काठमाडौँ, जेठ २९ गते। मध्यमाञ्चलले पेन्टागन दोस्रो महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ। रमिला तण्डुकार र कमला पुनको जोडीले उपाधि चुमेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हातामा नवनिर्मित बिच भलिबल कोर्टमा भएको फाइनलमा विजेता जोडीले नेपाल प्रहरीका सुशीला थापा र कोपिला उप्रेतीको जोडीलाई २१-१६ र २१-१३ ले हरायो।
पल्सर स्पोर्टस् अवार्ड- २०६८ अन्तर्गत वर्षको लोकपि्रय खेलाडीको विधासमेत मनोनयनमा परेकी मध्यमाञ्चलकी रमिला प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन्।
उपाधिसँगै मध्यमाञ्चल जोडीले १० हजार नगद पुरस्कार पायो भने उपविजेता प्रहरी जोडीले सात हजार नगद पुरस्कार हात पारे।
एपीएफका विनिता बुढाथोकी र नेबिका चौधरीले तेस्रो स्थानमा चित्त बुझाए। त्यस जोडीले एपीएफकै निमा श्रेष्ठ र ज्योति चौधरीको जोडीलाई सिधा सेटमा २१-१७ र २१-१० ले पाखा लगायो।
प्रतियोगितामा गत विजेता प्रहरी टिम -नीता शाह र चूडा खड्का)ले भाग लिएनन्। यो जोडी तेस्रो एसियाली बिच खेलकुदका लागि चीनको हायाङमा छ।