सोलुखुम्बु, असार १ गते। पछिल्लो समयमा विद्युत्को प्रयोग बढेपछि विद्युत्को वाषिर्क आम्दानीसमेत वृद्धि हुन थालेको छ। महँगो ग्यास तथा दाउराको समेत समस्या हुन थालेपछि होटल तथा अन्य सबैले विद्युतीय हिटरबाट नै खाना पकाउन थालेपछि विद्युत्को प्रयोग बढ्न थालेको हो। सोलुखुम्बुको एक मात्र विद्युत् कम्पनी सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सल्लेरीको आर्थिक वर्ष २०६७/६८ को आम्दानी एक करोड ५० लाख रुपियाँ रहेको छ।
कम्पनीको १९औँ साधारणसभाका अवसरमा सो कुराको जानकारी गराउँदै अघिल्लो वर्षको तुलनामा साँढे ३३ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ। कम्पनीले आर्थिक वर्ष २०६७/६८ मा रु. ५६ लाख ५३ हजार मुनाफा गरेको बताएको छ।
हालसम्म सो विद्युत् कम्पनीले नागरिक लगानी कोष, वाणिज्य बैङ्कहरू एवं विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा गरी जम्मा रु. तीन करोड ७३ लाख ५६ हजार लगानी गरेको छ। स्विस सरकारको लगानीमा सञचालित चार सय किलोवाट क्षमताको विद्युत्ले प्रतिदिन बढ्दै गएको जनसङ्ख्याको चापलाई धान्न नसकेपछि पछिल्लो समयमा लोडसेडिङ बढ्दै गएको छ। बढ्दो लोडसेडिङलाई दिगो समाधानका लागि थप दुई सय किलोवाट विद्युत् उत्पादन कार्य सुरु भएको कम्पनी सञ्चालक समितिका अध्यक्ष आङदामी शेर्पाले बताउनुभयो।