काठमाडौँ, जेठ २९ गते। नेकपा एमालेले सरकार स्वेच्छाचारी ढङ्गले अगाडि बढेको निष्कर्ष निकाल्दै सरकारविरुद्ध सडक आन्दोलन चर्काउने निर्णय गरेको छ। नेकपा एमाले मुख्यालय मदननगर बल्खुमा सोमबार बसेको स्थायी कमिटी बैठकले एकपछि अर्को गर्दै सरकारले असंवैधानिक काम गरिरहेको निष्कर्षसहित सडक आन्दोलन चर्काउने निर्णय गरेको छ।
बैठकले संविधानसभा विघटन, एकलौटी रूपमा गरिएको निर्वाच्ानको घोषणा, अध्यादेशमार्फत बजेट ल्याउने तयारीजस्ता एनेकपा -माओवादी) नेतृत्वमा रहेको सरकारका गतिविधिलाई असंवैधानिक भएको ठहर गरेको छ।
बैठकपछि उपाध्यक्ष वामदेव गौतमले अध्यादेशमार्फत मुलुक चलाउन लागेकाले सडक आन्दोलनभन्दा अर्को विकल्प नरहेको बताउनुभयो।
उहाँले कामचलाउका रूपमा गइसकेको सरकारले अध्यादेशमार्फत बजेट ल्याउनका लागि राष्ट्रपतिलाई दबाब दिएको भन्दै सरकारविरुद्ध सशक्त सडक आन्दोलन गर्ने निर्णय भएको जानकारी गराउनुभयो।