सोलुखुम्बु, असार १८ गते। जिल्ला विकास समिति सोलुुखुम्बुले सञ्चालन गरेका जिल्लाका चौँतीसै गाविसहरूका योजनाहरूको अनुगमन तथा निरीक्षण गर्नका लागि क्षेत्रगत रूपमा उपसमितिहरू गठन गरी सम्बन्धित क्षेत्रतर्फ खटाइएको छ।
जिल्ला सुपरीवेक्षण तथा अनुगमन समितिको निर्णयले जिल्ला विकास समिति, विभिन्न विषयगत कार्यालय र सङ्घ, संस्थाहरूमार्फत आर्थिक वर्ष २०६८/६९ मा सञ्चालन गरिएका विभिन्न किसिमका योजनाहरूको वास्तविक प्रगतिको अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेस गर्न उपसमितिलाई सम्बन्धित क्षेत्रमा पठाइएको स्थानीय विकास अधिकारी चिरिञ्जीवी तिमिल्सिनाले बताउनुभयो।
गठित उपसमितिहरूले जिल्लाका सबै गाविसहरूमा सम्पन्न भएका र काम भइरहेका सबै योजना तथा कार्यक्रमहरूको अनुगमनका लागि जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू तथा अन्य कर्मचारीहरू सदस्य रहेको नौवटा उसमिति गठन गरेको हो।
निरीक्षणमा गएको उपसमितिहरूले यही असार २० गतेभित्र पूर्ण प्रतिवेदन पेस गर्ने गरी निर्देशनसहित समितिलाई
पठाइएकोे छ।
उपसमितिले सम्बन्धित गाविसका सचिवहरू, उपभोक्ता समिति, सामाजिक परिचालक र सरोकारवाला सर्वसाधारणहरूसँग भेट्नुका साथै योजनाहरूको स्थलगत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने भएको छ। सोलुखुम्बुमा यस वर्ष केन्द्रीयस्तरबाट रकमान्तर भएका र संसद् विकास कोषबाट तथा जिल्ला विकास समितिबाट गरी दुई सयभन्दा बढी योजनाहरूका लागि करिब सात करोड ७५ लाख बराबरको रकम विनियोजन भएको छ।
अनुगमनका लागि उपसमिति खटाइएपछि समिति तथा प्राविधिक प्रतिवेदन प्राप्त नभएसम्मका लागि सबै योजनाको निकासा रोक्का गरिएको स्थानीय विकास अधिकारी चिरिञ्जीवी तिमिल्सिनाले जानकारी दिनुभयो। जसमा सम्पन्न्ा भएका योजनाहरू समेत परेका छन्।
अधिकांश दलका कार्यकर्ताहरूले सञ्चालन गरेका योजनाहरूमा काम कमजोर भएको जनगुनासो रहेकाले अनुगमन गर्नु सकारात्मक भएको सरोकारवालाहरूको भनाइ छ। अनुगमन यथार्थपरक हुनुपर्नेमा समेत उनीहरूको जोड रहेको छ।