काठमाडौं, असार २१ गते। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहमति र सहकार्यबाट अघि नबढे विगतका तानाशाहजस्तै माओवादी पनि पतन हुने बताउनुभएको छ। विगतका सहमति कार्यान्वयन नगर्दा माओवादी कमजोर हुँदै गएको विश्लेषण उहाँको छ। बीपी चिन्तन प्रतिष्ठानद्वारा बिहीवार राजधानीमा आयोजित 'युवाको वर्तमान अवस्था ः चुनौती र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा सभापति कोइरालालेे वार्ता र सहमतिकै माध्यमबाट जारी राजनीतिक गतिरोधको निकास निकाल्नुपर्ने बताउनुभयो।
राजनीतिक र संवैधानिक हिसाबले गतिरोधको निकास निकाल्नुपर्ने उहाँको भनाइ छ। नेका सभापति कोइरालाले राजनीतिक दलहरूसँग कुनै परामर्श नगरी संविधानसभा विघटन गरिएकाले अन्योलको अवस्था उत्पन्न भएको बताउनुभयो।
राष्ट्रियता, प्रजातन्त्र र समृद्धि नै आफूहरूको मुख्य एजेन्डा भएको बताउँदै सभापति कोइरालाले बीपीबाट प्रतिपादित विचारलाई भुल्न नहुनेमा जोड दिनुभयो। बीपीले देखाउनुभएको मार्गदर्शनअनुसार नै अघि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो। मुलुकका झन्डै ४० लाखभन्दा बढी युवा विदेशिएको चर्चा गर्दै सभापति कोइरालाले विदेशिने प्रवृत्ति अझै कम हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो।
कार्यक्रममा नेका केन्द्रीय सदस्य मनमोहन भट्टराईले विदेशी अतिथिको सुरक्षाको व्यवस्था पनि विदेशीले नै गर्नुपर्ने अवस्थाको सिर्जना नेपालमा हुन लागेको भन्दै त्यसप्रति आपत्ति जनाउनुभयो। नयाँ संविधानसभा निर्वाचनको घोषित मितिसम्ममा निर्वाचन आयोगमा एकजना आयुक्त पनि नहुने भएकाले निर्वाचन कसरी हुन्छ भन्ने प्रश्न उहाँले गर्नुभयो। प्रधानमन्त्रीले सत्तामा बसिरहने रवैया देखाएको आरोप उहाँले लगाउनुभयो।
कार्यक्रममा युथ फोर्सका अध्यक्ष महेश बस्नेतले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई 'सर्वस्वहारा' वर्गको नेता भएको आरोप लगाउनुभयो। आफू कम्युनिस्ट पार्टीमा लाग्दा नेताहरू सामान्य जनजीवन व्यतीत गर्छन् भन्ने सुनेको तर प्रचण्डको विलासितापूर्ण जीवन देख्दा त्यो भ्रम हटेको उहाँले बताउनुभयो। विदेशीलाई विमानस्थलको व्यवस्थापन दिने सरकारी तयारीविरुद्ध सबै युवा एकजुट हुनुपर्ने उहाँको भनाइ छ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवं प्रतिष्ठानका केन्द्रीय सदस्य शेरबहादुर भण्डारीले बीपीको चिन्तन दृष्टिकोणलाई युवासम्म पुर्याउनुपर्ने आवश्यकता आँैल्याउनुभयो। प्रतिष्ठानले युवालाई लक्षित गरी नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी सदस्य भण्डारीले दिनुभयो।