विश्वकप फुटबलपछि सबभन्दा ठूलो मानिने फुटबल प्रतियोगिता युरोपियन च्याम्पियनसिप सुरु भइसकेको छ। युरोपका १६ मुलुकले खेल्ने प्रतियोगिता भए पनि यसको प्रभाव विश्वभरि नै छ। नेपाल पनि यसमा अछुतो छैन। नेपालमा पनि युरोकप जित्ने टिमको अड्कलबाजी हुन थालिसकेका छन्। यसै सेरोफेरोमा गोरखापत्रका सुमन भोम्जनले नेपालका फुटबल हस्तीसँग गरेको कुराकानीको सङ्क्षेप।
कृष्ण थापा -राष्ट्रिय यु-२२ का प्रशिक्षक)
विश्वकपपछिको ठूलो फुटबल महोत्सव हो युरोकप। युरोकपबाट प्राविधिक विषयमा थप ज्ञान हासिल गर्ने योजनामा छु। एएफसी यु-२२ फुटबल प्रतियोगिताको समय युरोकपसँग जुधेपछि सायद सबै खेल हेर्न सकिन्न होला। नेपालको खेल नभएको दिन खेलाडीलाई युुरोकप हेर्न छुट दिनेछु।
युरोकपको उपाधि यसपटक सहआयोजक पोल्यान्डले जित्ने मेरो अनुमान छ। स्पेन, जर्मनी, नेदरल्यान्ड, रुस, पोर्चुगल र इङ्ल्यान्ड पनि राम्रा टोली हुन्। पोल्यान्ड विश्वकपमा छनोट भएर खेल्ने राष्ट्र र घरेलु मैदानमा खेल्ने भएकाले पोल्यान्डप्रति मेरा विश्वास बढी भएको हो।
राजु शाक्य
-एनआरटीका प्रशिक्षक)
दर्शकका रूपमा युरोकपले जो कोहीलाई पनि उत्साहित बनाउन सक्छ। तर प्रशिक्षकको नजरबाट म युरोकप हेर्नेछु। जर्मनी, स्पेन, इङ्ल्यान्ड, पोर्चुगल, इटाली बलिया टिम हुन्। यिनीहरूमध्ये एकले उपाधि हत्याउने मेरो विश्वास छ। यसमध्ये पनि जर्मनीले उपाधि जित्ने बढी सम्भावना देख्छु। च्याम्पियन्स लिगको फाइनल खेलको वार्यन म्युनिखका खेलाडीको जमात जर्मनी टिममा छ। यसैगरी गत विश्वकप र छनोट चरणमा पनि जर्मनीको प्रदर्शन राम्रो छ।
मेघराज केसी -थि्रस्टारका प्रशिक्षक र
राष्ट्रिय टिमका सहप्रशिक्षक)
युरोकप उच्च वरीयताका राष्ट्रबीच भिडन्त हुने प्रतियोगिता हो। जहाँ खेलाडीमात्र होइनन् प्रशिक्षक पनि उत्तिकै माहिर हुन्छन्। युरोबाट नयाँ ज्ञान हासिल गर्ने आशा गरेको छु। जुन म आप\mनो टिममा प्रयोग गर्नेछु। उपाधि विजेताको अनुमान लगाउन भने गार्हो छ।
हरि खड्का
-नेपाल राष्ट्रिय टोलीका पूर्वकप्तान)
विश्वकपछि मैले हेर्न नछुटाउने अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता युरोकप हो। जसमा सहभागी सबै टिम १९/२० का हुन्छन्। त्यसैले मलाई लाग्छ, प्रतियोगिताको अन्त्यसम्म पनि उपाधि कसले हत्याउने अनुमान लगाउन गाह्रो हुन्छ। यद्यपि जर्मनी, स्पेन, इङ्ल्यान्ड र नेदरल्यान्डमध्ये एकले उपाधि जित्छ जस्तो लाग्छ। यसैगरी मैले युरोकपको लिग चरण घरमा र नकआउट खेल बाहिर हेर्ने योजना बनाएको छु।