काठमाडौँ, कात्तिक ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिगो शान्तिका लागि राष्ट्रिय चाहनालाई साँचो अर्थमा आत्मसात् गरी नयाँ नेपाल निर्माण गर्ने कार्यमा सबैलाई सहभागी हुन आहृवान गर्नुभएको छ ।
आठौँ सशस्त्र प्रहरी दिवस-२०६५ को अवसरमा सशस्त्र प्रहरीबल प्रधान कार्यालय हलचोकमा बिहीबार साँझ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो आहृवान गर्नुभएको हो ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण नेपालीलाई एकतामा बाँध्ने राष्ट्रियताको खाँचो रहेको आँैल्याउँदै उहाँले सरकार नयाँ परिवर्तनलाई आत्मसात् गर्ने सबैका भावना र विचारलाई समेटेर अगाडि बढ्न प्रतिबद्ध छ भन्नुभयो ।
सामन्ती चरित्र भएका शासकहरूका कारण विगतमा नेपाली जनताले द्वन्द्व गर्नु परेको हो भन्दै प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरीका जवानहरूले राष्ट्रिय एकता र नयाँ नेपाल निर्माणका लागि देखाएको कलाकौशलको प्रशंसा गर्नुभयो ।
"राष्ट्रिय एकता र नयाँ नेपाल निर्माणका लागि तपाईँहरूले देखाएको प्रस्तुति साँच्चै मार्मिक र हृदयस्पर्शी छ", उहाँले भन्नुभयो, "वर्तमान अवस्थामा सबैलाई एक सूत्रमा बाँधेर अगाडि बढ्नु आवश्यक छ । त्यही आवश्यकता पूरा गर्न सरकार महान् सङ्कल्प लिएर अगाडि बढिरहेको छ ।"
उहाँले शान्ति शब्दको महìव कति हुन्छ भन्ने कुरा युद्धको रगतमा लतपतिएकाहरूलाई मात्र थाहा हुन्छ, यदि कसैले सुरक्षासंयन्त्रप्रतिको सरकारी धारणालाई गलत अर्थमा बुझ्छ भने त्यो पाखण्डीपन र भ्रम हुनेछ भन्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव वलीले शान्तिसुरक्षाप्रति प्रतिबद्ध सशस्त्र प्रहरीले शान्तिसुरक्षा गर्ने क्रममा प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठलगायत ३१० जनालाई गुमाएको जानकारी दिनुभयो ।
त्यस अवसरमा सशस्त्र प्रहरीका सांस्कृतिक टोलीहरूले विभिन्न किसिमका कलात्मक गीतसङ्गीत तथा नृत्य प्रस्तुत गर्नका साथै विशिष्ट व्यक्तिका लागि प्रदान गरिने विशेष सुरक्षाव्यवस्था, युद्धकला, ब्यान्ड बाजालगायतका कलात्मक र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमलगायत मन्त्रीहरू, सचिवहरू, सुरक्षा अङ्गका प्रमुखलगायत साहित्यकार, समाजसेवी, कलाकार, प्रहरीका परिवारको पनि सहभागिता थियो ।