काठमाडौं, असार २९ गते। विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संगठन -आईडीए)ले नेपाललाई आठ अर्ब ८८ करोड रुपियाँ -सय मिलियन अमेरिकी डलर) सहयोग दिन सहमत भएको छ।
आईडीएले कुल सहयोगमध्ये पाँच अर्ब ३३ करोड रुपियाँ ऋण पुल सुधार तथा मर्मत कार्यक्रमको लागि तथा ऋण तथा अनुदान गरी तीन अर्ब ५५ करोड रुपियाँ पोषण कार्यक्रमको लागि सुनौला हजार दिन कम्युनिटी एक्सनलाई प्रदान गरिने छ।
यी दुई फरक सम्झौतामा शुक्रबार अर्थ मन्त्रालमा सम्झौता भएको हो। सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव लालशंकर घिमिरे र विश्व बैंक, नेपालका तर्फबाट बैंकका कार्यबहाक नेपाल निर्देशक विज्ञान प्रधानले हस्ताक्षर गर्नुभएको हो।
सडक विभागले कार्यान्वयन गर्ने पुल सुधार तथा मर्मत कार्यक्रमअन्तर्गत रणनीतिक सडक सञ्जालका लागि पुलहरू निर्माण तथा मर्मत गरिने छ। यस कार्यक्रम अन्तर्गत १२१ नयाँ पुलको निर्माण, चार सयभन्दा बढी साना, ठूला पुलको मर्मत सुधार गरिने छ।
पुल मर्मत तथा सुधार कार्यक्रम पाँच वर्षसम्म सञ्चालन हुने र १४८.६ मिलियन अमेरिकी डलर खर्च हुने जनाइएको छ। यसबाट मुलुकको आर्थिक तथा सामाजिक विकासका साथै रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास लिइएको छ।
सुनौला हजार दिन कम्युनिटी एक्सन कार्यक्रम प्रजनन उमेरका महिला तथा दुई वर्ष मुनीका बच्चाहरूको पोषणमा रकम खर्च गरिने छ। स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयमार्फत कार्यान्वयन भई पाँच वर्षसम्म सञ्चालन हुने यस कार्यक्रमको उद्देश्य महिला तथा बच्चाको स्वास्थ्यका साथै पोषणको स्थितिमा समेत सुधार हुने विश्वास लिइएको छ।