अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
पर्यावरणमैत्री अर्थतन्त्र
हर्कमान लुङ्खिम्बा
 

यस वर्ष विश्व वातावरण दिवस हरित अर्थतन्त्रः दिगो विकासको मूल मन्त्र भन्ने नाराका साथ नेपाललगायत विश्वभरि मनाइयो। बढ्दो जनसंख्या वृद्धिसँगै तीव्र गतिमा भइरहेको भौतिक विकास, निर्माण तथा सो कार्यका लागि प्राकृतिक स्रोत तथा साधनको अत्यधिक दोहनले वातावरणीय गुणस्तर दिनानुदिन खस्किरहेको छ। फलस्वरूप अतिवृष्टि, अनावृष्टि, ग्लोबल वार्मिङ्, जलवायु परिवर्तन, हिमताल विस्फोटन तथा हिम पहिरो, प्रदूषण, जैविक विविधतामा Åास, ओजोन तह क्षयीकरण लगायत अन्य वातावरणीय समस्या दिनदिनै जटिल भएर गइरहेका छन्।

जीवन बाँच्न तथा बाँच्नका लागि अति आवश्यक स्वस्थ पर्यावरण कायम राख्न र त्यसलाई जोगाउनु आम मानिसको पहिलो कर्तव्य हो। मानिसको आधारभूत आवश्यकतालाई मात्र नभएर समग्र मानव जातिको उन्नति तथा प्रगतिका लागि विकास अपरिहार्य छ तर त्यही विकास निर्माणका कार्य नै आज पर्यावरण Åासको प्रमुख कारक तत्व ब्ानेका छन्।

ब्ाढ्दो औद्योगिकीकरण, परम्परागत ऊर्जाको अधिक प्रयोग, हरित गृह ग्यासको बढ्दो उत्सर्जनको कारण सृजित विश्व तापमान वृद्धि तथा जलवायु परिवर्तनलगायत यसबाट हुने अन्य वातावरणीय असरले विश्वव्यापी वातावरणीय सन्तुलनमा मात्र खलबली नल्याएर सामाजिक तथा दिगो आर्थिक विकासमा समेत नकारात्मक असर परिरहेको अवस्था छ।

यही विषयलाई दृष्टिगत गरेर यसै जुन महिनामा ब्राजिलको रियो द जेनेरियो सहरमा हुन गइरहेको दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा एउटा प्रमुख विषय वस्तुको रूपमा दिगो विकास तथा गरिबी निवारण गर्नको लागि हरित अर्थतन्त्रलाई पनि समावेश गर्ने निर्णय राष्ट्रसङ्घीय महासभाले गरिसकेको छ।

हरित प्रविधि तथा हरित ऊर्जाको प्रयोगबाट बढी सुरक्षित तथा स्वस्थ वातावरण कायम राख्न हरित अर्थतन्त्र कोसेढुङ्गा सावित हुन सक्दछ। ऐतिहासिक रूपमा हरित अर्थतन्त्र वातावरण मैत्री अर्थतन्त्र प्रणालीको रूपमा मात्र बुझिने गरिन्थ्यो भने हिजो आज यसलाई सामाजिक समस्यासँग पनि जोड्न थालिएको छ। किनकि दिगो अर्थतन्त्र बिना सामाजिक रूपान्तरण तथा यसको दिगो विकास असम्भव छ। हरित अर्थतन्त्रको धारणा न्यून कार्बन उत्सर्जन अर्थात् हरित उत्पादनसँग पनि जोड्न थालिएको छ। दिगो आर्थिक प्रगतिका लागि हरित अर्थतन्त्रको सुनिश्चतता अति अपरिहार्य छ। दिगो विकासको नारा राष्ट्रिय, अन्तराष्ट्रिय मात्र नभएर विश्वव्यापी एउटा प्रमुख एजेन्डाको रूपमा स्थापित भएसकेकोे छ। यसका लागि हरित अर्थतन्त्र बहुमार्गी समाधानको उपाय हो।

वातावरण मैत्री अर्थतन्त्र विकासको लागि कुन कुन तत्वले प्रमुख रूपमा भूमिका खेलेका हुन्छन् भन्ने कुरा बुझ्न आवश्यक छ। आर्थिक विकासको आधार ऊर्जा हो। ऊर्जाबिना अर्थतन्त्रको विकास असम्भव छ। तर दिगो अर्थतन्त्र अर्थात् हरित अर्थतन्त्रका लागि नवीकरणीय ऊर्जाको उत्पादन तथा प्रयोग पहिलो खुड्किलो हो। वर्तमान विश्व अर्थतन्त्र तथा आर्थिक उत्पादन परम्परागत जैविक इन्धन पेट्रोल, डिजेल, कोइला आदिमा ठूलो रूपमा निर्भर छ र औद्योगिक क्रान्ति सुरुवात गरी विश्व अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको यस्ता परम्परागत ऊर्जाले अहिले यसले उत्सर्जन गर्ने हरित गृह ग्यास अर्थात् कार्बन उत्सर्जनले जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङ्को विश्वव्यापी पर्यावरणीय समस्या सृजना गरेको छ।

तसर्थ वातावरण मैत्री कार्बन न्यून उत्सर्जन गर्ने नवीकरणीय ऊर्जाका स्रोतहरू जस्तै सौर्य ऊर्जा, जलस्रोत ऊर्जा, वायु ऊर्जा, बायोˆयुल, बायोग्यास लगायत अन्य स्थानीय रूपमा उपलब्ध वैकल्पिक ऊर्जाको प्रयोगले दिगो सामाजिक तथा आर्थिक विकास गर्न सकिन्छ। हरित अर्थतन्त्रलाई प्रभाव पार्ने दोस्रो तत्व इनर्जी इफिसियन्सी अर्थात् जुन ऊर्जालाई प्रयोग गरिएको छ त्यसबाट जति सकिन्छ कम खेर जान दिएर अधिकतम फाइदा लिने। यसका लागि नयाँ ऊर्जा प्रविधिको आविष्कार एवं कम ऊर्जा खपत गरेर धेरै काम गर्ने क्षमताका साधन तथा मेसिनरीहरूको उपयोग गर्नुपर्दछ। बिग्रेको र मर्मत सम्भार आवश्यक साधन तथा मेसिनरी सामानलाई मर्मत सम्भार गरेर अथवा त्यसको ठाउँमा नयाँ बढी किफायती साधनको प्रयोग गरेर कम ऊर्जाको प्रयोगबाट बढी लाभ लिन सकिन्छ। हाम्रो दैनिक जीवनयापन तथा आर्थिक विकासको क्रियाकलापबाट जति पनि फोहोरजन्य वस्तु उत्पादन हुन्छ त्यसको उत्पादनलाई न्यून गर्न तथा उचित वैज्ञानिक व्यवस्थापन गर्न सके दिगो अर्थतन्त्रका लागि थप टेवा पुग्छ। पुनः प्रयोग, रिसाइकल, रिड्युस्का माध्यमबाट फोहोर उत्पादनलाई कम गर्दैै अन्य प्राकृतिक स्रोतको प्रयोगलाई कम गर्न सकिन्छ। चौथो अर्को महत्वपूर्ण तत्व जसबिना दिगो अर्थतन्त्रको विकास असम्भव हुन्छ त्यो हो हाल वर्तमान हामीसँग उपलब्ध भएका प्राकृतिक स्रोत तथा साधनको उचित संरक्षण तथा तिनीहरूको दिगो वैज्ञानिक उपयोग हो। जस्तै स्वच्छ पानी, वनजङ्गल तथा वनस्पतिजन्य जडीबुटी, माटो, वन्यजन्तु लगायत स्वच्छ परिस्थितिकिय प्रणालीले पुर्‍याउने सेवा तथा कामको आर्थिक मूल्यका बारेमा गहन ज्ञान तथा चेतना हुन आवश्यक छ।

सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियो सहरमा भएको पृथ्वी सम्मेलनले गरेको रियो घोषणापत्रको सिद्धान्त नम्बर ३ मा उल्लेखित विकास तथा वातावरणीय आवश्यकतालाई पूरा गर्न विकाससम्बन्धी अधिकार र ४ मा उल्लेखित दिगो विकासका लागि पर्यावरणीय संरक्षणलाई व्यावहारिक रूपमा पूरा गर्नका लागि हरित अर्थतन्त्रमा जोड दिन आवश्यक छ। आशा गरौं ब्राजिलको त्यही सहर जहाँ यो सिद्धान्तको घोषणा भएको थियो, त्यहाँ हुन गइरहेको दिगो विकास सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मलेनले दिगो आर्थिक तथा सामाजिक विकास तथा पर्यावरण संरक्षणको लागि हरित अर्थतन्त्रलाई व्यावहारिक रूपमा अगाडि बढाउने सम्बन्धमा आवश्यक ठोस निर्णय हुनेछ।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home