मन्थली, असार १७ गते। पानी र मलले मात्रै धान फल्छ भन्ने पुरातन मान्यताले गर्दा उत्पादनमा असर परिरहेको कृषि विज्ञहरूको धारणा छ। रोपाइँ गर्ने साधारण तरिकाबारे किसानलाई जानकारी गराउन नसक्दा धान उत्पादनमा कमी भइरहेको कृषि प्राविधिकहरूको भनाइ छ।
किसानलाई अझै धान रोप्न योग्य माटो कस्तो हुनुपर्छ, धान कति फरकमा रोप्नुपर्छ, बेर्ना कस्तो र कति समयको हुनुपर्छ, कतिवटा बेर्ना रोप्नुपर्छ, पानी कसरी लगाउनुपर्छ भन्ने जस्ता सामान्य कुरा पनि थाहा नभएको उहाँहरूको ठम्याइ छ।
रामेछापका अधिकांश किसानले गुणस्तरहीन बीउ र परम्परागत खेती अँगाल्ने गरेको कृषि विकास कार्यालयका प्रमुख केशव देवकोटा बताउनुहुन्छ। उहाँले भन्नुभयो, रामेछापमा खडेरी र सुख्खा छ, पानी पर्दैन हामीले केही गर्ने अवस्था नै छैन त्यसैले रोपाइँको परम्परागत विधिमा पनि परिवर्तन गर्नुपर्छ।
कम्तीमा २० सेन्टिमिटरको फरक पारेर रोप्नुपर्ने धान बाक्लो रोप्ने गरिएको, रोपाइँका लागि तीन हप्ताको बेर्ना हुनुपर्नेमा छिप्पिएको बेर्ना प्रयोग गर्ने र चाहिनेभन्दा बढी बेर्ना रोप्ने किसानको बानी भएकाले उत्पादनमा प्रतिकूल असर परिरहेको
प्राविधिकको अनुभव छ।
रासायनिक मल मज्जाले हाल्नुपर्छ, हिलो ज्यादै खेलाउनु र कुहाउनुपर्छ भन्ने किसानमा रहेको परम्परागत मान्यताले वर्तमानको पानी र मल नभएको समयमा धानको उत्पादनमै ह्रास आइरहेको प्राविधिकहरू बताउँछन्।
प्राविधिकका अनुसार धानको वृद्धि वैज्ञानिक किसिमले बढाउन माटोमा हावा र पानी २५-२५ प्रतिशत, प्राङ्गारिक मल पाँच प्रतिशत र खनिज पदार्थ ४५ प्रतिशत हुनको लागि माटोलाई धेरै हिल्याउनु हुँदैन। अव्यवस्थित किसिमले बनाएको हिलोमा माटोभित्र हुने सूक्ष्म जीवाणुलाई असर पर्ने र उत्पादमा कमी आउने गर्दछ।
बीउ पुरानो हुनुपर्छ, धानलाई रोपेदेखि नपाकुञ्जेलसम्म पानीमा डुबाउनुपर्छ भन्ने परम्परागत मान्यताले गर्दा धानमा अनेक रोग लागेको र उत्पादन नबढेको कृषि प्रसार अधिकृत सुरेन्द्र ठाकुर बताउनुहुन्छ। उहाँले भन्नुभयो, धानको गरालाई कम्तीमा हप्तामा एकपटक पूरै सुख्खा पारेर हावा छिर्ने मौका दिने हो भने पनि धेरै रोग लाग्न पाउँदैन र उत्पादन पनि बढ्छ।
मन्थलीका अगुवा किसान मुकुन्दप्रसाद पौडेल परम्परागत खेतीले उत्पादन नबढेको भए पनि बढी फल्ने तरिका कसैले नसिकाएकाले परम्परागत खेती गर्न बाध्य भएको स्वीकार गर्नुहुन्छ। उहाँले भन्नुभयो, मिहिनेत नगरी अन्न फलोस् भन्ने हाम्रो माग होइन तर उति नै मिहिनेतले तरिका पुर्याउँदा बढी फल्छ भने कसै न कसैले सिकाइदिए हुन्थ्यो नि।
गुप्तेश्वर-४, डाङ्डुङ्गेका स्थानीय किसान अनिल तामाङको भनाइ पनि उस्तै छ। उहाँ भन्नुहुन्छ, विकासे -रासायनिक)) मल त कहिले हाल्ने र किन हाल्ने भन्ने हामीलाई थाहा छैन, राम्रा र गतिला कुरा कसले सिकाउने र हामीले जान्ने।