न्युयोर्क, असोज ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी दस वर्षभित्र नेपाललाई विश्वको एक सुन्दर देशका रूपमा स्थापना गरिछाड्ने दृढता व्यक्त गर्दै त्यसका लागि आर्थिक सहयोग वृद्धि गर्न आहृवान गर्नुभएको छ । हाल अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्रीले इन्डिया चाइना इन्स्िटच्युटद्वारा शुक्रबार साँझ आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल र नेपालीलाई माया गर्ने सबैलाई यस महान् अभियानमा सहयोग पुर्याउन आहृवान गर्नुभयो ।
'माओइस्ट न्यु भिजन फर नेपाल' नामक सो अन्तरक्रियामा करिब दुई सय नेपाली तथा विदेशी विद्यार्थीहरूले नयाँ नेपाल निर्माणमा माओवादीको दृष्टिकोणबारे जिज्ञासा राखेका थिए ।
आगामी पाँच वर्षभित्र जनताले विकासको अनुभूति गर्न पाउने र सन् २०१५ सम्ममा विश्वका विकासशील देशहरूभन्दा पनि अग्रपङ्तिमा पुर्याउने ठोकुवा पनि प्रधानमन्त्री प्रचण्डले गर्नुभयो । नेपाल अति नै सुन्दर, विविधताले भरिपूर्ण र सम्भावनायुक्त भएकाले द्रूत आर्थिक क्रान्ति सम्भव रहेको उहाले खुलासा गर्नुभयो ।
"एक्काइसौं शताब्दी पानीको शताब्दी हुँदैछ । हामीले त्यसको सही सदुपयोग गरेर समृद्धिको शिखरमा पुग्ने पूरै सम्भावना छ", प्रचण्डले भन्नुभयो । मुलुकभित्र रहेका स्रोत र साधनका आधारमा मुलुक विश्वकै समृद्ध मुलुक हुनुपर्ने भए पनि विगतका व्यवस्थापकीय कमजोरीले त्यसो हुन नसकेको प्रचण्डको भनाइ थियो ।
माओवादीले बहुदलीय राजनीतिक प्रणालीबाटै मुलुकको उन्नति गर्ने भन्दै प्रचण्डले लेनिन पनि १० वर्ष बाँचेको भए बहुदलीय व्यवस्थामा जाने विचार व्यक्त गर्नुभयो ।
थोत्रो भइसकेका माओ, लेनिन, माक्र्स, स्टालिन जस्ता नेताहरूको फोटो किन तपाईहरू हरेक कार्यक्रममा राख्नुहुन्छ ? अब त्यो हटाउने बेला भएन ? भन्ने एक प्रश्नकर्ताको जवाफमा प्रचण्डले "हामीले यिनीहरूलाई कसरी भुल्न सक्छौा ? के तपाइहरू जर्ज वासिङ्टन, लिङ्कन जस्ता नेताहरूलाई भुल्न सक्नुहुन्छ ?" भनेर प्रतिप्रश्न गर्दा सभाहल ताली र हाँसोले गुञ्जायमान भएको थियो ।
प्रदर्शन गरिरहेका तिब्बती शरणार्थीको मानवअधिकार सरकारको तर्फबाट हनन भएको भन्ने एक सहभागीको प्रश्नमा प्रचण्डले भन्नुभयो, "हामी छिमेकी मुलुकहरूसाग राम्रो सम्बन्ध राख्छौ र हाम्रो मुलुकलाई छिमेकी मुलुकविरुद्धका गतिविधि गर्ने ठाउँ बनाउन चाहँदैनौ ।" उहाले तिब्बतीहरूको मानवअधिकार हनन भइरहेको भए त्यसमा ध्यान दिएर मानवअधिकारको संरक्षणका लागि प्रयास गरिने पनि बताउनुभयो ।
उहाँले नेपाल अति नै सुन्दर, विविधताले भरिपूर्ण भएकाले यहाँ द्रुत आर्थिक क्रान्ति सम्भव रहेको बताउनुभयो ।
प्रश्नकर्ताहरूको विभिन्न प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री प्रचण्डले तिब्बत चीनकै हो र चीनकै रहनेछ यसमा हाम्रो कुनै द्विविधा छैन भन्नुभयो ।
उल्लेख्य सङ्ख्यामा नेपालीको समेत उपस्थिति रहेको सो कार्यक्रममा प्रचण्डले सात समुद्रपारि आएर पनि नयाँ नेपालका योजनाबारे चासो लिएकोमा आफू उत्साहित भएको बताउनुभयो । आफूले यसबाट उल्लेख्य ऊर्जा पाएको र यसलाई जस्ताको तस्तै नेपाली दाजुभाइमाझ पुर्याउने बताउनुभयो ।
विदेशमा बस्ने नेपालीहरूलाई नेपाल र्फकने वातावरण बनाउन चाहेको भन्दै प्रधानमन्त्रीले विश्वको जुन कुनामा रहेको भए पनि देश विकासका लागि योगदान पुर्याउन आहृवान गर्नुभयो ।
कार्यक्रममा राष्ट्रसङ्घका पूर्वउपमहासचिव कुलचन्द्र गौतमले प्रश्नोत्तरको संयोजन गर्नुभएको थियो भने कार्यक्रममा प्रचण्डका बारेमा इन्डिया चाइना सोसाइटीका निर्देशक अशोक गुरुङले जानकारी दिनुभएको थियो ।
अनमिन प्रमुख इयान मार्टिन र पूर्वउपप्रमुख स्यामुअल ताम्राटको पनि कार्यक्रममा सहभागिता थियो ।
सहभागीहरूले माओवादी आन्दोलन, शान्तिप्रक्रिया र नयाँ नेपाल निर्माणमा माओवादी योजना र दृष्टिकोण तथा वाईसीएलको भूमिकाबारे प्रश्न गरेका थिए ।
कार्यक्रममा न्यु स्कुल राजनीति तथा समाजशास्त्रका प्रोफेसर अन्ड्रु अरातोले प्रचण्डले कुरा गरेजस्तो काम गर्न सजिलो नभएको जनाउनुभयो । उहाँले माओवादी मात्र नभई देशमा अरू पनि थुप्रै प्रजातान्त्रिक शक्तिहरू सक्रिय रहेको अवस्थामा माओवादीले सबैसाग मिलेर जानुपर्ने र त्यसो नगर्दा उसले सोचेका सबै कुरा पूरा नहुने पनि उल्लेख गर्नुभयो ।