काठमाडौँ, असार १५ गते। नवौँ राष्ट्रिय धान दिवस २०६९ मनाउँदै गर्दा पानी र रासायनिक मल अभावका कारण यस वर्ष धानको उत्पादन घट्न सक्ने सम्बन्धित विज्ञहरूले औँल्याएका छन्।
गत वर्ष १७ प्रतिशत धान रोपाइँ भएकोमा यसपाली ९ प्रतिशत मात्र हुनुले धान उत्पादन घट्ने सङ्केत देखिएको कृषि मन्त्रालयका प्रवक्ता डा. हरि दाहालले बताउनुभयो।
पि्र मनसुन गडबडले २० प्रतिशत मकैलाई असर गरेको भन्दै उहाँले यस वर्ष धान, मकै र कोदोको उत्पादन कम भएर जाने सङ्केत देखिएको बताउनुभयो।
बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक डा. सुरोज दाहालले अझै पनि बिगि्रनसकेको भन्दै रासायनिक मल पाउँदै पाइएन र पानी पनि राम्रोसँग परेन भने धान उत्पादन घट्ने लक्षण देखिएको स्वीकार्नुहुन्छ।
शुक्रबारको दिनलाई किसानहरूको सबैभन्दा बढी हतार र चटारोको दिनको रूपमा लिइन्छ। देशव्यापीरूपमा राष्ट्रिय धान दिवस मनाइरहँदा मुलुकका अधिकांश जिल्लामा पानी नपरेपछि किसानहरू चिन्तित बनेका छन्। मानो खाएर मुरी उब्जाउने असारको यो मध्य बेलामा कतिपय जिल्लामा पानी नपरेपछि किसानहरूका खेत बाँझै रहने सम्भावना पनि विज्ञहरूले औँल्याएका छन्। कृषि विकास तथा कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले धान दिवस मनाउन थालिएको हो।
कृषि विकास मन्त्रालय, कृषि विकास विभाग, नेपाल कृषि अनुसन्धान परिषद्को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा धान दिवस मनाउन थालिएको हो। सन् २००४ देखि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयपश्चात हरेक असार १५ गतेका दिन धान दिवस मनाउन थालिएको छ ।
नेपालका लागि धान प्रमुख बाली हो। कृषि विभागका महानिर्देशक डा. श्यामकिशोर साहका अनुसार चालु आर्थिक वर्षमा नेपालमा ५० लाख ७२ हजार २४९ मेटि्रक टन धान उत्पादन भएको छ । उहाँका अनुसार करिब ९० अर्ब रुपियाँ बराबरको धान उत्पादन भएको हो। गत आर्थिक वर्षमा ४४ लाख ६० हजार मेटि्रन धान उत्पादन भएको थियो। कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३३ प्रतिशत रहेको छ। चालू आर्थिक वर्षमा उत्पादनमा वृद्धि भई तीन दशमलव तीन मेटि्रक टन प्रतिहेक्टर पुगेको पनि विभागले जनाएको छ । साढे १५ लाख हेक्टरमा धान रोपाइँ हुनुका साथै प्रतिहेक्टर ६ टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ।
यसैबीच राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०६९ राजधानीको काभ्रेस्थलीमा आयोजना गरिएको छ। कृषि विभाग रोपाइँ महोत्सव २०६९ मूल समारोह समितिले आयोजना गरेको महोत्सवका अवसरमा सम्बन्धित विशेषज्ञहरूबाट प्रवचन तथा खेतमा रोपाइँ कार्यक्रम आयोजना गरी मनाइएको बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक डा. सुरोज पोख्रेलले जानकारी गराउनुभयो। सो अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुरका किसान समूहहरूको बीचमा असारे गीत प्रतियोगिता आयोजना गरी उत्कृष्ट हुनेहरूलाई पुरस्कृत गरिएको थियो।