वार्सा -पोल्यान्ड), असार १५ गते। स्ट्राइकर मारियो बालोटेलीले दुई गोल गरेपछि इटाली बिहीबार राति जर्मनीलाई २-१ स्तब्ध बनाई युरोपेली च्याम्पियन्सीपको फाइनलमा पुगेको छ।
म्यान्चेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने २१ वषर्ीय बालोटेलीले पूर्वार्द्धमा लगातार दुई गोल गरी जर्मनी समर्थकका मुटु छियाछिया पारे। त्यसपछि कम अनुभवी जर्मनी टिमलाई इटालीले उत्कृष्ट ढङ्गले रोक्न सफल भयो। प्रतियोगितामा सहभागी १६ टिममध्ये जर्मनी टिमको औसत उमेर सबभन्दा कम छ।
मेसुट ओजिलले एक गोल फर्काए पनि खेलको अन्तिम समयमा प्राप्त गोलले जर्मनीलाई फाइदा गरेन। यस नतिजासँगै जर्मनीको प्रमुख प्रतियोगिता जित्ने १६ वर्षको पर्खाइ अझ लम्बिएको छ। इटालीले आइतबार युक्रेनको किभमा गत विजेता स्पेनविरुद्ध फाइनल खेल्नेछ। सन् १९६८ पछि इटाली पहिलो युरो उपाधि जित्ने कोसिसमा छ।
बालोटेलीले दुई गोल गरे पनि खेलको म्यान अफ दि म्याच इटालीका अनुभवी मिडफिल्डर एन्दि्रया पिर्लो घोषित भए। जर्मनीविरुद्ध युभेन्ट्सका ३३ वषर्ीय पिर्लो इटालियाली टिमको मेरुदण्डका रूपमा प्रस्तुत भए।
हामीले रणनीतिलाई सही ढङ्गले कार्यान्वयन गर्यौँ, जसले गर्दा जर्मनीलाई खेल्न गाह्रो भयो, इटालीका प्रशिक्षक सिजार प्रान्डेलीले भने। उनले फाइनलमा स्पेन दावेदार भए पनि आप\mनो टिम पनि सशक्त भएको प्रतिक्रिया दिएका छन्।
बिहीबार रातिको खेल जिती इटालीले विश्वकप र युरोकपमा जर्मनीविरुद्ध अहिलेसम्म नहारेको प्रभावशाली कीर्तिमानलाई कायम राख्यो। प्रमुख प्रतियोगितामा इटालीविरुद्ध आठ पटक भिडिसके पनि जर्मनी जितविहीन छ। यो निकै तितो हार हो, दुवै गोल हाम्रै गल्तीमा भए, इटालीविरुद्ध दुई गोलले पछाडि पर्नु भनेको निश्चितरूपमा खेल गुमाउनु नै हो, जर्मनीका कप्तान फिलिप लामको प्रतिक्रिया छ।
प्रशिक्षक योचमी लोउको पहिलो रोजाइमा विश्वास गरेको फरवार्ड लाइनले इटालियाली डिफेन्सलाई तर्साउन सकेन। लुकास पोडोल्सीलाई प्रभावहीन बनेपछि पूर्वार्द्धमा नै उनलाई परिवर्तन गरियो। स्ट्राइकर मारियो गोमेजलाई ३४ वषर्ीय मिरोस्लाभ क्लोजले स्थानापन्न गरे। दायाँ विन्गमा खेल्ने टोनी क्रुसले पनि इटालीयाली डिफेन्सलाई समस्यामा पार्न सकेनन्।
खेलको प्रारम्भमा जर्मनीले केही सुनौलो मौका पाएको थियो। तर अवसरको सदुपयोग गर्न नसक्दा जर्मनी खेलको २०औँ मिनेटमा पछि पर्यो। एन्टोनियो कसानोको क्रसलाई बालोटेलीले हेडमार्फत बल गोलपोस्टमा छिराएर इटालीलाई अगाडि पारे। युरो २००८ को फाइनलपछि यस प्रतियोगितामा जर्मनी पछाडि परेको यो पहिलो पटक हो। जर्मनीले छनोट चरणमा दस र युरो २०१२ मा चार गरी लगातार १४ खेल जित्दा पनि पहिले अग्रता बनाएको थियो।
खेलको ३६औँ मिनेटमा फियोरेन्टिनाका मोन्टोलिभोको क्रसमा बालोटेलीले अर्को शानदार गोल गरी इटालीलाई आरामदायक स्थितिमा पुर्याए। दुई गोलले पछाडि परेपछि जर्मनीले गोल फर्काउने अथक प्रयास गरेको थियो। यद्यपि इटालीयाली डिफेन्स र गोलरक्षक गियान्लुजी बफन जर्मनीको बाधक बने।
खेलको ९२औँ मिनेटमा फेडरीको बाल्जेरेटीले डिबक्समा बल हातले छोएपछि जर्मनीले पेनाल्टी पाएको थियो। सो पेनाल्टीमा ओजिलले गोल पनि गरे तर सो सफलता निकै ढिलो प्राप्त भयो। एएफपी