अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
महिलाप्रति विभेद किन ?
अछरी पोखरेल
 

हाँडीमा कनिका छँदासम्म राँडीलाई निन्द्रा लाग्दैन केही दिनअघि प्रसारण भएको टेलिभिजनको समाचारमा यो उखान आयो। महिलालाई होच्याउने उखान प्रयोग गरेको सुन्दा केही लेख्न मनलाग्यो। अर्को उखान ''बूढी मरी भन्नु भन्दा पनि काल पल्कियो भन्ने डर'' भन्दै समाचार धाराप्रवाह भइरहयो। अछाम जिल्लाको खलंगामा तीन वर्षदेखि पुल नबनेको समाचार आइरहेको थियो। त्यसमा बूढो मर्यो भन्दा पनि काल पल्कियो भन्ने डर भने पनि त हुन्थ्यो नि तर त्यसो भन्दा पुरुषलाई अपमान गरेको हुने हुँदा नभनिएको हो कि Û महिलालाई अपमान गर्ने खालको उखान किन भइरहेको होला ?

यस्ता विकृतिलाई हटाउन सकिँदैन ? मनमा प्रश्न उब्जिन्छ। सकिन्छ भने त्यस्ता महिलालाई अपमान गर्ने उखानको प्रयोग किन अन्त्य नगर्ने ?

गत वैशाख १५ गते बिहान उठेर नेपालगन्जबाट प्रसारण हुने स्थानीय एफएम रेडियो खोल्दा समाचार आइरहेको थियो। समाचार सुन्दै जाँदा समाचार वाचकले जब पर्यो राती तब बूढी ताती भन्ने उखान वाचन गरे। पुरुषको निम्ति यस्तो उखान पो प्रयोग हुन्छ ः कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको । यस्ता उखानको प्रयोगले समाजमा महिलालाई कमजोर र पुरुषलाई शक्तिशाली अथ्र्याउँछ। त्यसमा पनि सञ्चारमाध्यमले पनि बोल्दा वा लेख्दा महिलालाई नै होच्याउने उखान प्रयोग गर्नुले महिलालाई झन् कमजोर भनि सबित गरेका छन्। कुरा उखान टुक्काको मात्र होइन कतिपयको घरमा श्रीमानले श्रीमतीलाई तँ भनी सम्बोधन गर्दछ तर श्रीमतीले भने तपाईं, हजुर भनी सम्बोधन गर्ने गरेको पाइन्छ। महिला र पुरुष समान हुन् भने यो लैंगिक विभेद किन ?

यो सवालले पितृसत्तात्मक समाज बलियो रहेको पुष्टि हुन्छ। आगो ताप्नु मुढाको कुरा सुन्नु बूढीको भन्ने उखान पनि हुनसक्थ्यो नि त। तर हाम्रो समाजले महिलासँग पनि बुद्धि र क्षमता हुन्छ उनीहरूले पनि केही कुरा भन्न बोल्न सल्लाह सुझाउ, अर्ती उपदेश दिनसक्छन् भन्ने सोच नै राखेको पाइँदैन। महिला कमजोर हुन्छन् केही जान्दैनन् भन्ने मान्यताले हाम्रो समाज ग्रस्त छ। त्यसकारण उखान पनि त्यहि किसिमबाट सिर्जित हुँदै गए। त्यस्ता उखानमा परिवर्तन जरुरी छ। यसरी सञ्चार माध्यममा प्रकाशन, प्रसारण भएका समाचार हुन् वा बोलीचालीका समयमा प्रयोग हुने शब्द। महिलालाई होच्याउने उखानहरू ख्यालै नगरी प्रयोग गरिएको पाइन्छ। हाम्रो समाजमा शक्तिशाली र कमजोर वर्ग गरी दुई किसिमका वर्ग छन्। त्यसमा यी उखान टुक्काले पनि त्यही कमजोर वर्गलाई झन् कमजोर बनाउन जोड दिएको पाइन्छ।

आजको २१औं शत्ताब्दीमा पनि यसरी महिलालाई होच्याउने उखान टुक्का प्रयोग गर्नुले हाम्रो समाजको अवस्था छर्लङ्ग पार्दछ। एउटा घरमा सासुले बुहारीलाई दाबाएको देखेर ती बुहारीले पनि आफ्नी बुहारीलाई त्यही व्यवहार गर्दछिन्। त्यसै गरी श्रीमान्ले श्रीमतीलाई अपमानजनक शब्द प्रयोग गर्नाले छोराले पनि त्यही सिक्छन् र बुहारीलाई त्यही शब्द प्रयोग गर्दछन्। त्यसकारण सञ्चारमाध्यममा प्रयोग गर्ने उखान टुक्काले कहीँ कतै कसैको मनमा ठेस पुर्याएको छ कि ? भन्नेबारे सोचेर बोल्नु र लेख्नु जरुरी छ। जनतालाई सुसूचित गर्ने सञ्चारमाध्यम झन् चनाखो र सतर्क हुन जरुरी छ। लैंगिक विभेद हुने खालका उखान प्रयोग गर्नाले समाजमा लैंगिक विभेदमा कमी ल्याउनुको सट्टा निन्तरतालाई प्रश्रय दिन्छ।

महिला हिंसा अन्त्यको निम्ति सञ्चार माध्यमहरूमा प्रयोग गरिने भाषामा पनि सुधार हुन आवश्यक छ। एक त महिला भनेपछि कमजोर ठान्ने गरिन्छ झन् उखान टुक्का पनि त्यस्तै प्रयोग गरिनुले महिलालाई अगाडि नभइ पछाडि धकेल्नमा मद्दत पुर्याउँछ। उखान प्रयोगकै शिलशिलामा भन्नुपर्दा अर्को उखान प्रयोग बारे पनि चर्चा गर्न मनलाग्यो। केही समयअघि स्वयंसेविका महिलाको अञ्चलस्तरीय भेला नेपालगन्जमा भएको थियो । भेलामा भाषण गर्ने व्यक्तिले नहुनु मामा भन्दा कानो मामा जाति भन्ने उखानको प्रयोग गर्दै मच्चीमच्ची निकै मिठामिठा भाषण गरे। मेरो आडैमा रहेकी अपाङ्गता भएकी एक महिलाले मेरो कानमा खुसुक्क भनिन् किन होला त्यस्तो उखान प्रयोग गरिएको ? यो उखान सुन्दा मन चसक्क हुन्छ। अनि मैले पनि सोचेँ ए हो त नि अपाङ्गता भएका व्यक्तिलाई त यो शब्दले चित्त पो दुख्दोरहेछ। प्रसङ्ग स्वयंसेविकाले विगतका दिनमा निःशुल्क सेवा गर्दै आएकोमा अहिले आएर सरकारले वर्षको एकजोर पोसाक दिने उनीहरूको खातामा ५० हजार राखिदिएर प्रत्येक वर्ष १० हजारको दरले थप्दै जाने नीति ल्याएकोमा स्वागत गर्दै कत्ति नहुनुभन्दा केही आर्थिक पाएकोमा राहत भएको सवाल उठाउँदै नहुनुमामा भन्दा कानो मामा जाति भनिएको थियो।

विगतको इतिहास हेर्ने हो भने महिला र पुरुषमा केही भिन्नता रहेको पाइँदैन। समाजको विकास हुँदै जाँदा महिलालाई घरभित्रको काम र पुरुषलाई घरबाहिरको काम भनेर बाँडफाँड गरिएको मात्र हो। हाम्रो पितृसत्तात्मक समाजले यतिसम्म महिलाको शोषण गर्दै गयो कि पैसा नआउने काम जति महिलालाई र पैसा आउने काम पुरुषलाई। घरभित्रको काममा पुरुषले वास्तै नगर्ने र महिलाले पनि घर बाहिर गएर मैले पनि पैसा कमाउनु पर्दछ भन्नेतर्फ नसोेच्ने हुँदा महिला र पुरुष बीचमा ठूलो खाडल बनेको हो। त्यही अनुरूप उखान टुक्का पनि प्रयोग गरेर महिलालाई होच्याउन थालिएको हो। पितृसत्तात्मक समाजको एउटा उदाहरण काठमाडौंका डिएसपी रन्जन कोइरालाले श्रीमती गीता अधिकारीको हत्या गर्नु पनि हो। उनले श्रीमतीको हत्या गरेको छर्लङ्ग हुँदाहुँदै मारबलमा ढलेर मरी भन्ने बयान दिए। यदि ढलेर मरेको भए उनले लाशलाई पोको पारेर किन गाडे ? मट्टीतेल, पेट्रोल छर्केर किन आगो लगाए ? उनको बयान लिने ठाउँमा पनि पुरुष त्यसमा पनि समकक्षी साथी भएका कारण घटनालाई लुकाउन खोजियो। सायद बयान लिने ठाउँमा महिला भएको भए त्यस्तो हुने थिएन होला। महिला र पुरुष हुँदामा कति फरक पर्दछ भन्ने कुरा त धनगढी कैलालीमा सुन्तली धामीको केशले स्पष्ट पारिसकेको थियो। सुन्तली धामीलाई ६ जना प्रहरीले सामूहिक बलात्कार गरेको घटना सही हो भन्ने लागेपछि दोषीमाथि कारबाही भएको थियो। यो केशमा डिआइजी पार्वती थापाले प्रत्यक्ष निगरानी राख्नुभएको थियो। उहाँले चालेको साहसी कदमले महिला र पुरुषले गर्ने व्यवहार प्रष्ट पारेको थियो। उहाँले सही काम गरेकै कारण केश लुकाउन सकिन्छ कि भनेर त्याहाँबाट सरुवा समेत गराइयो। तर दोषी उपर कारबाही भएरै छाड्यो।

अबका महिलाहरू पनि घरबाहिर गएर पैसा कमाउने काममा लाग्न थालेका छन्। घरभित्रको काम पनि महिला र पुरुष दुवैजनाले गर्ने र बाहिरको पैसा आउने काममा पनि दुवैजनाले गर्ने सोचको विकास हुँदै गएको अवस्थामा त्यसप्रकारका लैंगिक विभेदका उखानको प्रयोगको अन्त्य हुनुपर्दछ। समयले कोल्टो फेर्दै जाँदा महिला पनि घरबाहिरको अर्थोपार्जनमा नलागेका भने होइनन् कतिपय महिलाहरूले घरबाहिर गएर कमाएर घरपरिवारको आर्थिक भार थेगेका उदाहरण पनि हाम्रासामु छन्। आजका महिला पुरुषको तुलनामा कमजोर छैनन्। तर उनीहरूलाई अवसरको खाँचो छ। अवसर पाउने हो भने महिला र पुरुषमा कुनै भिन्नता हुँदैन खाली महिलालाई हेर्ने हाम्रो समाजको आँखामा परिवर्तन जरुरी छ। महिला भन्ने बित्तिकै कमजोर हुन्छन् र पुरुष भन्ने बित्तिकै शक्तिशाली हुन्छन् भन्ने पितृसत्तात्मक सोचमा परिवर्तन जरुरी छ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home