काठमाडौँ, असार ९ गते। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान निर्माणका लागि प्रमुख दलहरूले राष्ट्रिय सहमति खोज्नुको कुनै विकल्प नरहेको बताउनुभएको छ। उहाँले राष्ट्रिय सहमतिमार्फत नयाँ संविधान निर्माणमा देखिएका विवादहरू हल गरेर नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्नसमेत आˆनो पार्टी तयार रहेको स्पष्ट पार्नुभएको छ।
काठमाडौँ निर्वाचन क्षेत्र नं १० ले शनिबार कीर्तिपुरको पाँगामा आयोजना गरेको एक सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनतालाई अधिकार सम्पन्न बनाउन जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताउनुभयो। उहाँले भन्नुभयो, "जनतालाई अधिकार पनि नदिने अनि राजनीतिक निकास पनि निकाल्न नचाहने हो भने त्यसलाई जनताले कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन।"
अन्य राजनीतिक दलहरूसँग वार्ता र छलफलको क्रम जारी रहेको बताउँदै उहाँले त्यसबाट सकारात्मक निकास निस्कने विश्वास व्यक्त गर्नुभयो।
सहमतिको लागि आˆनो पार्टी जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले भन्नुभयो-"जुन बिन्दुमा पुगेर संविधानसभाको अवसान भएको थियो, त्यही स्थानबाट सहमतिको पहल गरौँ, जनतालाई संविधानसभाबाटै संविधान दिऔँ, अरु कुनै विकल्प खोज्नुपरे पनि खोजौँला।" गोलमेच सम्मेलन, आयोगमार्फत संविधान निर्माण गर्ने कुरा आˆनो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने तर्क गर्दै अध्यक्ष दाहालले यी कुराले जनतालाई अधिकार सम्पन्न नबनाउने र जनताले फेरि धोका पाउने विचार व्यक्त गर्नुभयो।
पहिचानसहितको सङ्घीयता एमाओवादीले छोड्यो त्यसकारण एउटै पार्टीमा बस्न सकिँदैन भन्दै प्रचार गर्दै हिँड्नेहरूले देश र जनताको चाहना र भावनालाई बुझ्न नसकेको उहाँको भनाइ थियो। केही दिनअघि मात्रै पार्टी फुटाएर नयाँ पार्टी बनाउनुभएका मोहन वैद्यतर्फ सङ्केत गर्दै अध्यक्ष दाहालले भन्नुभयो-"सनकको भरमा पार्टी फुटाउनेहरू इतिहासको पानामा मात्रै सीमित भएर जानेछन्।"