अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
माओवादी फुट : औचित्य र प्रभाव
मुक्ति खनाल
 

अन्ततः एकीकृत माओवादी पार्टी फुटिछाड्यो। यसभित्रको अनियन्त्रित र अराजक अन्तरसङ्घर्ष देख्दा लाग्थ्यो यो अब कसरी एक भएर रहन सक्ला र ? नभन्दै त्यस्तै भयो। अध्यक्ष क.प्रचण्डको भगीरथ प्रयत्नले पनि पार्टी एक राख्न सकेन। असार चार गते वैद्य पक्षको भेलाले फुट्ने निर्णय लियो र पाँच गते पत्रकार सम्मेलन गरेर यसलाई सार्वजनिक गरियो। यो पनि अब विस्तारै इतिहास बन्दै जानेछ। यो कति औचित्यपूर्ण थियो र छ अनि यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव के कस्तो होला, यो भने सबैको चासोको विषय छ र केही समय रहिरहनेछ।

फुट्नुपर्ने कारणमा वैद्य पक्षले संस्थापन पक्षलाई नव-संशोधनवादी भएको आरोप लगाएको छ। साथमा संविधान नबनाएको र शान्ति-प्रक्रियामा गएको सम्पूर्ण दोष प्रचण्ड-बाबुराममाथि थोपरेर आफू उम्कन खोजेको छ।

यो कुनै आरोप नभएर फुटको औचित्य देखाउन प्रयुक्त पदावली मात्रै हो। चुनवाङ बैठकको कार्यनीति अँगालेर संविधानसभा सम्म आउने, ठूलो पार्टी भनेर गौरव गर्ने, सभासद् र मन्त्री हुने अनि भनेको पद पाइएन भनेर बहानाबाजी गर्दै पार्टी फुटाउने यो त कम्युनिष्ट आन्दोलनभित्रको घृणित अवसरवादको नमुना हो।

साम्यवाद धेरै परको कुरा हो। नयाँ जनवाद पनि राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको आधारमा नेपाली मौलिकतामा स्थापित हुने कुरा हो। यद्यपि बहुसंख्यक श्रमिक वर्गको अन्तमा विजय हुन्छ, तर त्यो सहजै प्राप्त भइहाल्छ भन्ने पनि होइन। अन्तरर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको अवस्थामा यसलाई जोगाउँदै अघि बढ्ने विषय निकै जटिल छ। हाम्रो जस्तो मुलुकका लागि यो झन् जटिल हुनपुग्छ। कहिले अघि र कहिले पछि सर्नुपर्ने हुन्छ। निर्वाध रूपले अघि बढिरहनु राम्रो भए पनि कहिले पछि पनि सर्नुपर्छ। कहिले पछि सर्दा प्रचण्ड बिग्रन्छन् कि भन्ने वैद्यजीको चिन्तालाई स्वाभाविक मानिए पनि पार्टी नै फुटाउने वैद्यजीको कदमलाई इतिहासले क्षमा गर्ने छैन।

वैद्य खेमाले हिजो प्रचण्डले जे गरे पनि विरोध गरे। अहिले फुटेपछि विरोध गर्नु कुनै नौलो कुरा भएन। के फुटेर गएर उनीहरू तत्काल जनविद्रोह वा जनयुद्धमा जान सक्छन् ? वैद्यजी नै भन्नुहुन्छ यो तत्काल सम्भव छैन। रणनीतिमा मतभेद देखिन्न। अहिलेको अन्तर तात्कालिक कार्यनीतिमा हो भने यसमा के मिलेन आउनुपर्‍यो। घोषित कार्यनीति अनुसार चल्न पनि सक्नुपर्‍यो। अहिले वैद्य खेमाको तात्कालिक कार्यनीति नै छैन। जे भनिरहेछ सो गर्नै सक्दैन। यसैले यसको न हाँसको चाल न कुखुराको चाल भएको देखिएको छ। यस्तो परिस्थितिले वैद्यजीको नयाँ पार्टी अघि बढ्न नसक्ने पक्का छ। प्रचण्डसँग असन्तुष्ट केही अति महìवाकाङ्क्षीको भीड जम्मा गरेर क्रान्तिकारी पार्टी निर्माण हुनसक्दैन।

अहिले जब संविधानसभा विघटन भएर अर्को निर्वाचनको घोषणा भएको छ यस्तो बेला छानेर यो फुट किन भइरहेछ, यसको कारणमा गएर नै फुटको सक्कली अनुहार देख्न सकिन्छ। यो बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरू प्राप्त उपलब्धिलाई समाप्त पार्न उद्यत देखिन्छन्। यी प्रतिक्रियावादीहरू माओवादीलाई सके समाप्त पार्ने नसके कमजोर पार्न चाहन्थे। यो उद्देश्यका लागि आज क्रान्तिकारी पार्टी माओवादीलाई कमजोर पार्न यसका नेता क.प्रचण्डलाई वदनाम गर्ने काममा सबै लागेका छन्, वैद्यहरू यसका अगुवा थिए र छन्। यी काममा वैद्यजीका कदमले प्रतिक्रियावादीको सेवा गरेको छ।

नेपाली जनताले निरन्तरका सङ्घर्ष र ठूलो बलिदानपछि संविधान बनाउने हक संविधानसभामार्फत प्राप्त गरेका थिए। संविधानसभाको बनोटले जन-संविधान बन्न नदिने भए पनि नेकपा माओवादीका जबर्दस्त उपस्थितिले अपेक्षाकृत प्रगतिशील संविधान बन्ने पक्का थियो। वैद्यजीले उपनेता हुन नपाएको झोकमा संविधानसभाबाट राजीनामा दिए पनि उहाँका टोलि त थिए नै। संविधानसभा होउन्जेल संविधान बनाउने विषयमा उदासीन मात्र नभएर असफल बनाउन लाग्ने र अहिले नयाँ निर्वाचन घोषणा भएको वेला सो हुन नपर्ने भन्नुले जनतालाई सबल बनाउनमा भन्दा कमजोर पार्न वैद्य खेमा लागेको छ।

अहिले उहाँहरूको नारा समस्या समाधानका लागि गोलमेच सम्मेलन भन्ने छ। हिजो संविधानसभामा ठूलो पार्टी बनेर आउँदा त समस्या थियो। अहिले सबै समान बनेर आउने गोलमेच नामको प्रतिक्रियावादीको भीडबाट समस्याको निकास खोज्नु वैद्यजीहरूको सैद्धान्तिक टाटपल्टाइबाहेक केही होइन। गोलमेचमा को को बस्ने, के आधारमा बस्ने, के विषयमा बस्ने, क-कसको के हैसियत हुने र हैसियत कसले निर्धारण गर्ने केही टुङ्गो नभएको नारा लिएको वैद्य खेमा अहिले आफैमा कुहिरोको कागजस्तो भएको छ।

तत्काल जनयुद्धमा पनि नजाने र संसद्वादमा पनि नफस्ने वैद्यजीको उद्घोष छ। फेरि पर्‍यो भने जनयुद्धमा पनि जाने र विद्रोह पनि गर्ने भन्ने सँगै कुरा छ। साथै चुनावमा जान पनि सकिन्छ, नजान पनि सकिन्छ भन्ने पनि छ। पार्टी खुला राख्ने कि नराख्ने, मोर्चा बनाएर त्यसलाई पो खुला राख्ने कि यो विषयमा पनि सो समूहमा अस्पष्टता छ। कसका विरुद्ध सङ्घर्ष केन्दि्रत गर्ने हो यसमा पनि यो समूहमा अन्योल छ। यो सबैमा भएको अस्पष्टताले यसले भविष्यमा लिने कार्यनीति झनै अस्पष्ट हुने पक्का छ। यस्तो अस्पष्ट नीति बोकेको पार्टीलाई जनताको समर्थन हुने कुरा भएन।

यो समूह विवेकभन्दा आवेगबाट जन्मेको छ। यसले भविष्यमा असन्तुलित कदम चाल्ने पक्का छ। काम होइन क्रान्तिकारीहरूले भन्ने गरेका शब्दहरू टिपेर क्रान्तिकारी बन्न खोज्नुभएका वैद्यजी आफैले भन्ने गरेको सारसंग्रहवादको सिकार अहिले आफैं हुनु भएको छ। क्षणिक रूपमा शब्दजालले केही छोप्न सकिएला सधैँ यो सम्भव हुनेछैन।

वैद्यजीको टोली सारमा वाम विसर्जनवादतर्फ उन्मुख छ। यसले नेपाली क्रान्तिलाई आˆनै मौलिकतामा हुन्छ भन्ने कुरा आत्मसात् गर्न सकेको छैन। क्रान्तिको नक्कल गर्न खोजेको छ, त्यो असम्भव छ। सुविधा भनेअनुसार नपाएर आक्रोशित निम्न पुँजीवादी अधैर्यले भरिएका अति महìवाकाङ्क्षीहरूको यो झुण्डको निराशा देख्न लामो समय कुर्नपर्ने छैन।

अहिले को कता छन् र कसलाई बढी समर्थन छ भनेर देखाउने होडमा वैद्यहरू ल्ाागिपरेको देखिन्छ। यो भन्नै पर्दैन हिजोदेखि खुलेर लागेकाहरू मात्रै त्यहाँ छन्। नयाँ मानिस अहिले आˆनो ठाउँ छाडेर त्यहाँ कोही जाँदैन, गएको छैन। बरु अस्पष्टता कायमै रहृयो भने त्यहाँ भएकाहरू अन्त जानेछन् या पलायन हुनेछन्। फुट्नुको औचित्य र आवश्यकता सिद्ध गरेर गति लिनसके मात्रै जनताको ध्यान आकर्षण गर्न सकिन्छ। अहिले त एनेकपा माओवादीले केही गर्छ कि भनेर जनताले आश गरिरहेको बेला पार्टी फुटाउने काम गर्नुले वैद्यहरूप्रति जनताको आक्रोश छ। हिजो आफूहरू पनि नेतृत्वमा रहने, गर्न खोज्नेको बाटो समेत छेक्ने अनि अहिले आएर गर्न नसकेको आरोप संस्थापन माथि सुम्पेर उम्कन खोज्ने यो हद दर्जाको छल-कपट कसले बुझेको छैन र ? जनता र कार्यकर्ता त्यति धेरै उल्लू त छैनन् जो छर्लङ्गै देखिएको नाङ्गो कपटलाई पनि छुट्याउन नसकून्।

पार्टीहरू सधैँ एक भएर रहन सक्दैनन् फुटछन्, फुटिरहने छन्। तर जसले फुटको औचित्य साबित गर्न सक्दैनन्, ती नराम्ररी पछारिएको देखिएको छ। फुट्नुपर्ने कारण साबित गर्न नसक्ने नराम्ररी लतारिएको देखिएको छ। एमाले विभाजन गर्ने वामदेव र काङ्ग्रेस विभाजन गर्ने देउवा टिक्न सकेनन्। मोहनविक्रम र लामासँग छुट्टएिको माओवादीले जनयुद्ध गर्‍यो, छुट्टनिुको औचित्य साबित गर्‍यो र विकास पनि गर्‍यो। भारतमा राष्ट्रिय काङ्ग्रेससँग अलग्गिएकाहरूको सबैको हैसियत खस्केर गयो तर युवाहरूको ध्यान आकर्षण गर्न सकेकी इन्दिरा गान्धीले काङ्ग्रेस -आइ) बनाएको लगत्तैको चुनावमा संसद्मा दुई-तिहाइ स्थान जितेर बूढा टोलीलाई पाखा लगाइदिइन्। फुटको औचित्य सिद्ध गर्न सक्दा छलाङ मार्न पनि सकिन्छ, नसक्दा सोत्तर होइन्छ। तर अहिले सेक्टर काण्डमा कारबाही गरिएका बूढा, असक्त एवं आकर्षणविहीन र जडसूत्रवादी भनेर कहलिएका किरण अर्थात् वैद्यको नेतृत्वमा पार्टी गठन गरेर सो पार्टीले विकास गर्छ र क्रान्ति सम्पन्न गर्छ भन्ने कसैलाई विश्वास छैन। माओवादीबाट हिजो पलायन भएकालाई बटुलेर क्रान्तिकारी ध्रुवीकरण भन्न खोज्नु हास्यास्पद छ। यसले किरणजीको सैद्धान्तिक छवि त खुइलिन्छ नै यसमा लाग्नेहरू पछुताउने छन् वा पलायन हुनेछन्, चाँडै नतिजा देखिनेछ।

वैद्यजी कमजोर छन्, गन्तव्यमा पुग्ने बाटामा अस्पष्ट छन् भन्दैमा यसले एनेकपा माओवादीलाई असर गरेको छैन भन्ने पक्कै हैन, असर गरेको छ। यो बेला प्रचण्ड पक्षले पनि थप बढी काम गर्न जरुरी छ र मात्रै किरण पक्षबाट भएको नोक्सानी पूरा गर्न सक्छ।

विगतमा एनेकपा माओवादीले पार्टी अन्तरसङ्घर्ष सञ्चालनमा लिएको उदार नीति गलत ठहरेको छ। सो विधिले पार्टी एकता कायम गर्न मद्दत पुग्छ कि भनेकोमा भएन। यसको उल्टो सो विधिले गुट मौलाउने, अराजकता फैलने र पार्टी कमजोर पार्ने र अन्तमा पार्टी फुट्ने काम मात्र भयो। यसैले सो हानिकारक विधि तुरुन्त हटाइएन भने त्यहाँ रहेका अन्य गुटले किरणको बाटो नपक्डलान् भन्न सकिन्न। यसैले सुदृढ हुनु छ भने विचार समूह नामका गुटहरू तुरुन्त खारेज गर्नुपर्छ। अराजक भीडले पार्टी सबल हुन्न, अनुशासित पङ्क्तिले मात्रै पार्टी बलियो हुन्छ र गन्तव्य चुम्न सक्छ।

रिमले पार्टी फुटाउन उक्साएको भन्ने पनि छ। जे जे भए पनि यो किरण समूहको फुट औचित्यहीन छ। यो फुटले दुस्मन हँसाउने र मित्रवर्गलाई खिन्न पार्ने काम अवश्य गरेको छ। प्रतिक्रियावादी कित्तामा हर्ष र क्रान्तिकारी कित्तामा विस्मात छरेको छ। यसबाट पाठ सिक्दै अघि बढ्नु बाहेक अब अर्को विकल्प छैन।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home