गर्ने सुझाव दिएको बताउनुभयो।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिलेको बेला भनेको पदमा बसेका मानिसले त्याग गर्ने बेला हो भन्दै त्यागबाटै राष्ट्रिय सहमतिको वातावरण बन्ने बताउनुभयो।

पूर्वप्रधानमन्त्री थापाले राष्ट्रिय सहमतिको विकल्प नरहेको चर्चा गर्दै यसका लागि पदमा रहनेले पदमा नरहने मानसिकता बनाएर जिरो बेसबाट नयाँ अध्याय सुरु गर्नुपर्छ भन्ने कुरा प्रधानमन्त्री भट्टराईसँग राखेको स्पष्ट गर्नुभयो।

"सम्पूर्ण कुरालाई जिरोमा लैजानुपर्छ अनि जिरोबाटै सुरु गर्नुपर्छ भनेको छु", उहाँले भन्नुभयो।

यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि प्रधानमन्त्री डा. भट्टराईलाई मुलुकलाई निकास दिन राष्ट्रिय सहमति एकमात्र विकल्प भएकाले यही बाटोबाट अघि बढ्न सुझाव दिएको बताउनुभयो।

भेटपछि गोरखापत्रसँग कुरा गर्दै उहाँले कानुनी र संवैधानिक बाटो अवरुद्ध भएकाले राजनीतिक सहमति कायम गरेर अघि बढ्नुको विकल्प छैन भन्नुभयो।

पूर्वप्रधानमन्त्री चन्दले भन्नुभयो, "प्रधानमन्त्रीजी पनि सहमतिकै बाटोमा हुनुहुन्छ भने मैले पनि यही बाटो नै सही हो भनेको छु।"

उहाँले ठूला दलहरूले जिम्मेवारीबोध गरेर अघि बढ्दामात्र राष्ट्रिय सहमति चाँडो कायम हुन्छ भन्दै त्यसतर्फ ध्यान दिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको बताउनुभयो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home