दमक, असार १४ गते। झापाको दमकबाट उत्तरी पहाडी जिल्लाहरू जोड्ने दमक रवि चिसापानी सडकमा वषर्ादका कारण सवारी साधन चल्नछाडेपछि अत्यावश्यकीय सामानको मूल्य वृद्धि भएको छ भने जनजीवनसमेत नराम्रोसँग प्रभावित बनेको छ।
नेपालको पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरका दुई दर्जनभन्दा बढी गाविसहरूलाई छुने दमक रवि चिसापानी सडक निर्माणमा राज्यको चासो जान नसकेका कारण बर्सेनि वषर्ाद्को समयमा यस सडकमा सवारी साधन चल्न सक्दैनन्।
दमक रवि चिसापानी सडक उपभोक्ता समितिका अध्यक्ष सुरेश सुब्बाका अनुसार दुई साताअघिदेखि यस सडकमा सवारी साधन चल्न नसकेका कारण अर्को सडक भएर लामो दूरी पार गर्दै अत्यावश्यकीय खाद्य सामग्री लैजाँदा इलाम र पाँचथरका दर्जनौँ गाविसका बासिन्दा महँगीको मारमा परेका छन्।
हिँउदमा सहज रूपमा बस र ट्याक्सीहरू यहाँ कुद्ने भए पनि वषर्ाद् सुरु भएपछि रतुवा खोलामा बाढी आउने र बाटोसमेत हिलो हुने भएकाले कुनै प्रकारको सवारी साधन यहाँ कुद्न सक्ने अवस्था रहँदैन। यहाँ सवारी साधन कुद्न नसक्दा इलामको बाँझो, साक्फारा, पञ्चमी, चुलाचुली, बाँझोलगायतका गाविसमा अत्यावश्यकीय खाद्य सामग्रीहरूको अभावसमेत हुन थालेको बताइएको छ।
त्यहाँ उत्पादन भएका कृषि सामग्रीहरू तराई आउन नपाउने र तराईबाट अत्यावश्यकीय खाद्य सामग्रीहरूसमेत त्यहाँ लैजान नसक्दा जटिल अवस्था सिर्जना बन्दै गएको दमक रवि चिसापानी सडक निर्माण उपभोक्ता समितिले जनाएको छ।
समितिका अध्यक्ष सुब्बाका अनुसार राज्यले प्रत्येक वर्ष यस सडकलाई भनेर नियमित बजेट छुट्याउने गरेको भए पनि कनिका छरेजस्तो भएकाले बर्सेनि समस्या दोहोरिने गरेको छ।
राज्य र उपभोक्ताको यस सडकमा पन्ध्र करोड रुपियाँभन्दा बढी लगानी भइसकेको भए पनि हालसम्म ट्रयाक पूर्णरूपमा खुल्न नसकेको र रतुवा खोलामा पुलहरू नबिनसकेकाले सवारी साधन चल्न नसकेको हो।
पूर्वी पहाडी जिल्लाहरूलाई जोड्ने सबैभन्दा छोटो दूरीको सडकको रूपमा यसलाई लिइने गरिन्छ।
झण्डै तीन दशकअघिदेखि निर्माण सुरु गरिएको सडकले यो अवधिमा हालसम्म पनि पूर्णरूपमा सडकको स्वरूप पाउन सकेको छैन भने हिउँदमा समेत खोला नै खोला भएर सवारी साधन कुद्ने गर्छ।
लामो समयदेखि यस सडकमा काम गर्दै आउनु भएका दमक रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीका अनुसार १२ किलोमिटरको खोलाको दूरीमा झण्डै तीन सय पटक खोला वारपार गर्नु पर्ने अवस्था रहेको छ।
कम्तिमा पनि २५ करोड रुपियाँ एकसाथ विनियोजित भएमा यो सडक कच्ची भए पनि हिउँद र वषर्ादमा चल्न सक्ने बन्ने र यसबाट पहाडी जिल्लाका हजारौँ उपभोक्ता लाभान्वित हुने बुढाथोकी बताउनुहुन्छ।