काठमाडौँ, असार ११ गते। नेपाल टेलिकमले ४८ लाख जिएसएम मोबाइलका लागि चाहिने उपकरण जडान र सञ्चालनका लागि चीनको हुवा वे कम्पनीसँग सोमबार सम्झौता गरेको छ।
सम्भौता पत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंह र हुवा वे कम्पनीका तर्फबाट कमर्सियल म्यानेजर लियान सि चेङ्ग तथा सेल्स डिपार्टमेन्टका निर्देशक रूभेस झाले हस्ताक्षर गर्नुभयो। सम्झौताअनुसार हुवा वे कम्पनीले अत्याधुनिक प्रविधिका ४८ लाख जिएसएम मोबाइल टेलिफोनका सम्पूर्ण उपकरण उपलब्ध गराई जडान समेत गरी सञ्चालनमा ल्याउने छ।
सम्झौताअनुसार हुवा वे कम्पनीले यी कार्यहरू दुई वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने र उपकरण सञ्चालन भएको मितिदेखि पाँच वर्षसम्म सम्पूर्ण मर्मत सम्भारका कार्यहरू गर्नेछ। यो आयोजना सम्पन्न गर्न -कार्यान्वयन २ वर्ष र मर्मत सम्भार ५ वर्ष) करिब छ अर्ब ७५ करोड लगानी हुनेछ।
सम्झौता गर्न आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले नेपाल टेलिकमका लागि ऐतिहासिक महìव राख्ने यो आयोजनाको कार्यान्वयनले मागअनुरूप जिएसएम मोबाइल सेवा उपलब्ध गराउन तथा बजारमा प्रतिस्पर्धा गर्न सहज हुने बताउनुभयो। उहाँले यो आयोजना समयमै सम्पन्न हुने र उपभोक्ताहरूलाई अत्याधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउन सफल हुने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा हुवा वे कम्पनीका कार्यकारी अधिकृत बिल याङले नेपाल टेलिकमसँग हुवा वे कम्पनीले करिब १० वर्षदेखि सहकार्य गरिरहेको र यो आयोजना व्यावसायिक रूपमा कार्यान्वयन गरी समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल टेलिकमले आहृवान गरेको प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय वोलपत्रबाट हुवा वे कम्पनी नेपाल टेलिकमलाई ४८ लाख जिएसएम मोबाइल फोन उपलब्ध गराउने कार्यका लागि छनोट भएको थियो। यस सम्झौताअनुसार आगामी १२० दिनभित्र हुवा वे कम्पनीले प्रथम चरणका सम्पूर्ण उपकरणहरू जडान कार्य सम्पन्न गरिसक्ने टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताउनुभयो छ।
नेपाल टेलिकमको यो आयोजना हालसम्मकै सबैभन्दा ठूलो आयोजना भएको भन्दै यस आयोजनाको कार्यान्वयन सुरु भएपछि कम्पनीको जिएसएम मोबाइल सेवाको व्यापक विस्तार र सेवाको गुणस्तरमा पनि वृद्धि हुने टेलिकमले जनाएको छ ।