कास्की, जेठ २६ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विघटित संविधानसभालाई कुनै पनि हालतमा ब्युँताउन नसकिने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्वतः विघटित भएको संविधानसभालाई ब्युँताउँदा सर्वोच्च अदालतले पुनः अस्वीकार गर्न सक्ने बताउनुभयो ।
"२०४७ सालको संविधानले राजामा रहेको अधिकार प्रयोग गरी जनआन्दोलनपछि २०६३ सालमा प्रतिनिधिसभा ब्युँताइएको थियो । अहिलेको संविधानमा त्यस्तो अधिकार कसैलाई छैन, त्यसैले संविधानसभालाई ब्युँताउन सकिँदैन," प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो ।
प्रतिपक्षी दलहरूको विरोध तत्कालको आवेग मात्र भएको बताउँदै उहाँले दलहरू लोकतन्त्र र शान्तिप्रति प्रतिबद्ध हुने हो भने निर्वाचन अवश्य सफल हुन्छ भन्नुभयो।
राजनीतिक, संवैधानिक र नैतिक सङ्कटलाई टार्न सर्वोच्चको फैसलालाई टेकेर आफूले बाध्य भएर नयाँ निर्वाचनको मिति घोषणा गरेको उहाँको भनाइ थियो ।
राजनीतिक दलहरूलाई आवेग र आक्रोशको सट्टा विवेकले काम गर्न प्रधानमन्त्री डा. भट्टराईको सुझाव थियो ।
माओवादी पार्टीका उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री डा. भट्टराईले माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्ष पार्टी एकताको पक्षमा दृढ भएर लागेमा आफूले प्रधानमन्त्री पदसमेत त्याग्न तयार रहेको बताउनुभयो । रासस