काठमाडौँ, असार ५ गते। मेगा बैङ्क लिमिटेडले मङ्गलबारदेखि आˆना १५ वटा शाखा सञ्चालनमा ल्याएको छ।
बैङ्कद्वारा मङ्गलबार राजधानीमा आयोजित एक समारोहकाबीच अध्यक्ष प्रा.डा.मदनकुमार दाहालले उपत्याकामा पाँच र उपत्यका बाहिर १० वटा नयाँ शाखाको एकसाथ उद्घाटन गर्नुभयो।
बैङ्कले उपत्यकाभित्रका टेकु, महाराजगञ्ज, मैतीदेवी, बौद्ध र ठिमी तथा उपत्यका बाहिरका विर्तामोड, धरान, जनकपुर, धादिङ, नारायणगढ, भैरहवा, दैलेख, घोराही, नेपालगञ्ज र धनगढीमा पनि नयाँ शाखा विस्तार गरेको छ। नयाँ शाखासहित बैङ्कका शाखा सङ्ख्या २८ पुगेको छ।
शाखाको उद्घाटन गर्दै बैङ्कका अध्यक्ष डा. दाहालले हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ उच्चस्तरको बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको मेगा बैङ्क छोटो अवधिमै प्रतिष्ठित बैङ्कको रूपमा स्थापित हुन सफल भएको बताउनुभयो।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले तीव्र प्रतिस्पर्धात्मक बजारमा प्रतिकूल आर्थिक अवस्था हुँँदाहुँदै बैङ्कले सम्मानजनक स्थान र पहिचान बनाउन सफल भएकोमा गौरवान्वित महसुस गरेको बताउनुभयो।
चालू आर्थिक वर्षमा बैङ्कको निक्षेप सङ्कलनमा चार अर्ब वृद्धि भई नौ अर्ब ४० करोड पुगेको जानकारी दिँदै उहाँले कर्जा प्रवाहमा पनि चार अर्ब वृद्धि भई आठ अर्ब ८० करोड रुपियाँ पुगेको बताउनुभयो। बैङ्कले चालू आर्थिक वर्षको नौ महिनामा रु. चार करोड खुद नाफा आर्जन गर्न सफल भएको उहाँले बताउनुभयो।