सोलुखुम्बु, असार ९ गते। खानेपानीको समेत चरम समस्या भोगीरहेका सोलुखुम्बुको वाकुको विकट गाउँ सोलावनका स्थानीयवासीले गाउँमा रहेका पानीका साना-साना पानीको स्रोतबाट पानी सङ्कलन गरी एकै ठाउँबाट सुधारिएको घट्टा चलाएका छन् भने लघु जलविद्युत् आयोजना सञ्चालन गरी उत्पादित बिजुलीबाट गाउँसमेत झिलीमिली बनाएका छन्।
दिनभरि विद्युत् सेवा बन्द गरिने भएकाले दिउँसोको समयमा ट्याङ्कीमा जम्मा गरेको पानीबाट साँझदेखि करिब १० बजेसम्म बिजुली बाल्दै आएका छन्। त्यस्तै उनीहरूले बिजुली बन्द गरेपछि रातभरि जम्मा गरेको पानीबाट दैनिक बिहान ४ घण्टा सुधारिएको घट्टा -मिल) चलाउँदै आएका छन्। गाउँका विभिन्न चार/पाँचवटा साना-साना स्रोतबाट करिब २५ हजार लिटरभन्दा बढी पानी अट्ने ट्याङ्कीमा पानी जम्मा गरी एकै स्थानबाट बिजुली र पानी घट्टा दुवै सञ्चालन गरेका हुन्। दिउँसो जम्मा गरेको पानीबाट बेलुकी स्ााँढे ६ बजेदेखि साँढे १० बजेसम्म बिजुली बाल्ने गरेको र रातभरि भरिएको पानीबाट बिहान ५ बजेदेखि ९ बजेसम्म सुधारिएको घट्टा सञ्चालन गर्ने गरेको बुद्धि विकास निम्न माध्यमिक विद्यालयकी शिक्षिका भगवती कार्कीले बताउनुभयो।
घर नजिक नै मिल स्थापना भएपछि सोलावनवासीले पीठो पिँध्नका लागि अन्य मिलमा गइरहनुपर्ने समस्याबाट मुक्ति पाएको बताउँछन्। केही समय अगाडिसम्म गाउँमा मिल नहुँदा छिमेकी गाविस खरीखोलासम्म पुगेर पीठो पिँधेको दुःख सुनाउँदै स्थानीय बन्दा शेर्पाले भन्नुभयो, 'जान र आउनकै लागि दुई दिन लाग्थ्यो, मिल खाली नभएको बेला भने अझ बढी समय लाग्थ्यो तर आजभोलि भने एकदम सजिलो भएको छ।'
सोलावनका स्थानीय समाजसेवी दोर्जी शेर्पाको सक्रियतामा ब्रोन एजुकेसन फउण्डेसनको आर्थिक सहयोगमा विद्युत् र सुधारिएको पानी घट्टा सञ्चालनमा ल्याइएको हो। खानेपानीको समेत समस्या रहेको सोलावनमा बिजुली बाल्ने कुरा गर्दा धेरैले पत्याएका समेत थिएनन् भन्नुहुन्छ स्थानीय तेण्डी शेर्पा। विद्युत्बाट सोलावनका ५६ घरधुरी लाभान्वित भएका छन् भने मिलबाट सोलावनवासी र पायक पर्ने छिमेकी गाउँका मानिसलेसमेत फाइदा लिएका छन्।
बिजुली बाल्न र मिल सञ्चालन गर्नका लागि गाउँकै एकजनालाई राखिएको छ। मिलको जिम्मा लिएका आङ्ग ग्याल्जेन शेर्पाले मिल चलाएर नै राम्रो आम्दानी गर्ने गरेका छन्। ठेक्कामा लिएर सञ्चालन गरेकाले सोबापत सोलावन लघु जलविद्युत् उपभोक्ता समूहलाई वाषिर्क सात हजार रुपियाँ बुझाउने गरेको उहाँले बताउनुभयो। पीठो पिँधेबापत उहाँले प्रतिपाथी पाँच रुपियाँ लिने गरेको र सोलावनबाहेक अन्य गाउँबाट आएकालाई प्रतिपाथी दस रुपियाँ लिने गरेको उहाँको भनाइ छ।