काठमाडौँ, जेठ ३२ गते। एसएलसी परीक्षाको नतिजा खस्कँदै जानुमा शिक्षानीति नै जिम्मेवार रहेको विज्ञहरूले ठहर गर्नुभएको छ।उहाँहरूले राजनीतिक अस्थिरताका कारण पठनपाठनमा असर परेकाले नतिजा ओरालो लाग्दै गरेको बताउँदै शिक्षकहरूको राजनीति पनि उत्तिकै दोषी रहेको बताउनुभयो।
२०६५ सालपछिका वर्षमा एसएलसी परीक्षाको नतिजा ओरालो लाग्दै गएको छ। गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा झन्डै नौ प्रतिशत परीक्षार्थी कम उत्तीर्ण भएका थिए।रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको कार्यक्रममा शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले भन्नुभयो, "उत्तीर्ण दर खस्कँदै जानुमा शिक्षा मन्त्रालय दोषी हो। दोस्रोमा शिक्षक जिम्मेवार हुन्। उनीहरूले विद्यार्थीका हितमा कहिल्यै पनि माग राखेनन्, मात्र आˆना पेसासम्बन्धी माग राखेर आन्दोलनमा उत्रिए। एसएलसी परीक्षाको नतिजा बढाउन मन्त्रालय र शिक्षकलाई चासो नै छैन।"
प्रत्येक शैक्षिक सत्रमा कम्तीमा २२० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ तर गत वर्ष सरदर १४४ दिनमात्रै विद्यालय सञ्चालन भएको थियो।
नेपाल शिक्षक सङ्घका अध्यक्ष मोहन ज्ञवालीले एक वर्षमा झन्डै पाँच महिना विद्यालय सञ्चालन नभएकै कारण एसएलसी परीक्षाको नतिजा प्रभावित हुन पुगेको तर्क गर्दै विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने गरेकाले समस्या सिर्जना भएको धारणा व्यक्त गर्नुभयो।
शिक्षा सचिव किशोर थापाले राजनीतिक अवस्थाका कारण विद्यार्थीले समस्या भोग्नु परेको चर्चा गर्दै थप्नुभयो, "यस्तो राजनीतिक स्थितिमा विद्यार्थीको मनस्थिति स्थिर हुँदैन। त्यसले नतिजामा प्रभाव पार्छ।"
शिक्षा मन्त्रालयका सहसचिव जनार्दन नेपालको भनाइमा बढी परीक्षार्थी अनुत्तीर्ण हुनुमा पाठ्यक्रममा समस्या छ। "नयाँ पाठ्यक्रम संरचना स्वीकृत भएको छ", उहाँले भन्नुभयो, "पाठ्यक्रममा प्रयोग पक्षलाई ध्यान दिइएको छ।"
अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले तीन वर्षमा एसएलसी परीक्षाको उत्तीर्ण प्रतिशत २१ दशमलव ३१ ले घटेको चर्चा गर्दै यसो हुनुमा शिक्षक नै दोषी हुन् भन्नुभयो।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याब्सन)का अध्यक्ष डा. बाबुराम पोखरेलले २०२८ सालको शिक्षानीति हालसम्म कायम भएकाले समस्या भइरहेको बताउनुभयो भने उच्च माध्यमिक विद्यालय सङ्घ -हिसान) का अध्यक्ष उमेश श्रेष्ठले शिक्षाप्रणालीको असफलताले नतिजा घट्दै गएको विचार व्यक्त गर्नुभयो।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले लागतलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो भने शिक्षाविद् प्रा.डा. तीर्थ खनियाँले नमुनाका रूपमा केही उत्तरपुस्तिका हेरी त्यसका आधारमा कमीकमजोरी पत्ता लगाउन आफूहरूले मन्त्रालयलाई सहयोग गर्नसक्ने बताउनुभयो।