बाँके, असार १० गते। उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिका लागि प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभएको छ।
सरकारले मुलुकमा संवैधानिक सङ्कट हुन नदिन संविधानसभाको नयाँ निर्वाचन घोषणा गरेको हो, नेपालगन्जमा आइतबार मुस्लिम अगुवासँगको भेटमा उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो- निर्वाचनका लागि पनि राष्ट्रिय सहमति आवश्यक छ।
उहाँले सहमतिको राजनीतिमा फर्किन नेपाली काँग्रेस र नेकपा -एमाले)लगायतका दलहरूलाई आग्रहसमेत गर्नुभयो।
जेठ १४ अघि संविधानसभामा जहाँनिर समस्या आएको हो, त्यहीँबाट नयाँ यात्रा सुरु गर्न आफूले अन्य दलहरूलाई प्रस्ताव गरेको पनि उपप्रधानमन्त्री गच्छदारले जानकारी दिनुभयो।
जेठ १४ गते १२ बजे संविधानसभा स्वतः विघटन हुने भएकाले त्यसपछिको राजनीतिक रिक्तता र सङ्कट समाधानका लागि सरकारसँग निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको पनि उहाँले स्पष्ट पार्नुभयो।
प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधानमन्त्री गच्छदारले संविधानसभा र मुलुक बचाउन सरकारले नयाँ निर्वाचनमा जाने घोषणा गरेको बताउनुभयो।
काँग्रेस र एमालेले पहिचान र नामबिनाको सङ्घीयता ल्याउन खोजे पनि आफूले त्यसलाई असफल पारिदिएको उहाँको दाबी छ। काँग्रेस र एमालेका नेताहरू मलाई थारू र मधेसको मात्र होइन, राजनेता बन्नुहोस् भन्थे, उहाँले भन्न्ाुभयो- पहिचान र नामबिनाको उधारो सङ्घीयतामा सही गरे हुने राजनेता मैले स्वीकार गरिनँ।
मधेसी, मुस्लिम, थारू आदिवासी जनजाति, दलितलगायत पिछडिएका समुदायले अधिकार पाउने भए आफू जस्तोसुकै त्याग गर्न पनि तयार भएको बताउँदै उहाँले काँग्रेस-एमालेले पहिचानसहितको सङ्घीयता आउन नदिएको आरोप लगाउनुभयो।
एक मधेस र एक प्रदेश मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको पनि एजेण्डा नभएको उहाँको दाबी छ। आफूहरू एक मधेस एक प्रदेशको अडानबाट दुईमा पुगे पनि ठूला दलले पाँच प्रदेशमा टुक्रा पार्नु गम्भीर आपत्तिको विषय भएको बताउनुभयो। उहाँले मधेसी, मुस्लिम र थारू मिले तराईमा हावा पनि बन्द गर्न सकिने तर्क गर्नुभयो।
उपप्रधानमन्त्री गच्छदारले निर्वाचन आचारसंहिता लागेका कारण सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो।
पार्टी निकट मधेसी मुस्लिम फोरम नेपाल लोकतान्त्रिक बाँकेले आयोजना गरेको कार्यक्रममा जिल्लास्थित २० भन्दा बढी मुस्लिम अगुवा सहभागी थिए।
मुस्लिम अगुवाले स्थायी हज कमिटी, स्वतन्त्र मदरसा बोर्ड र मुस्लिम आयोग गठन गर्न माग गरेका थिए।
उनीहरूले मधेस आन्दोलनमा मुस्लिमको महìवपूर्ण भूमिका भए पनि आन्दोलनपछि अवसर नदिइएको गुनासो गरेका थिए।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहनुभएका गच्छदारले आइतबार नै जिल्ला विकास समिति बाँकेको सभाहलमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीलाई देशको ठूलो पार्टी बनाइने उद्घोष गर्नुभयो।