बढ्दो गर्मीसँगै बिहान उठ्न अल्छी लाग्छ, दिउँसो चुप लागेर बस्दा निद्रा लाग्छ, बाहिर जाँदा, घुम्दा चाँडै खुट्टा गल्छ र घामको पोलाइले घमौरा आई सताउँछ तथा पसिनाले शरीरलाई दुर्गन्धित बनाउँछ। टाउको दुख्ने, आलस्य हुने, टाइफाइड, झाडापखाला, भाइरल फ्लु, पेटको दुखाइ, वान्ता हुने, जन्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा हुने, चिलाउने, धागो जस्ता चिरा आउने, एलर्जी कन्जटाइभाइटिस तथा आँखाको सङ्क्रमण, सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या आदि यस मौसममा बढी लाग्ने रोग हो।
सरसफाइको कमी, बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानीव्यहोरा, सडेगलेका फलफूल, जथाभावी खाना र पानीमा ध्यान नदिंदा रोगले आक्रमण नगर्ने कुरै भएन। जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यत्तिकै समस्या छ। मुलुकभर नै गर्मी बढेकोले यस्ता बिरामी स्वास्थ्य संस्था, अस्पतालमा बिरामीको चाप हृवात्तै बढेको छ।
गर्मीमा पकाइएको खाद्य वस्तु केही घण्टामै कुहिने, बेस्वाद र बेरङका हुन्छन् किनभने गर्मीमा सूक्ष्म जीवहरू छिटो र बढी सक्रिय हुन्छन् र तीव्र विषाक्त हुन्छन् र कुहिन्छन्। तसर्थ बढीमा दुई घण्टाभित्र खाइसक्नु राम्रो हुन्छ। गर्मीमा बासी सडेगलेका, बढी मसलायुक्त, माछामासु, चिल्लो पिरो जस्ता खाद्य वस्तुबाट सकेसम्म टाढा नै रहनु राम्रो मानिन्छ। विशेषगरी गर्मी मौसममा लाग्ने रोगमा निम्नानुसार पर्दछन्।
फुड प्वाइजनिङ ः गर्मी तथा वषर्ा याममा बढी मात्रामा देखिने समस्या खाना विषाक्तता हो। काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, गह्रौं, पचाउन नसकिने खाद्य पदार्थले फुड प्वाइजनिङ हुन्छ। यस्ता बिरामीलाई वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ।
झाडा पखाला ः तीनपटकभन्दा बढी पातलो दिसा हुनुलाई झाडा पखाला भनिन्छ। यसले शरीरमा भएको पानी र नुनको मात्रालाई तुरुन्तै कम गर्ने भएकोले शरीरमा विभिन्न किसिमका जलविनियोजन सम्बन्धी स्वास्थ्य समस्या देखापर्दछन्। वान्ता र पखाला सँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ। यस्तो पखाला खासगरी पुरानो कोलाइटिस, अपच, तीव्र चिन्ता, काँचोकचिलो, बासी खानाले नै लाग्ने गर्दछ।
हैजा ः भिबि्रयो कोलेराले आन्द्रामा सङ्क्रमण गर्दा हैजा लाग्छ। हैजा लागेपछि धेरैपटक चौलानी पानी जस्तो पातलो दिसा र वान्ता एकैपटक भइरहन्छ। तीव्र गतिमा जलहरण भई बिरामी शिथिल भएर हलचल गर्न नसक्ने अवस्थामा पुग्छ।
टाइफाइड ः सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिँगा र अन्य कीरा फट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरियाबाट लाग्ने सङ्क्रामक रोग टाइफाइड हो। विषमज्वर अथवा म्यादी ज्वरोमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षणका साथ।
सुरुमा यो रोग रुघाखोकी लाग्दा जस्तै जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ। बिरामीलाई भोक नलाग्ने र विस्तारै सिकिस्त हुँदै जान्छ। अन्य लक्षणमा ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीँ वान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि। मुख्य गरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुनसक्छ। यसमा कलेजो र फियो सुन्निन सक्छ।
जुका ः हात्तीपाइले, गोलो जुका, फित्तेजुका, अङ्कुसे जुका र चुर्ना जुका दिसाबाट उत्सर्जित हुनाले दिशाबाट सम्पर्कमा आउने माटो, सागसब्जी, फलफूल, पानी, दूध र अन्य खाद्यपदार्थ तथा दिसा बसिसकेपछि राम्रोसँग हात नधुँदा, मासु काँचै खाँदा, जुकाका फुल, लार्भा र जुका परजीवी निरोगीको मुखमा पर्दछन्। पेट दुख्ने, फुल्ने, अपच हुने, गुदद्वार चिलाउने, बान्ता हुनेे, पातलो दिसा हुने र पछि गएर जटिलता देखिन्छ।
आउँ ः बढी देखिने अर्को रोग आउँ हो। रगत र आउँयुक्त हल्का पखालादेखि रगतयुक्त चर्को पखाला चल्छ, वाकवाकी, कम्प ज्वरो हुन्छ, आन्द्रामा सङ्क्रमण भई घाउसमेत हुनसक्छ। ज्वरो आउने तथा पेट दुख्ने हुन्छ। पखाला, झाडा वान्ता, आउँ, टाइफाइड, हैजामा जति पानी खेर जान्छ त्यति नै पानी र लवण दिनुपर्दछ।
लु ः अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्ँ्याक्छ। जस्ाले लु लाग्न सक्छ। लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको कम हुन गई उत्पन्न हुने समस्या र अङ्गहरूले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने, सिर्जित नकारात्मक असर हुन्छ।
लुबाट बच्न पर्याप्त पानी पिउनुपर्दछ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्दछ। पानीको बोतल साथैमा राखी पटकपटक पानी पिउनुपर्दछ। खानामा शाकाहारी खानेकुरा, झोलपदार्थ, फलफूल प्रशस्त मात्रामा खानुपर्दछ। कडा घाममा नशालु पदार्थ सेवन गर्नुहुँदैन।
लामखुट्टेजन्य रोग ः लामखुट्टेबाट उच्च र तीव्र ज्वरो हुने डेंगु, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ। सेण्डˆलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ। लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनुपर्दछ। लामखुट्टेको बच्चा, लामखुट्टे तथा परजीवी नाश गर्न, लामखुट्टेको टोकाइबाट बच्न जनचेतनामा अभिवृद्धि गरी उपरोक्त महामारीलाई रोक्न सकिन्छ।
गर्मीमा छाला ः अधिक पसिना आउने, केटाकेटीहरूलाई घमौरा आउने तथा ठूलो मानिसहरूमा समेत छालामा विभिन्न प्रकारका सङ्क्रमण तथा समस्या देखापर्दछन्। केटाकेटीमा घमौरा आउने बढी नै देखिन्छ त्यसैमा बाक्ला कपडा लगाएर गुम्साउने चलनले पसिना आउने ग्रन्थीहरू थुनिएर घमौरा आई, बढ्दै जान्छ र पाक्छ। शरीरबाट पसिना बढी निस्कँदा तर सरसफाइमा ध्यान नदिंदा, गुम्सिदा, धुँवा धुलो टाँसिएर डण्डीफोर र फंगस सङ्क्रमण हुन्छ। छालाबाट चिल्लो बढी निस्कन्छ। घाम कडा हुने भएकोले अल्ट्राभाइलेट ए र बी किरणले छाला चिलाउने, डढाउने गर्दछ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ। जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ। सुतीको कपडा लगाउने, दिनहुँ नुहाउने, प्रशस्त पानी र झोल पदार्थ पिउने, व्यक्तिगत सरसफाइ तथा सुरक्षा छाता, चस्मा, सनक्रिम, पाउडर आदि अपनाउँदा गर्मी मौसममा पनि स्वस्थ रहन सकिन्छ। रोगहरूबाट बच्न खानेकुरा राम्रोसँग सफा गरेर, पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पुग्दैन, दैनिक प्रयोग गर्ने भाँडाकुँडाहरू सफा हुन, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुन पानीले माडेर धुन जरुरी छ।