काठमाडौं, असार २९ गते। नेपाली क्रिकेट राष्ट्रिय टोलीका प्रशिक्षक दसनायके दासानायकेले आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार तीव्र गतिका बलरसहित नयाँ रणनीतिमा खेल्ने बताएका छन्। उनको भनाइ मान्ने हो अस्ट्रेलियामा दुई स्पीनर पनि मैदानमा हुनेछन्। गत महिना मलेसियामा सम्पन्न यु-१९ एसिया कपमा नेपालले दुई तीव्र गतिका बलर उतारेको थियो।
यु-१९ विश्वकप अस्टे्रलियामा साउन २० गतेदेखि भदौ ११ गतेसम्म हँुदैछ। यु-१९ विश्वकपमा नेपालको समूहमा आयोजक अस्टे्रलिया, इङ्ल्यान्ड र आयरल्यान्ड रहेका छन्।
उमेर समूहमा नेपाली टोलीले कुनै पनि बलियो राष्ट्रलाई हराउन सक्छ, राम्रो सुरुवात भयो भने हामी अवश्य नै दोस्रो चरण पुग्नेछौं- श्रीलंकाली प्रशिक्षक दसनायकेले भने। वषर्ाले अहिले प्रशिक्षणमा केहीले बाधा पारे पनि तयारी राम्रो भएको जानकारी दिन्छन्। हामी एक हप्ताअघि नै अस्ट्रेलिया जानेछौं र त्यहाँ अस्ट्रेलियाका स्थानीय टिमबाहेक पुपुआ न्युगिनी र न्युजिल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछौं, जसले त्यहाँको पिच र वातावरणसँग अभ्यस्त हुने मौका मिल्नेछ, प्रशिक्षक दसनायकेले बताए। गत महिना एसिया कपमा भारत र पाकिस्तानविरुद्ध खेलले पनि टिमको मनोबल उच्च रहेको भन्छन् दसनायके।
कप्तान पृथु पनि प्रशिक्षकको भनाइमा सहमत छन्। मलाई लाग्छ, नेपाल र उपाधि दाबेदार राष्ट्रको स्तरमा ठूलो भिन्नता छैन, अनुभव र रणनीतिमा उनीहरू केही माथि होला तर हामी सकरात्मक नतिजा निकाल्न सक्छौँ, पृथुको भनाइ छ।
विश्वकप यु-१९ मा नेपाल प्लेट च्याम्पियन बनिसकेको र शीर्ष आठमा पुगिसकेको टिम हो। विगतका यिनै गौरवलाई निरन्तरता दिन प्रत्येक खेलाडी अन्तिम समयसम्म लड्नेछन्, एसियाकपमा भएको गल्तीलाई हामी विश्वकपमा सुधार्ने छौँ। बलिङ र फिल्डिङ राम्रो छ। तर, ब्याटिङमा सुधारको आवश्यकता छ, त्यसका लागि हामी कडा प्रशिक्षण गरिरहेका छौं, विश्वकप अगाडि खेलिने मैत्री खेलबाट पनि त्यहाँको वातावरण र पिचबारे थप ज्ञान हुनेछ- कप्तान पृथुले बताए।
नेपाली टोली
पृथु बाँस्कोटा -कप्तान), प्रदीप ऐरी -उपकप्तान), नरेश बुढाऐर, रामनरेश गिरी, मोहम्मद हासिम अन्सारी, भुवन कार्की, कृष्ण कार्की, अविनाश कर्ण, सौरभ खनाल, गोपाल सिंह, राहुल विक, राजेश पुलामी, सुवास खकुरेल, सागर पुन र फैजलुर रहमान।