अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
राजनीतिक निकासको खोजी
डा. विश्वदीप अधिकारी
 

हामीकहाँ विगत चारवर्षदेखि सहमति शब्द खुब चलेको छ। ज्यादै चलेर हो कि त्यसको अर्थ अब हाम्रो गाँठो परेको राजनीतिमा नखुल्ने भइसकेको छ। यो शब्द आम नेपालीमा अपाच्य हुँदै गएको छ। वास्तवमा नेपोलियनले मुलुक बिग्रनुमा खराबहरूको दन्तबझानभन्दा पनि असलहरूको मौनता हो भनी ठीकै बोलेका हुन्। दन्तबझान गर्नु खराबहरूको चरित्र मात्र होइन संस्कार नै हो।

बेलायतीहरूले सुट टाई लाएपछि भलाद्मीपन आउँछ भन्दिए तर पूर्वीय दर्शनले सुचरित्र नै भलाद्मीपन हो भनेको कुरा आयातित संस्कृति रुचाउने हामीमाझ विस्मृत हुँदै गइरहेको छ। चरित्र ठीक छ भने दौरासुरुवाल लगाउँदैमा पाखे होइन्न। चरित्र ठीक भएन भने सुट लगाउँदैमा इज्जत बढ्ने पनि होइन। पहिरनले खराबीपनलाई ढाक्दैन भन्ने नबुझिदिँदा हाम्रा हरेक कुरा सडकमा असरल्ल पोखिएका छन्।

हामी आफैंले सडकमा पोखेका कुरा सरक्क उठाउन छाडेर फलानाले पोख्यो, मैले होइन त्यसले पोखेको भन्ने रट लगाउनमा नै व्यस्त छौं। एकले अर्कालाई आरोपित गरेर पानीमाथि ओभानो हुन हामीलाई खुबै रमाइलो लाग्छ। यथार्थमा कसैलाई आरोप लगाउनु वा कसैको प्रशंसा गर्नुको कुनै अर्थ रहन्न।

विना मति गरिने हरेक क्रियाको प्रतिक्रिया विमति नै हो। सहमतिको कुरा गर्न विवेक नै चाहिन्छ। बाझ्न रुचाउनेहरू बाझिरहन्छन् त्यो उनीहरूको पेसा हो। असलहरू पनि बजौटेहरूकै पछि लाग्नुभन्दा चूप लाग्नु श्रेयस्कर ठान्छन्। यो नै उनीहरूको धर्म हो। अब पनि बजौटेहरू बाझ्न नछाड्ने र असलहरू मौन साध्न नछाड्ने हो भने देशको परिस्थिति खम्बामा बाँधेको डुङ्गा खियाएभन्दा बढी हुने छैन।

छयालिस सालको आन्दोलन नेपाली काङ्ग्रेस र संयुक्त वाममोर्चाको संयुक्त प्रयासमा सफल भएको जगजाहेर छ। तर सन्त प्रधानमन्त्रीले भोटको लागि त्यो कार्य काङ्ग्रेसले मात्र गरेको भनी डङ्का पिटाए। आखिर आफूले बोलेको कुरा गलत हो भनी एकदिन माफी माग्नैपर्‍यो। त्यस्तै माओवादीले संविधानसभाबाट जनताको संविधानसभा बनाउने कुरा गर्दा श्रीपेचमा दाम राख्ने एमालेहरू ४७ सालकै संविधान पूर्ण छ भनेर थाकेनन्। अन्ततोगत्वा उनीहरूले पनि त्यो अडान त्याग्नैपर्‍यो। २०६३ को आन्दोलन पनि काङ्ग्रेसले आफ्नो भन्न रुचायो तर पछि त्यो भनाइबाट पछि हट्नु पर्‍यो।

अहिले संविधानसभा संविधान जारी नगरी विघटन हुनपुग्यो। यसको दोष एउटा दलले अर्को दललाई लगाएर थाकेको छैन। तर यसो हुुनुमा दोष सबै जिम्मेवार नेपालीको छ। हरेक नेपालीले आफूलाई आफ्नै कित्तामा विभाजित गरी राष्ट्रिय कित्ता भुलेको भएर नै संविधानसभाको अकाल मृत्यु भएको हो। यसमा पनि गल्ती भएकै हो भन्ने दिन आउँछ।

नेपाली राजनीतिमा अब पनि राष्ट्रियताको तुष बाँकी छ भने राजनीति गर्ने सबैले आफ्नो चरित्रलाई बेइमानबाट भलाद्मीमा रूपान्तरण गर्नु आवश्यक छ। अहिलेसम्मको परिस्थिति हेर्दा सात सालदेखि नै राजनीति गर्नेहरूको उद्देश्य मुलुकलाई सभ्य एवं समृद्ध बनाउनु रहेको छैन। हरेकले व्यक्तिगत स्वार्थ पूर्तिका लागि राजनीतिलाई ढाल बनाएर पद, पैसा एवं शक्ति आर्जन गर्ने उद्देश्य राखेको प्रष्ट छ। नेपाली राजनीतिको सेरोफेरो भित्र बसेर जयनेपाल, लालसलाम,

नमस्कार गर्नेहरू व्यक्तिगत रूपमा औलादौला भइसके पनि देश भने सोही क्रममा नाङ्गेझार हुँदै गइरहेको छ।

पञ्चायतवादीबाट बहुदलवादीको हातमा मुलुकपुग्दा २९ अर्बको राष्ट्रिय बजेट थियो भने २० वर्षमा त्यो अङ्क बढेर २ खर्ब नाघेको छ। यो अवधिमा नेपालको मुद्रादेखि नेपालीको मतिसम्म अवमूल्यन भएको सहजै देख्न सकिन्छ। यो अरु कसैको कारणले नभई राजनीतिमा आएको विकृतिले गर्दा भएको हो। अब पनि हामी हामीलाई निरन्तर उल्लु बनाइरहने यिनै प्रवृत्तिलाई योग्य र क्षमतावान ठानी भोट दिइरहेका छौं। आफ्नो शब्द भण्डारमा मिलाप, सहिष्णुताजस्ता शब्द नै नभएका मान्छेहरूको हातमा राजनीति जकडिएको छ। यसो गर्दा मुलुकको हित हुन्छ भन्ने थाहा भएर पनि त्यसो गर्दा आफ्नो व्यक्तिगत हित हुँदैन भन्ने निजी स्वार्थमा जकडिएकाहरूले मुलुकलाई बन्दी बनाइरहेका छन्। सबै मान्छे मुलुकसँग लिन मात्र चाहन्छन्। वास्तवमा मुलुकले मनग्गे दिएको छ बरु मैले मुलुकलाई के दिएँ त भन्ने सोच कसैको छैन।

नेपालको राजनीतिमा सहमति त्यतिबेलासम्म हुँदैन जबसम्म यिनीहरूलाई चूप लागेर बसेका असल मान्छेहरूले ताती गराउँदैनन्। कफी गफकै कुरा गर्ने हो भने त कसैले बेइजिङले, कसैले वासिङ्गटनले त कसैलै दिल्लीले संविधानसभा भङ्ग गराएको चर्चा पनि हुने गर्छ। त्यो कुरो सही नै हो भने पनि तिनले त मात्र सुझाव दिए होलान्। नत्र भने पनि भने होलान्। तर संविधानसभाबाट संविधान जारी नगरी भङ्ग नगर्ने दायित्व एवं नैतिकता त ६०१ जनामा नै थियो। जनताको बलमा रहेका ६०१ को निर्णयको अगाडि अरु कसैको संकेत टिक्न सक्ने थिएन। आफ्नो कमजोरी लुकाउन अर्काको दोष खोतल्ने, अरुलाई दोष दिने संस्कारबाट पर हट्नै पर्छ सबैले।

वास्तवमा संविधानसभा हाम्रो कुमतिले गएको हो। अर्काको कुरामा शंका गर्दै हरेक कुरामा विमति जनाउने हाम्रो बानीले गर्दा गएको हो। हाम्रो म मात्र ठीक अरु सबै बेठीक भन्ने अहंकारले गर्दा गएको हो। हामी सबैको लक्ष्य संविधानसभाबाट नै संविधान जारी गर्ने थियो भने हामी त्यतैतर्फ तल्लिन हुने थियौं। संविधान जारी गर्ने दिन जेठ १४ आउनु केही दिनअघि मात्र देशलाई चार जना उपप्रधानमन्त्री दिने काम गर्नतर्फ लाग्ने थिएनौं। यसैबाट हामी कहाँ केन्दि्रत थियौं भन्ने छर्लङ्ग हुन्छ। प्रत्येक व्यक्ति पद र त्यसबाट हुने व्यक्तिगत लाभको भोको भइदिएकोले संविधान कहिल्यै पनि प्राथमिकतामा परेन।

संविधानसभालाई पनि संसद्कै सरह व्यवहार गरी फोहोरी राजनीतिको चङ्गुलमा फसाउने काम गरियो। आदेशबाट सभाको म्याद निश्चित गर्न खोज्नेहरूले पनि राजनीति पीँधविहीन छ भन्ने ख्याल नगरी दबाब दिएमा संविधान बन्छ भन्ने सोच राखी इतिहासमा नाम लेखाउने कसरत गर्दा त्यो दुर्घटना हुनगयो। नाम त लेखिने भयो तर सुनाम होइन कि दुर्नाम। सडक तताएर महिनौं देश ठप्प पार्न रुचाउनेहरूले पनि आफ्नो अभियानबाट देशले के गुमाउने छ भन्ने सोचिदिएनन्। आखिर उनीहरूमध्ये कैयौंले आइएनजिओको पोषणको ऋण तिरेको अर्थात् सिता खाएर गीता गाएको खबर आए। यो कुरा होइन भने पनि यसले शंका त उब्जायो।

विभिन्न कोणबाट संविधानसभामा पुगेकाहरूको पहिलो लक्ष्य मुलुुकको स्वार्थमा लाग्ने हुुनपर्नेमा आफ्नो दलको नेताको स्वार्थमा लाग्ने हुनगयो। यसैबाट सुख सुविधामा फसी देशलाई पछार्ने काम भयो।

अब पनि देशका लागि सहमति गर्ने हो भने विरोधका लागि विरोध गरी बस्ने समय छैन। सबैले सबैलाई चिनेका छन् व्यहोरेका छन्। सबैले सबैको विरोध गरेर विरोधको एउटा सिङ्गो इतिहास रचिसकेका छन्। विरोधलाई जति उचाइमा पुर्‍याए पनि जो सत्तामा बस्छ, जनताले त्यसलाई हटाउन साथ नदिएसम्म त्यो बलियो हुन्छ भन्ने कुरा पनि सबैले बुझेका छन्।

राजनीति गर्ने सबै दल एवं तिनका नेता मात्र होइन कार्यकर्ताहरू समेत विरोधको विद्यावारिधि पाउन योग्य छन्। तर जसले जति विरोध गरे पनि अन्ततोगत्वा विरोधको बाटोबाट हट्नैपर्छ। हिजो राष्ट्रपतिलाई विरोध गरेर सडक र सदन तताउँदै पानी बाराबार गरे पनि त्यो काम लागेन आज घाँटी जोड्दै हिँड्नु बाध्यता भएको छ। प्रतिफलविहीन विरोधको राजनीति गर्नु भनेको जनताबाट थप तिरष्कृत हुनु हो।

एकदिन भए पनि संविधानसभा पुनःस्थापना वा व्यवस्थापिका संसद् पुनःस्थापना जस्ता कुरा गर्दा दिन काट्न त सजिलो हुन्छ। तर यो प्रवृत्तिलाई जनताको सल्लाह भनेको तिमीहरूको अब नेपालको राजनीतिमा काम छैन कमण्डलु बोकेर बागमतीको किनारमा गई सक्छौ भने बागमती घाँटीको सभ्यता विकास गर भन्नेसम्म रहन्छ। होइन देशलाई स्थायी संविधान र निर्वाचित सरकारको खाँचो छ भन्ने चेत छ भने प्रजातन्त्रमा चुनावको सम्मान गर्नुपर्छ भन्ने सकारात्मक सोचको विकास गर्नैपर्छ।

अब पनि राजनीति ठीक बाटोमा नआउने र यो पाटोले नेपाली जनताको नाउँमा जनतालाई नै सधैं थिचोमिचो गरी सत्ता स्वार्थको खेल नै खेलिरहने हो भने नेपोलियनले भनेजस्तै असल मान्छेहरूले आफ्नो मौनता तोड्नै पर्छ। तर आफ्नो विवेकलाई धितो राखेर अरुकै जिब्रोबाट बोल्ने र अरुकै खुट्टा टेक्ने नागरिक समाज नामको भीड भने असल मान्छेको समूह होइन।

असल मान्छे त्यो हो जो कुनै पनि दलको भाषा बोल्ने र खुट्टा टेक्ने नगरी स्वविवेकमा देशका लागि बोल्छ। उसको कर्तव्य त समग्र देशको भाषा बोल्ने, उत्थान गर्ने हो। त्यसैले सहमतिको कुरा गर्नेहरूले विमति नहुने गरी बेलैमा सुमति प्रयोग गरौं। चरित्रहीन राजनीति गर्नेहरूले बङ्कर खोज्नुपर्ने दिन नआओस् भनी चाहने हो भने असल मान्छेलाई उत्तेजित गर्ने थोत्रा विरोध बन्द गरी जनताको माझ भोटको झोला थाप्न जानुको कुनै विकल्प छैन।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home