वाशिङ्टन, असार १ गते। युरोपेली मुलुकहरूमा देखिएको आर्थिक सङ्कट, बिक्स मुलुकहरूको आर्थिक वृद्धिमा देखिएको सुस्ततालगायत समग्र विश्व अर्थतन्त्रमा देखिएको समस्या न्यूनीकरणका लागि अमेरिका र भारतले संयुक्त प्रयास गर्ने भएका छन्।
अमेरिकी राष्ट्रपतिको कार्यालय हृवाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री मनमोहन सिंहले युरोपेली आर्थिक सङ्कटलगायत विश्व अर्थतन्त्रमा हाल देखिएको समस्याप्रति चिन्ता व्यक्त गर्दै अर्थतन्त्र उकास्नका लागि दुवै मुलुकको सहकार्य गर्ने विषयमा सहमति जनाएको बताइएको छ।
विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाका राष्ट्रपति र एसियाको उदीयमान अर्थतन्त्र भारतका प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तामा विश्व अर्थतन्त्रलाई गति दिने दिशामा सहमति भएको जनाइएको छ। युरोपेली आर्थिक सङ्कटसहित आगामी दिनमा विश्व अर्थतन्त्रलाई सही दिशातर्फ मोड्नका लागि मेक्सिकोमा जुन १८-१९ हुने जी-२० राष्ट्रहरू मार्फत पहल थाल्ने विषयमा दुई नेताले सहमति जनाएका हुन्।