काठमाडौँ, असार १६ गते। राष्ट्रपति डा. रामवरण यादवले संविधानको दायराभित्र रहेर दलहरूबीचको सहमतिका लागि आफूले अथक प्रयास गरिरहेको बताउनुभएको छ।
राष्ट्रपतिभवन शीतल निवासमा शान्ति र संविधानका लागि पत्रकार सरोकार समितिका पदाधिकारीहरूसँगको भेटमा उहाँले राजनीतिक स्थायित्व कायम गरी मुलुक र मुलुकवासीले शान्ति र संविधान पाऊन् भन्ने आˆनो एकमात्र उद्देश्य र चाहना रहेको स्पष्ट पार्नुभयो।
संयुक्त जनआन्दोलनको भावनाअनुसार सहमतिका आधारमा संसद् र सरकार चलाउने संवैधानिक प्रावधान रहेको बताउँदै राष्ट्रपति डा. यादवले मुलुकमा देखिएको राजनीतिक र संवैधानिक सङ्कट घुमिफिरी अन्ततः आफूकहाँ आउने भए पनि दलहरूबीच सहमति भएर आए त्यसलाई निकास दिन आफूलाई सहज हुने तर्क प्रस्तुत गर्नुभयो।
मुलुकमा संविधानसभा विघटन सँगसँगै पूर्ण रूपमा संवैधानिक रिक्तता रहेको भन्ने भनाइ आइरहेकोप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, "संविधानसभा विघटन हुनेबित्तिकै संवैधानिक रिक्तता हुने होइन, केही समस्या भने पक्कै पनि देखिएको छ तर सरकार छ, राष्ट्रपति कायमै छ र दलहरूबीच सहमति भए सबै समस्याको समाधान पनि गर्न सकिने अवस्था छ।"
राष्ट्रपति डा. यादवले दलहरूबीचको असहमति र दलभित्रै देखिएका समस्याका कारण संविधानसभा विघटन हुँदा आफूले सबैभन्दा बढी खिन्न अनुभव गरेको बताउँदै अहिलेको अवस्थामा पार्टीहरू फुट्नु राम्रो होइन, लोकतन्त्र कमजोर हुन्छ, राष्ट्रवादीहरू बलियो हुनुपर्छ भन्ने सुझाव राजनीतिक नेतृत्वलाई दिँदै आएको प्रसङ्ग उल्लेख गर्नुभयो।
संविधानसभाको नयाँ निर्वाचनका लागि एक दर्जनभन्दा बढी कानुन संशोधन गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले अध्यादेशमार्फत कानुन संशोधन गर्न सकिने भए पनि संविधान संशोधनलगायतका विषयमा बृहत् राजनीतिक सहमति कायम हुँदा नै उपयुक्त हुने चर्चा गर्नुभयो। उहाँले केही राजनीतिक दलका तर्फबाट अहिलेको राजनीतिक र संवैधानिक निकासका लागि गोलमेच सम्मेलनको कुरा उठाइएको भए पनि गोलमेचमा कुनकुन पक्षलाई कसरी बोलाउने र त्यसको निकास के हुने भन्ने विषय स्पष्ट नभएको बताउनुभयो।
राष्ट्रिय सहमति कायम नगरी नयाँ सरकारलाई नयाँ नीति र पूर्ण बजेट ल्याउन संवैधानिक हिसाबले अप्ठ्यारो होला कि भन्ने आफूले महसुस गरेको बताउँदै उहाँले संविधानले दिएको जिम्मेवारी तथा संविधानको दायराभित्रै रहेर राष्ट्रको सर्वोत्तम हितका लागि काम गर्ने स्पष्ट पार्नुभयो।
पत्रकार सरोकार समितिका संयोजक टङ्क पन्तको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले संविधानको संरक्षक र पालकका नाताले राष्ट्रपतिलाई राजनीतिक दलका नेतालाई सहमतिका लागि पे्ररित र प्रोत्साहित गर्न पहल गर्न आग्रहसहितको ज्ञापनपत्र बुझाएको थियो। रासस