अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
दुःख पाइयो, बढी जान्ने भएर
लक्ष्मीधर गुरागाईं
 

भान्जा आज स्कूल किन गएनन् हँ ?" ठूलाकान्छा मामाले निकै ठूलो स्वरमा आमासित सोधे। म केही बोलिनँ। आमाले बिस्तारै भन्नुभयो, "हिजो पनि बिहानको खाना खाइसकेपछि भुँडी दुख्यो भनो, स्कूल गएन। आज पनि खाना खाइसकेपछि फेरि भुँडी नै दुखो भन्न थालो अनि स्कूल गएन।" आमाले बेलिविस्तार लगाउनुभयो।

"खाना खाएपछि भुँडी दुख्छ कि खानुभन्दा पहिले दुख्छ ?" ठूलाकान्छा मामाले सोधे। आमाले भन्नुभयो, "खाएपछि दुख्छ भन्छ।"

"ए दिदी, एउटा चिम्टा छ ?" ठूलाकान्छा मामाले सोधे। ल बिताउने भए अब के गर्ने हुन् भनेर मेरो होसहवास उड्यो। "छ नि चिम्टा," भनेर अगेना डिलमा भएको चिम्टातिर आमाले पुलुक्क हेर्नुभयो। ठूलाकान्छा मामा अगेनातिर गए। अगेनामा आगो बलिरहेको थियो। ठूलाकान्छा मामाले त्यो चिम्टा टिपेर तताउन अगेनामा पो हाले।

"पख न यो चिम्टा पहिले रातो हुनेगरी तताउन देऊ," यति भनेर ठूलाकान्छा मामा मतिर आए। उनले मेरो पेटको तल र माथिको छाला च्याप्प समातेर भने, "मसित भएको मन्त्र लगाएर तातो चिम्टाले भान्जाको यो दुखेको भुँडीलाई यसरी च्याप्नुपर्छ, भान्जाको साँच्चै भुँडी दुखेको भए सधैँका लागि निको हुन्छ।"

ठूलाकान्छा मामाले फेरि भने, "तर, भान्जाले ठगेका रहेछन् भनेचाहिँ साह्रै नराम्रो हुन्छ।"

ठगेका रहेछन् भने भुँडीमा चिम्टाले च्यापेका ठाउँमा तल र माथि दुईवटा प्वाल पर्छन् अनि खाएको जति त्यहीँबाट निस्कन्छ।"

उनले मतिर पुलुक्क हेरेर सोधे- भान्जा, अहिले पनि भुँडी दुख्दै छ होइन ? मैले डराइडराई भनेँ, "अहिले भर्खरै दुख्न छाड्यो, निको भयो।"

"ल, त्यसो भए भान्जाको भुँडी दुखेको ओखती आज गर्नु परेन। भोलिदेखि फेरि दुख्यो भनेर स्कूल नजाने कुरा गरे भने मलाई बोलाउनु, म ओखती गरिदिन्छु।" त्यति भनेर ठूलाकान्छा मामा आफ्ना घरतिर लागे। म उठेर खेल्न थालेँ। आमाले भन्नुभयो, "भालिदेखि पनि भुँडी दुखो भने ठूलाकान्छालाई बोलाउन पर्ने भयो।"

मामाको घर हाम्रोभन्दा दुई घर पर्तिर थियो। भोलिदेखि पो के भन्नु भनेर म गहिरो सोचमा परेँ।

त्यसबेला एकबाट दुई कक्षामा टेकेको मात्र थिएँ। मलाई दिएको पाठ म कण्ठ गरेर बुझाउँथेँ। शिक्षकले त्यसबेला बुझाएर पढाउने होइन, सरसरी पढेर तिमीहरूलाई यति पाठ भयो भनेर किताबमा चिह्न लगाइदिन्थे। त्यसलाई हामीले घोक्नुपथ्र्याे। मैले पूरै किताब घोकेर कण्ठस्थ पारेको थिएँ। दुनाई पन्ध्र एकानसम्म मुखाग्र थियो। गराङ, पौने, सबइया, डेडी, कठ्ठा, धुर सबै मुखाग्र आउँथ्यो। हामीलाई पढाउने शिक्षक थिए- तीर्थ सर।

शिक्षकले विद्यार्थीलाई खुबै पिटेर पढाउँथे। कान समातेर उठबस गराउँथे, कुखुरो बनाउँथे, बेन्चमाथि घुँडा टेकाउँथे, हात र पिँडुलामा बेतका छडीले निल बस्ने गरेर हान्थे। औँलाबीचमा सिसाकलम घोट्थे। यस्ता कुरामा तीर्थ सर स्कूलभरिकै नामी थिए।

कक्षामा पहिले नजान्ने जतिलाई सोध्थे। जवाफ दिन नसक्ने ती सबैलाई उभ्याउँथे। अन्तिममा मलाई सोध्थे। जवाफ दिउँ कि नदिउँ भनेर मलाई त्यसबेला दोमन हुन्थ्यो। जवाफ दिउँ भने सबै साथीहरूका कान बटार्दै दुवै गालामा मेरा लबटाले हान्नुपथ्र्याे। मलाई आउँदैन भने भने सरले मलाई बजाउँथे।

मैले साथीलाई बिस्तारै कुटेँ भने सरले मलाई बोलाएर यसरी पो पिट्नुपर्छ त भनेर मलाई नै चड्काउँथे। मलाई जसो गर्दा पनि सुख थिएन। अरूले त खासै केही गर्दैनथे। हरिदेव, महेश, बलेन्द्रका छेउमा जानेबित्तिकै 'रसेरस मार कि' अर्थात् बिस्तारै कुट है भन्थे।

उनीहरू सर्कसका भीम पहलमान थिए म उनीहरूसामु दुब्लो, पातलो, पिलन्धरे थिएँ। म लुते, ल्याम्ते र कमजोर थिएँ। हरिदेव एक्लैले त मजस्ता दशजनालाई पछार्न सक्थ्यो। त्यसैले उसलाई कुट्न म सधैँ डराउँथेँ पनि। उसका कान छोएजस्तो मात्र गरेर गालामा कुटेजस्तो गरेर छुन्थेँ। तीर्थ सर मलाई बोलाएर मेरा कान तात्नेगरी चड्कन दिँदै भन्थे, "यसरी पो पिट्नुपर्छ।" फेरि गएर उसलाई मैले जोडसित पिट्नुपथ्र्याे।

मलाई घर र्फकने बेला उनीहरू बाटो ढुकेर बस्थे। अनि सबै मिलेर मार ढुट्याउँथे। चिमोट्थे। त्यसैले म लुकीलुकी अर्कै बाटो हिँड्नुपथ्र्याे। कोही साथी पनि मसित सोझो मुखले बोल्दैनथे। सरलाई पोल सुनाइस् भने मारिदिन्छौँ भनेर धम्की दिन्थे। एकखालको 'र्‍यागिङ'बाट म नराम्रोसित पीडित थिएँ। यो सबै तालिम अप्राप्त शिक्षकका कारणले उत्पन्न समस्या रहेछ भन्ने म अचेल बुझ्दै छु।

कक्षामा म नितान्त एक्लो थिएँ। मेरो गल्ती यति हो म अरूभन्दा जान्ने थिएँ। कक्षामा मेरा कोही साथी नै थिएनन्। साथीहरू अनेक आरोप लगाएर मलाई कुटाउँथे। बालमनोविज्ञान नपढेका शिक्षकले मेरो पीडा कसरी बुझून् ?

एक दिनको कुरा हो। तीर्थ सर टिफिनपछि कक्षामा आएका थिए। उनले सोधे- बदाम खाएर कुर्सीमाथि बोक्रा थुपार्ने को हो ? हरिदेवले भन्यो, "लक्ष्मीधरले हो सर।" उनले कक्षाभरिका धेरैलाई सोधे सबैले त्यो बदमासी गरेको मलाई नै आरोप लगाए। मैले बदाम खानु त परै जाओस् देखेको पनि थिइनँ। मैले सरलाई भनेँ, ''सर मैले बदाम खाएको छुइनँ। यो गल्ती मैले गरेको होइन।''

"तैँले नगरेको भए अरू सबैले तेरो नाम किन लिन्छन् रे," सरले ठूलो स्वरमा भने।

मलाई त्यस दिन तीर्थ सरले मेरो ठूलो र मोटो गोखुरे टुप्पी मुठ्याए। मेरो टुप्पी तान्दै बाहिर मैदानमा निकालेर दुवै गोडा फारेर एकटकसित घाममा हेर्न लगाए। मैले आँखा झिमिक्क पारेँ भने मेरा पिँडुलामा बाँसका सिर्कनुले बजाइहाल्थे। मैले निकैबेर घामसित आँखा जुधाउनुपर्‍यो। त्यो दिन भरसक सम्झन पनि नपरोस् भन्ने लाग्छ। मैले धेरैबेरसम्म त केही देखिनँ दिउँसै अँध्यारो भयो। त्यसबेलादेखि मेरा आँखामा एउटा टाटो बस्न थाल्यो। मेरा आँखा कमजोर भएर गए। आँखाबाट लगातार आँसु बग्न थाल्यो। आजसम्म पनि त्यसको असर मेरा आँखामा छँदै छ। पावरवाला चस्मा लगाउनुपर्छ। चस्मा नलगाई अक्षर देख्दिन।

मेरो अवस्था देख्दा बलमलाई माया लागेछ। उसले साँचो कुरा बोल्यो।

तीर्थ सरले त्यसपछि मेरा ठाउँमा बलम र हरिदेवलाई सजायँ दिन थाले।

अर्को दिन पनि कक्षाका साथीहरूलाई तीर्थ सरले पाठ सोधे। उनीहरूले जवाफ दिन सकेनन्। मलाई सोधे। मैले जवाफ दिएँ। तीर्थ सरले मलाई भने, "अब सबलाई हिर्का।"

मैले भनेँ, "म मेरा साथीलाई हिर्काउँदिन। तीर्थ सरले मलाई भने, "तँ मैले भनेको पनि नटेर्ने ?" यति भनेर मेरा हात थाप्न लगाएर काठको डस्टरले मेरा हातमा बेस्सरी हाने। तर, मैले साथीलाई कुट्न इन्कार गरिरहेँ। मेरा नाङ्गा पिँडुलामा उनले बेस्सरी हाने। तर, मैले साथीलाई पिटिन।

त्यसपछि मैले पढ्न छोडेँ। फिटिक्कै पढिन। पढेर जान्ने भइयो भने दुःख पाइँदोरहेछ भन्ने मेरो दिमागमा अमिट छाप पर्‍यो। पहिलेको त्यस्तो जान्ने म पछि नजान्ने विद्यार्थी बनेँ। दुर्भाग्यले ब्ाालमनोविज्ञान पढ्दै नपढेका, तालिम अप्राप्त शिक्षकका हातमा परे भने प्रतिभाशाली विद्यार्थीको प्रतिभा कसरी क्षय हुन्छ भन्ने कुरा खुद मैले अनुभव गरेको छु।

त्यसपछि मैले घरमा पेट दुखेको अभिनय गरेर दुई दिनसम्म घरमै बस्नुपरेको थियो।

ठूलाकान्छा मामाले चिम्टा तताएको भोलिपल्टदेखि म सरासर स्कूल जान थालेँ।

पहिलेपहिले नबोल्ने साथीहरू मसित खुलेर बोल्न थाले। उनीहरू मसित खेल्न थालेँ। त्यसपछि मलाई बेग्लै र एकतमासको आनन्द लाग्न थाल्यो। किनकि म पढाइमा कमजोर विद्यार्थी भएको थिएँ। यो मेरा लागि निकै खुसीको कुरा थियो।

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home