काठमाडौं, असार २१ गते। त्रिभुवन विश्वविद्यालयले आˆना जायज मागप्रति बेवास्ता गरेको भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक एवं वरिष्ठ हाडरोग विषेशज्ञ डा. गोविन्द केसी बिहीवार दिउँसो २ बजेदेखि अस्पताल हातामै आमरण अनशनमा बस्नुभएको छ। त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थानमा रिक्त रहेका पदाधिकारीको नियुक्ति राजनीतिक आस्था र विचारका आधारमा नभई योग्यता, वरिष्ठता र दूरदृष्टि भएका व्यक्तिमध्येबाट प्रतिस्पर्धाका आधारमा गरिनुपर्ने माग प्राडा केसीको छ।
"मेरो चिन्ता पद तथा शक्तिको होइन", आमरण अनशनमा बस्नुपूर्व प्राडा केसीले सञ्चारकर्मीबीच भन्नुभयो, "मेरो चिन्ता भनेको यो संस्थान र यहाँका विद्यार्थीको भविष्यको हो।" उहाँले मृत्युसँग लड्नु परे पनि माग सम्बोधन नभएसम्म अनशन नतोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसअघि गत असार ९ गते त्रिविका पदाधिकारी र शिक्षण अस्पतालका आन्दोलनरत पक्षबीच असार २० गतेभित्र डिनको नियुक्तिका लागि नियुक्ति सिफारिस समितिले तीनजना योग्य व्यक्तिको नाम त्रिवि कार्यकारी परिषद्मा सिफारिस गर्ने सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको थियो।
"हाम्रो मागप्रति बेवास्ता गरिएपछि पुनः आन्दोलनमा उत्रनुको विकल्प भएन", त्रिवि प्राध्यापक संघका अध्यक्ष डा. मोदनाथ मरहठ्ठाले भन्नुभयो, "प्राडा केसीजीको अनशन पनि यसैको परिणाम हो। आमरण अनशनमा उहाँ बस्नुभए पनि आन्दोलनरत सबै पक्षको उत्तिकै समर्थन छ।"
शिक्षण अस्पतालका प्रशासन प्रमुख चन्द्रकुमार राईले माग पूरा नगरेकै कारण प्राडा केसी आमरण अनशनमा बस्नुभएको जानकारी दिनुभयो।
"उहाँ आमरण अनशनमा बसेपछि अस्पतालको सेवा प्रभावित हुन्छ", प्रशासन प्रमुख राईले भन्नुभयो, "अस्पतालको सेवा र बिरामीप्रतिको उत्तरदायित्व सम्झेर सम्बद्ध निकायले अविलम्ब समस्या समाधानमा कदम चाल्नु जरुरी छ।"
यसैगरी सो शिक्षण संस्थानका प्राध्यापक एवं पूर्व क्याम्पस प्रमुख डा. रामप्रसाद उप्रेतीले अस्पतालको सेवा प्रभावित हुनबाट जोगाउन सरकारले प्राडा केसीलगायतका आन्दोलनरत पक्षको माग सम्बोधन गर्न जरुरी रहेको प्रतिक्रिया दिनुभयो।
यस विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जनले आमरण अनशन बसेको समाचार आफूले पनि सुनेको बताउँदै पदाधिकारी नियुक्तिका लागि छनोट समितिले काम गरिरहेको प्रतिक्रिया दिनुयभो।