नयाँदिल्ली, भदौ ३० गते । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार साँझ आˆना समकक्षी भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसित राजनीतिक भेटघाट गर्नुभएको छ । भ्रमणको दोस्रो दिन बिहानैदेखि शिष्टाचार भेटमा व्यस्त रहनुभएका प्रधानमन्त्री प्रचण्डले डा. सिंहसग नयादिल्लीको हैदराबाद भवनमा करिब डेढ घण्टा भेटवार्ता गर्नुभयो ।
दुई देशका प्रधानमन्त्रीबीच मात्र भएको सो राजनीतिक भेटघाटमा प्रधानमन्त्री दाहालले नेपालतर्फका एजेन्डाहरू राख्नुभएको थियो । भेटमा भएका छलफलका विषयमा र छलफलबाट भएका सहमतिका विषयमा मङ्गलबार दुवै देशका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरिने सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
छलफल अत्यन्तै सकारात्मक भएको, छलफलमा सबै विषयवस्तु उठेको र दुई देशको बीचको सम्बन्ध नया उचाइमा पुगेको पनि मन्त्री महराले बताउनुभयो ।
यसअघि सोमबार दिउसो प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति प्रतिभा पाटिलसित राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नुभयो ।
भेटमा प्रधानमन्त्री पत्नी सीता दाहाल, मन्त्रीहरू, भारतीय विदेशसचिव शिवशङ्कर मेनन, नेपालका लागि भारतीय दूत राकेश सुदलगायतको पनि उपस्थिति रहेको थियो ।
यस्तै प्रधानमन्त्री प्रचण्डसग भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीले होटेल ताजमा भेट गर्नुभयो ।
भेटमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा प्रचण्डलाई आडवाणीले बधाई दिनुभएको थियो ।
भेटपछि सञ्चारकर्मीहरूसित कुरा गर्दै आडवाणीले नेपाल सरकारलाई आफूहरूको पूर्ण समर्थन र सहयोग रहने बताउनुभयो । नेपालमा दलहरूबीचको एकता जरुरी रहेको आˆनो धारणा पनि उहाले छुटाउनुभएन ।
भ्रमणदलका सहभागी
परराष्ट्रमन्त्री उपेन्द्र यादवका अनुसार प्रधानमन्त्री प्रचण्डले आडवाणीलाई जनकपुर, लुम्बिनी र पशुपतिनाथको दर्शन गर्न नेपाल आउन निम्तो दिनुभएको छ ।
सोमबार नै प्रधानमन्त्री प्रचण्डसाग भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले होटल ताजमा भेट गर्नुभयो । भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनेबारेमा कुराकानी भएको विदेशमन्त्री मुखर्जीले बताउनुभयो ।
भेटमा भारतीय विदेशमन्त्रीले दुई देशबीचका विविध विषयहरूलाई सोमबार सााझ प्रधानमन्त्रीहरूको भेटघाटमा साझा एजेन्डाका रूपमा प्रस्तुत गरिने जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार अपराहृन सत्तारूढ भारतीय काङ्ग्रेस -आई)की अध्यक्ष सोनिया गान्धीसाग भेट गर्नुभयो । करिब आधा घण्टा लामो सो भेटघाटमा नेपालको पछिल्लो राजनीतिक विकासक्रम र शान्तिप्रक्रियाका प्रगतिका बारेमा कुराकानी भएको बताइएको छ ।
भेटका समयमा काङ्ग्रेस (आई)का अन्य नेता तथा नेपालका मन्त्रीहरूको सहभागिता थियो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार नै उपराष्ट्रपति डा. हमिद अन्सारीसित भेट गर्नुभएको थियो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलका अन्य सहभागीहरूसहित सोमबार बिहान दिल्लीको राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा गई श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
उहाले त्यहा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । साथै महात्मा गान्धीको सात वाणीको उच्चारणसमेत गर्नुभयो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री प्रचण्डले मङ्गलबार रेलमन्त्री लालु यादव, भारतीय कम्युनिस्ट पार्टीका महासचिव प्रकाश करात र सीताराम येचुरी, पूर्वप्रधानमन्त्रीहरू आईके गुजराल र एचडी देवगौडा, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, भारतमा रहेका नेपाली व्यवसायीहरूसाग भेट गर्नुहुनेछ ।