नेपालगन्ज, असार १ गते। बाँके मटैहिया गाविस र इन्द्रपुर गाविसमा शुक्रबार भएको भीषण आगलागीबाट १३० भन्दा बढी घर जलेका छन्। आगलागीबाट एक जना वृद्धको जलेर मृत्यु भएको छ भने तीन जना महिला घाइते भएका छन्। दुवै ठाउँको आगलागीबाट करोडौँको क्षति भएको प्रहरीले जनाएको छ।
नेपालगञ्ज नगरसँगै जोडिएको इन्द्रपुर गाविस-८, रम्भापुर गाउँमा शुक्रबार अपराहृन भएको आगलागीमा परी एक जना वृद्धको मृत्यु भयो। त्यहाँ ८० वटा घर जलेर खरानी भएका छन्। विद्युत् 'सर्ट' भई सुरु भएको आगलागीबाट सो गाउँका ३० पक्की घरसहित ८० भन्दा बढी घर जलेर ध्वस्त भएका छन्।
दिउँसो २ बजे सुरु भएको आगलागी बेलुका अबेरसम्म नियन्त्रणमा आउन सकेको थिएन। पानी र दमकलको अभावका कारण आगो नियन्त्रण गर्न नसकिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो।
प्रजिअ पाण्डेका अनुसार आगलागीबाट स्थानीय ७० वषर्ीय भल्लर कहारको मृत्यु भएको छ भने अन्य तीन जना माहिला घाइते भएका छन्। आगो नियन्त्रण गर्न भारतको बहराइचबाट दमकल बोलाइए पनि पानीको अभावमा उसले पनि राम्ररी कार्य गर्न सकेन।
नेपालगञ्जमा भएको दुईवटा दमकलमध्ये काम लाग्ने दमकल बिहानै मटैया पठाइएको थियो। अर्को दमकल काम नलाग्ने भएपछि भारतको पुलिस फायर सर्भिस बहराइचको दमकल बोलाई आगो नियन्त्रण गर्ने कार्य गरिएको थियो।