काठमाडौँ, जेठ ३० गते। एसएलसी परीक्षाको नतिजाप्रति असन्तुष्ट हुने परीक्षार्थीहरूले यसपटकबाट आˆनो उत्तरपुस्तिकाको प्रतिलिपि हेर्न पाउने भएका छन्।गत वर्ष माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिकालाई संशोधन गरिएको भए पनि ढिला भएको भन्दै कार्यान्वयन हुन सकेन।
शिक्षा सचिव तथा एसएलसी परीक्षा बोर्डका अध्यक्ष किशोर थापाले भन्नुभयो, "परीक्षार्थीलाई निर्धक्कसित उत्तरपुस्तिकाको प्रतिलिपि उपलब्ध गराउनेछौँ।"
गत २०६८ सालमा राष्ट्रिय सूचना आयोगले परीक्षा नियन्त्रण कार्यालयलाई उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गर्न निर्देशन दिएको थियो तर पनिकाले परीक्षकको जीउज्यान असुरक्षित हुने भन्दै आयोगको निर्देशन अस्वीकार गरेको थियो। गत भदौ ६ गते आयोगले उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीलाई उपलब्ध गराउन पुनः निर्देशन दिएपछि पनिकाले निर्देशिका संशोधन गरेको थियो।
निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनभित्र परीक्षार्थीले पुनर्याेगका लागि निवेदन दिनुपर्ने हुन्छ र पुनर्याेगको नतिजा प्रकाशित भएको १५ दिनभित्र उत्तरपुस्तिका हेर्नका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको छ।
पनिकाका अनुसार त्यसका लागि परीक्षार्थीले प्रतिविषय एक हजार रुपियाँ राजस्व बुझाउनुपर्ने हुन्छ।