चितवन, असार १ गते। स्थापनाकालमा साइकल र रिक्सामा राखेर सङ्कलन केन्द्रमा दूध पुर्याउने अवस्थाको पिठुवा-७ को पञ्चायन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड हाल जिल्लाकै नमुना डेरीको रूपमा स्थापित हुन सफल भएको छ।
डेरीले चार हजार एक सय लिटर क्षमताको आफ्नै चिलिङ भ्याट -चिस्यान केन्द्र) स्थापना गरेर दैनिक एक हजार आठ सय लिटर दुध बेच्न सफल भएको छ। यसको अलावा साढे तीन कट्ठा जमिनमा आफ्नै सुविधा सम्पन्न भवन बनाएर सदस्य किसानहरूलाई सुविधा दिन थालेको छ। पच्चीस जना जागरुक कृषकले २०५८ सालमा स्थापना गरेको यस सहकारीले स्थापनाको १० वर्ष पूरा गर्दा नगर्दै आफ्ना सदस्य कृषकहरूलाई सबै किसिमको सेवा सुविधा दिनको लागि हालै दाना उद्योग, नमुना गाई र्फम स्थापना गरेको छ।
संस्थाका व्यवस्थापक ध्रुव घिमिरेले कृषकलाई सबै किसिमको सेवा सुविधा दिन सकिने रिसोर्स सेन्टरको रूपमा विकास गर्ने अवधारणा अनुसार काम अघि बढाइएको बताउनुभयो। घिमिरेका अनुसार सहकारीमा १७५ जना कृषक सदस्य रहेका छन्।
सहकारीले वाषिर्करूपमा चार करोड रुपियाँभन्दा बढीको कारोबार गर्न थालेको छ। दूध लिन काठमाडौँदेखिका डेरी हाल चिस्यान केन्द्रमै आउने गरेका छन्। केही वर्ष पहिलेसम्म साताको एक दिन दूध बिक्री नहुने समस्या भएको भए पनि चितवनको ठिमुरामा चितवन मिल्क उद्योगको स्थापना पछि त्यो समस्या टरेको भए पनि २१ लाख रुपियाँ बक्यौता रहेका कारण हाल चितवन मिल्कलाई दूध दिन भने छोडिएको व्यवस्थापक घिमिरेले बताउनुभयो।
घिमिरेले दाना उद्योगको स्थापना कृषकहरूलाई सहजताका लागि गरिएको बताउनुभयो। त्यस्तै गाईको नश्ल सुधार गर्न र गाई बिक्री गर्ने उद्देश्यको लागि यही चैतदेखि गाई र्फम स्थापना गरिएको हो। ६५ वटा गाई पाल्ने क्षमता रहेको उक्त र्फममा हाल १८ वटा गाई छन्।
सहकारीले जिल्ला पशु सेवा कार्यालयको संयोजनमा प्राक्टिकल एक्सन फरवार्डबाट आर्थिक सहयोग प्राप्त गरेको छ भने, सामुदायिक पशु विकास कार्यक्रम हरिहर भवनबाट साझेदारी कार्यक्रम अनुसार चिस्यान केन्द्र निर्माणका लागि अनुदान प्राप्त गरेको छ।
स्थानीय कृषक बाबुराम पन्तका अनुसार संस्थाले आफूले मात्र नाफा कमाउने मात्र काम गरेको छैन। आफ्ना सदस्यको आर्थिक उन्नतीको लागि धेरै राम्रा काम गरेको छ। कृषकलाई गाई, भैँसी किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउँदै आएको छ। कृषकले बिक्रीको लागि ल्याएको प्रतिलिटर दूधको तीन रुपियाँको दरले सङ्कलन गरी संस्थामार्फत बैंक ब्यालेन्स गरिदिने र आवस्यक परेका कृषकलाई सयकडा १० का दरले ब्याज उपलब्ध गराउँदै आएको छ। यो रकम हाल ७० लाखभन्दा बढी पुगि सकेको छ।
जिल्ला पशु सेवा कार्यालय चितवनका वरिष्ठ पशु विकास अधिकृत डा. विष्णुकुमार श्रेष्ठले चितवनका पाँचवटा चिस्यान केन्द्रलाई नमुना केन्द्रको रूपमा स्थापना गरी आर्थिक सहयोग उपलब्ध गराइएको बताउनुभयो। पञ्चायन दुग्ध उत्पादक सहकारी जिल्लाको अग्रणी नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको भनाइ उहाँको छ। छोटो समयमा यस सहकारीले गरेको प्रगतिले अरू किसानलाई पनि ऊर्जा थपेको डा. श्रेष्ठको भनाइ थियो ।