काठमाडौँ, असार १८ गते। नेपाल स्टक एक्सचेञ्जमा सोमबार भएको कारोबारमा नेप्से एक दशमलव ५९ को अङ्कले घटेर ३७२.९२ को बिन्दुमा आई पुगेको छ।
नेप्सेमा सोमबार जम्माजम्मी ८३ वटा कम्पनीका एक हजार १५५ कारोबारबाट एक लाख ९८ हजार ८७९ कित्ता सेयरको कारोबार भई चार करोड ८४ लाख ७५ हजार ४२३ रुपियाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
मुलुकमा काम चलाउ सरकार रहेको अवस्था र आगामी बजेट पूर्ण आउने वा आंशिक आउने कुराको समेत अनिश्चितता भएको कारण नेप्सेमा खासै उत्साह नदेखिएकोले बजारमा सुधार आउन सकेको छैन।
नेप्सेमा खासै सुधार आउन नसके पनि कारोबार रकमका हिसाबले भने सोमबारको कारोबारलाई सन्तोषजनक रूपमा नै
हेरिएको छ।
केही दिनमा नै सहमतीय बजेट र सरकार बन्ने अवस्थाले बजारमा सुधार आउने अपेक्षाले गर्दा
नेप्सेमा सामान्य गिरावट भए पनि झण्डै पाँच करोडको कारोबार हुनुले बजारमा सेयरको माग भने उच्च रहेको स्पष्ट देख्न सकिन्छ।
नेप्सेमा सोमबार कारोबार भएका कम्पनीहरूको बजार मूल्यमा भने खासै ठूलो उतारचढाव भने देखिएको छैन।