पोखरा, जेठ २६ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तोकिएकै मितिमा संविधानसभाको निर्वाचन गराइछाड्ने बताउनुभएको छ। सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन, पोखरामा सञ्चालित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम तथा दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
उहाँले राष्ट्र परिवर्तनको सङ्घारमा रहेका बेला संविधानसभा विघटन भएपछि मुलुक अहिले ताजा जनादेशका लागि मुलुक निर्वाचनमा होमिएको हुँदा तोकिएकै मितिमा निर्वाचन गराउन सरकार लागिपरेको बताउनुभयो।
यो अवस्थामा सशस्त्र प्रहरी बलले विगतको संविधानसभा निर्वाचनमा खेलेको भूमिकाझैँ अब हुने चुनावमा पनि महìवपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेको र देश संविधानसभा निर्वाचनमा होमिएको हँुदा सुरक्षा निकायलाई सहज भएर काम कर्तव्यमा खटिन निर्देशनसमेत दिनुभयो।
सशस्त्र प्रहरी बलको उच्चतम प्रयोग गर्दै मुलुक र जनताप्रति उत्तरदायी बनेर शान्तिसुरक्षा कायम गराउनमा सशस्त्र प्रहरीले महìवपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो।
प्रधानमन्त्री डा. भट्टराईले राष्ट्रिय स्वाधिनता, सार्वभौमिक र अखण्डताको रक्षा गर्नु सबैको दायित्व हो भन्दै वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक विभेदको अन्त्य गर्दै जातीय क्षेत्रीय भाषिकसहितको सङ्घीय राज्य पुनःसंरचना गरेर राष्ट्रिय अखण्डतालाई बलियो बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो।
उहाँले राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन जातीय क्षेत्रीय भाषिक एवं विविधताको सम्मान गर्दै समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
उहाँले वर्तमान अवस्थामा विश्वका विभिन्न मुलुकले आतङ्कवाद, मानव तस्कर, विभिन्न किसिमका हातहतियार ओसारपसार, लागूऔषध कारोबारका कारण अपराधजन्य समस्या भोग्नुका साथै मुलुकभित्रकै समस्याबाट मुक्त हुन नसकेको पनि बताउनुभयो।
समारोहमा सिसं. ९ अन्तर्गत एक वर्षको तालिम लिएका ७७ जना सशस्त्र प्रहरी दीक्षित भएका छन्। तालिममा ८५ जनाको सहभागिता रहे पनि दुई जना तालिम पूरा गर्न नसकेका र शारीरिक अस्वस्थताका कारण पाँच जनाले बीचमै छाडेका थिए।
कार्यक्रममा गृहमन्त्री विजयकुमार गच्छदारले सङ्क्रमणकालीन अवस्थामा शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकायका हरेक अङ्ग सजग रहनुपर्ने बताउनुभयो। कार्यक्रममा सङ्गठन प्रमुख एवं सशस्त्र प्रहरी महानिरीक्षक कोषराज पन्तले सशस्त्र प्रहरीले आफ्नो सङ्गठन विस्तारका साथ जनताको सुरक्षाका लागि पनि तल्लिन रहेको स्पष्ट पार्नुभयो। त्यसैगरी, समादेशक नारायणबहादुर थापाले तालिममा सिकेको कुरालाई देश र जनताप्रति समर्पित गर्न दीक्षित प्रहरीलाई निर्देशन दिनुभयो।
त्यसक्रममा उत्कृष्ट रहेका प्रशिक्षार्थीमा केदारनाथ सापकोटा, बालकृष्ण महर्जन, पुष्करबहादुर सिंह, नवराज पुडासैनीलगायतलाई प्रधानमन्त्री भट्टराईले पुरस्कारसमेत प्रदान गर्नुभयो। दीक्षित भएका सशस्त्र प्रहरी निरीक्षकमध्ये एक जना महिला पनि छन्।