लन्डन, असार १२ गते। पाँचपटक उपाधि जितिसकेकी भेनस विलिम्स सोमबार राति सोमबार राति विम्बल्डनको पहिलो चरणबाटै पाखा लागेकी छन् तर नोभाक जोकोभिच, रोजर फेडरर, किम क्लाइस्टर्स र मारिया सारापोभा भने सहजै दोस्रो चरणमा पुगे।
रुसकी एलिना भेसियनाले ३२ वषर्ीया भेनसलाई ६-१, ६-३ ले हराइन्। सन् १९९७ मा पहिलो पटक खेलेपछि भेनस पहिलो चरणमै हारेको यो पहिलोपटक हो। विश्वकी पूर्व नम्बर एक भेनसले सन् २०००, २००१, २००५, २००७ र २००८ मा विम्बल्डन जितेकी थिइन्।
यसअघि, पछिल्ला दसमध्ये नौ ग्रान्डस्लाममा पहिलो चरणमै हार्ने भेसिनाले अब तेस्रो वरीयताप्राप्त आग्नेस्का राड्वान्स्काविरुद्ध खेल्नेछिन्। पोल्यान्डकी राड्वान्स्काले स्लोभाकियाकी माग्डालिना रिबारिकोभालाई ६-३, ६-३ ले हराइन्।
क्लाइस्टर्सले १८ औँ वरीयताकी येलेना यान्कोभिचलाई ६-२, ६-४ तथा सन् २००४ की च्याम्पियन सारापोभाले अस्ट्रेलियाकी अनास्तासिया रोडिओनोभालाई ६-२, ६-३ ले हराए। पुरुष एकलमा शीर्ष वरीयताका जोकोभिचले भेटरान हुँवा कार्लो फरेरोको चुनौती ६-३, ६-३, ६-१ ले समाप्त पारे। फेडररले स्पेनका अलवर्ट रामोसलाई ७९ मिनेटमा नै ६-१, ६-१, ६-१ ले बिदा गरे। एएफपी