क्ाठमाडौँ, असार १० गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएका नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
आइतबार बिहान महाराजगन्जस्थित कोइराला निवासमा सभापति सुशील कोइरालासँग भेट गरी र्फकने क्रममा अचानक अस्वस्थ भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो।
उहाँको उपचारमा संलग्न प्रा. डा. करवीरनाथ योगीले गोरखापत्रसँग भन्नुभयो-''उपसभापति पौडेलको स्वास्थ्य अवस्था स्थिर छ, उहाँलाई बढीमा पाँच दिन र छिटो सुधार आएमा तीन दिनमा सघन उपचार कक्षबाट निकाल्न सकिनेछ।''
पूर्वउपप्रधानमन्त्री पौडेललाई निमोनिया भएको, ज्वरो आएको र रक्तचाप बढिरहेकाले सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ। उहाँका सहयोगी जगदीश न्यौपानेका अनुसार उपसभापति पौडेल बोल्न सक्नुहुन्छ।
नेता पौडेलका स्वास्थ्य अवस्थाबारे जानकारी लिन काँग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरू अस्पताल पुग्नुभएको थियो।