अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
रूपचन्द्र विष्ट र थाहा
रामनारायण विडारी
 

रूपचन्द्र विष्टले एकचोटी मकवानपुरको एउटा दुर्गम गाउँमा विकास, सीप, क्षमता आदिबारे भाषण दिँदा विकसित देशहरूले गरिरहेको प्रगतिको चर्चा उनीहरूले अपनाएको सीप र महिलाहरूको सक्रियताको व्याख्या गरेछन्। भाषणलगत्तै स्थानीय एक ८२ वर्षे चेपाङले विष्टलाई प्रश्न गरे अरु देश सप्रेको -त्यति धनी, विकसित, हाम्रो चाहिँ किन बिगि्रएकोे ?' जवाफमा विष्टले भनेछन्, 'गाँठी कुरै यही हो।

'थाहा' थाल्नुपर्ने नै यहीँबाट। हाम्रो पुर्खाको रगत, यो देशको माटो, यहाँ लाग्ने घाम, यहाँ चल्ने हावा यहाँ बग्ने पानी दोषी होइनन्। दोष कहाँ छ, पत्ता लगाउन गाह्रो पनि छैन। त्यसका लागि 'थाहा' चाहिन्छ। थाहा भनेको ध्यान हो। चिन्तन हो।'

रूपचन्द्र विष्ट थाहा अभियानमार्फत तत्कालीन बेठीक राजनीतिक व्यवस्थामाथि जनमुखी राजनीतिको नामबाट ठाडो प्रहार गर्ने गर्थे, भलै थाहा दर्शनको विषय राजनीतिमा मात्र सीमित थिएन तर समुन्नत समाजको सूत्रधार मानिने राजनीतिको मुहान नै दूषित भएका कारण उनका अधिकांश विचार यही फोहर सफा गर्न केन्दि्रत थियो।

राजनीतिबारे उनको बडो सरल बुझाइ थियो। भन्थे, 'धर्मले सम्पूर्ण प्राणीजगत्को भलो गर्न खोज्दछ। राजनीतिले सम्पूर्ण मानवजगत्को भलो गर्ने लक्ष्य राख्दछ। राजनीतिलाई जनहितको कसीमा राखेर मूल्याङ्कन गरिनुपर्दछ।' जनहितको निम्ति राजनीति, समाज हितनिम्ति विकास गरिनुपर्दछ। जनता र जनप्रतिनिधिको सम्बन्धबारे पनि उनले सजिलो व्याख्या गरेका छन्। 'मतदातालाई आफ्नो स्वार्थ हेर्ने अधिकार छ। चुनाव हुने नै मतदाताको स्वार्थका लागि हो। तर जनप्रतिनिधिलाई आफ्नो स्वार्थ हेर्ने छुट छैन। उसले मतदाताको स्वार्थ हेर्नुपर्दछ।'

रूपचन्द्र विष्ट युवालाई सबैभन्दा ठूलो ऊर्जा मान्दथे। उनी भन्थे- 'युवाहरू सबैभन्दा प्रगतिवादी हुन्छन्। युवाहरू परिवर्तन चाहने, विकास चाहने चरित्रका हुन्छन्। त्यसैले युवालाई कहिल्यै उपेक्षा गर्नु हुँदैन। युवाहरू नै सम्भावनाका बाहक हुन्।'

रूपचन्द्र विष्टद्वारा प्रतिपादित थाहा दर्शनका नाममा सञ्चालित रेडियो थाहा सञ्चारले बेलाबखत थाहा र रूपचन्द्र विष्टको सामाजिक अभियानबारे अन्तर्त्रिmया गरिरहन्छ। यस्तै, एउटा अन्तर्त्रिmयाको क्रममा रूपचन्द्र विष्ट र उनको विचारलाई राम्रोसँग बुझेका वामपन्थी चिन्तक सोनाम साथीले एउटा गजबको प्रसङ्ग झिके। हाम्रो कृषि प्रणाली र त्यसबारे राज्यले लिएको नीतिबारे गरिएको प्रश्नमा उनले बडो रोचक तथ्याङ्क दिए, 'अमेरिकामा डेढ प्रतिशत मानिस कृषिमा आबद्ध छन्। त्यही डेढ प्रतिशतले सिङ्गो अमेरिकाले खानेे र घरपालुवा जनावरलाई खुवाउन पुग्ने मात्र होइन, मनग्ये आम्दानीका लागि विदेश निर्यात गर्नेसम्मको कृषि सामग्री उत्पादन गर्दछ तर हामीकहाँ झण्डै सत्तरी प्रतिशत नेपालीहरू कृषिमा आबद्ध छन् तर हाम्रो उत्पादनले हामी आफँैलाई खान पनि पुग्दैन।'

यो तीतो सत्यले स्वतः किन भन्ने प्रश्न उब्जाउँछ। रूपचन्द्रको विचारमा 'किन' भन्ने प्रश्नको जवाफ पत्ता लगाउन 'थाहा' चाहिन्छ। यही अभ्यास रूपचन्द्रले दामन पालुङमा वि.सं.२०२६ साल तिर कृषि विकासका निम्ति सामूहिक खेती, विकासे बाली, विकासे खेताला, विकासे पशुको विकासको अभ्यास र नमुना प्रर्दशन गरेका थिए।

रूपचन्द्र विष्टलाई अझै पनि धेरैले रहस्यमय व्यक्तित्वको रूपमा व्याख्या गरेको पाइन्छ। उनका कुरा नबुझिने खालका थिए भन्ने सुनिन्छ। आजीवन जनताको पक्षमा लडेका रूपचन्द्र विष्टलाई कतिले बौलाहासम्म पनि भने। यसबारे माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले रेडियो थाहा सञ्चारसँगको कुराकानीमा बताएको एउटा रोचक प्रसङ्ग छ। २०४५ सालमा गर्जन साप्ताहिकका लागि विष्टको अन्तर्वार्ता लिन कार्यकारी सम्पादक प्रकाश र गिरिराजमणि पोखरेल विष्टको कालीमाटीस्थित छाप्रोमा पुगेछन्।

सामान्य भलाकुसारीपछि विष्टले पत्रकारद्वयलाई आफ्नी छोरीसँग परिचय गराएछन् र भनेछन्, 'यी दुईजना अर्धबौलाहा हुन्। जनताको वकालत गर्दै बहुलाउने बाटोमा हिँडिरहेका छन्, तर पूरै भने बहुलाइसकेका छैनन्।' सत्ता र धनको पछि नलागी जनताको पक्षमा आवाज उठाउने नेताहरू हामीकहाँ अझै त दुर्लभ छन्, तत्कालीन राष्ट्रिय पञ्चायतभित्र रहेर त्यसैका विरुद्ध कडा प्रहार गर्ने विष्टलाई कसैले बौलाहा भन्थ्यो भने सायद स्वाभाविक हो, किनकि उनले सधैँं विनासम्झौता जनताको पक्षमा आवाज उठाए। कतिले उनलाई असाध्यै बुझेर बौलाहा भने, कतिले कत्ति पनि नबुझेर बौलाहा भने। सत्ता र धनको पक्षमा नलाग्नेलाई नातागोता इष्टमित्र र विरोधीहरूले बौलाहा भन्ने गरेको सुनिन्छ। कसैकसैलाइ रुदानेले मेरो नाम बौलाहा तेरो बुद्धि बौलाहा भनेर जवाफ दिएको पनि पाइन्छ।

रूपचन्द्र विष्ट अत्यन्तै दूर द्रष्टा थिए, ठूलो क्यानभासमा सोच्दथे। उनीसँग योजना थियो, नयाँ नेपालको स्पष्टचित्र थियो। उनी अग्रगमनको पक्षधर थिए। राष्ट्रियताको विषयमा तत्कालीन राष्ट्रिय पञ्चायतमा सदस्यको हैसियतमा उनले दिएको वक्तव्यले पनि उनीबारे बुझ्न थप मद्दत पुर्‍याउला। उनले नेपाललाई संसारसँग जोडेर सटिक धारणा राखेका छन्, 'संसारका कति मान्छेलाई हामीले थाहा दिन सकेका छौं कि विश्व मानचित्रमा नेपाल भन्ने देश पनि छ ? धेरैलाई थाहा छैन। जतिलाई थाहा छ उनीहरूले पनि नेपाललाई गरिब देश, भाडाको सैनिकको देश, आफ्नै चेलीहरू रण्डीकोठीमा बेच्ने दलालहरूको देश, माग्नेहरूको देश, भिक्षा र सहयोगमा पनि भ्रष्टाचार गरेर बदनाम हुनेहरूको देश भनेर चिन्दै गएका छन्। यसलाई सुधार्ने कसरी ?' विष्टको बुझाइ थियो, 'सपि्रएका देशहरू त्यसै सपि्रएका होइनन्। थाहाले सपि्रएका हुन्। उनीहरूलाई थाहा छ कस्तो नीति र चरित्र अपनाउँदा अग्रगमन सम्भव हुन्छ। बिगि्रएका देशहरू त्यसै बिगि्रएका होइनन्, भ्रमले बिगि्रएका हुन्। थाहा र भ्रम कुस्ती खेलिरहन्छन्। जब भ्रमले जित्छ, अन्याय, अत्याचार, भ्रष्टाचार, अपराध र अशान्ति मौलाउँछ। तर जब थाहाले जित्छ, शान्ति, आनन्द, विकास र न्यायको परिपाटी बस्छ। हामीले थाहा पाउने प्रयत्न मात्र गर्नुपर्दछ, यो सम्भव छ।' उनका कुरा कहाँ जटिल छन् ?

उनको चरित्र र उनका विचारहरू कसैलाई जटिल लाग्दछ भने त्यसको पनि कारण छ। उनले कहिल्यै पनि मलाई भोट देउ, देशलाई रामराज्य बनाउने ठेक्का म लिन्छु भनेनन्। सर्वसाधारणसमक्ष कहिल्यै पनि सपना पस्किएनन्। उनले सदैव जनतालाई जागृत गर्ने प्रयत्न गरे, सर्वसाधारण आफँैले सबै कुरा थाहा पाउन् र सत्यलाई साथ देऊन् भन्ने उनको चाहना थियो।

राजनीतिक ठेकेदारी प्रथाविरुद्ध उभिँदै उनले जीवनपर्यन्त हाम्रो काम, हामीलाई अनुकूल पर्ने व्यवस्था, हामी आफैँ मिलेर तय गरौँ भन्ने धारणाको पक्षमा लडिरहे। रूपचन्द्रले आफैले सङ्गठन बनाउनसमेत रुचाएनन्। कुनै विशेष परिस्थितिमा सङ्गठित हुनैपर्ने अवस्था आए जनता आफँै जाग्दछन् र सङ्गठित हुन्छन् भन्ने उनको मान्यता थियो। सङ्गठन बनाउने होइन, सङ्गठन हुन दिन पर्छ। बनाएको सङ्गठनले क्रान्ति गर्दैन। भएको सङ्गठनले क्रान्ति गर्छ। उनी अलि नजिक लेनिनको सङ्गठन पद्धतिमा थिए तर त्यहाँ जनमुखी अभ्यास अभाव भएकाले भुमण्डलीकरण हुनसकेन भन्ने उनको मान्यता पाइन्छ। त्यसबेलाको रुसमा जनमुखी अभ्यास कम भएकोले नै त्याहाँका शासक टिक्न सकेनन् भन्ने उनको धारणा थियो।

माक्र्सवाद र गान्धीवाद दुवैको प्रयोग आवश्यकतानुसार गर्ने उनको आचरण थियो। खासमा उनको राजनीतिक चरित्र कस्तो थियो त ? धेरैले आआफ्नै किसिमले व्याख्या गरिसकेका छन्। रूपचन्द्र सत्य र न्यायको पक्षपाती थिएँ। उनले आफ्नो जीवनकालमा सर्वाधिक प्रशंसा बुद्ध, गान्धी र माक्र्सको गरेका छन्। गान्धीले अपनाएको सत्य र अहिंसाको बाटोलाई उनी सबैभन्दा वैज्ञानिक र आधुनिक राजनीतिक बाटो ठान्दथे। तर विचारको क्षेत्रमा बल प्रयोग गरियो, सरकार श्रमजीवीहरूकोे पक्षमा उभिएन भने श्रमिकको चक्रवर्ती शक्ति जाग्दछ र माक्र्सवादले शोषक र सामन्तको साम्राज्य ध्वस्त पार्छ भन्ने उनको विश्लेषण थियो। उनले गान्धी, माक्र्स र माओलाई यसरी जोडेर हेरेका छन्।

सबैले फरक-फरक परिस्थितिमा जनहितका लागि आआफ्नो ढङ्गले ठूलो योगदान पुर्‍याएको उनको बुझाइ थियो, जुन आफँैमा वैज्ञानिक छ। असली रूपमा रूपचन्द्र जनताका मान्छे थिए। उनी पदको पछाडि कहिल्यै लागेनन्। मन्त्री पदका निम्ति राजाले पठाएको दूतलाई शोषणरहित समाज बनाउने व्यवस्था ल्याउ अनि हामी जस्ता मान्छे मन्त्रीमा पाउँछौ भनेर राजालाई जेलबाट जवाफ पठाए। मन्त्री खाने कि जेल जाने प्रस्ताव आयो मन्त्री नखाएपछि यहाँ पठाए जेलबाट उनले आफ्ना सहकर्मीहरूलाई बताएका थिए।

तत्कालीन अवस्थामा जिम्मेवार पदमा बसेर एक्लैले केही गर्न नसकिने र त्यसो गर्दा जनतालाई जगाउने थाहा अभियानसमेत ओझेलमा पर्नसक्ने उनको बुझाइ थियो। यस अर्थमा रूपचन्द्र महान् मान्छे थिए। एउटा साधक थिए। जीवन भर सत्य र ठीकको साधना गरे।

उज्यालोको महìव बुझ्न वा हामी कति अँध्यारोमा छौँ भन्ने थाहा पाउन, त्यसको कारण पहिचान गर्न र समाधानको प्रयत्न गर्नका निम्ति थाहा अत्यन्तै महìवपूर्ण छ। यो अत्यन्तै सरल पनि छ। थाहा दर्शनमार्फत विष्टले तिमीसँग सरोकार राख्ने हरेक कुरा थाहा पाऊ, जान, चिन्तन गर अनि सत्य र न्यायको पक्षमा उभिऊ भन्न मात्रै खोजेका हुन्। यसरी चिन्तन गर्दा हरेक व्यक्ति, परिवार, समाज, देश र सिङ्गो विश्व प्रगतितर्फ उन्मुख हुन्छ भन्ने उनको विचारमाथि चिन्तन गरौँ। थाहा पाऔँ।

गरिब जनता जस्तै रहनसहन गर्न मनपराउने, आधुनिक सुविधाको पनि जनमुखी तरिकाले प्रयोग गर्ने उनको व्यक्तिगत जीवन थियो। कुनै पनि शासकले पद र पैसामा उनलाई किन्न सकेनन्। उनको पैतृक सम्पत्ति र जनप्रतिनिधि हैसियतले प्राप्त सम्पत्ति पनि उनले वास्ता गरेनन्। जति थियो मृत्युपश्चात् अरुले नै प्रयोग गरे।

राष्ट्रिय पञ्चायतको सदस्य भएकै बेलामा उनलाई राजतन्त्रले राजकाज अपराध गर्‍यो भनेर जेल हालेका थिए। जेल हाल्नको निम्ति होसियार Û नामक पर्चालाई प्रमाण बनाइएको थियो उनलाई असाध्यै मन परेको भनाइमध्ये आफैले लेखेर फैलाएको एक प्रश्न यो पर्चा लोकेन्द्रबहादुर चन्दले सूर्यबहादुर थापालाई हटाएर प्रधानमन्त्री बनेपछि बधाई दिँदा यो पर्चा दिइएको थियो जुन यस्तो छ ः

एक प्रश्न

चारमाना माटोसँग तेरो नाता पर्‍यो भनेर,

माटाको भाडोसँग दोस्तीसोस्ती भयो भनेर

बसिस् कैद गमलामा सिङ्गै पृथ्वीलाई छोडेर á

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home