अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
गोर्खा बु्रअरीमाथि छानबिन
ओम थापा
 

काठमाडौँ, कात्तिक १० गते । औद्योगिक घराना 'खेतान समूह'को गोर्खा बु्रअरीले राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएका गोर्खा बु्रअरीका १४ वटा ट्रकमा राजस्व छलीका आधारहरू देखिएपछि विभागले छानबिन सुरु गरेको हो ।

दसैँको अघिल्लो दिन नियन्त्रणमा लिएको एउटा ट्रक र त्यसपछि नियन्त्रणमा लिएका १३ वटा ट्रकमा राजस्व छलीका आधारहरू फेला परेको विभागको उच्च स्रोतले जानकारी दिएको छ ।

ती ट्रकमा अन्तःशुल्क प्रक्रिया पूरा नगरेको आधार पनि राजस्व अनुसन्धान विभागले फेला पारेको स्रोतको दाबी छ । विभाग स्रोतका अनुसार नियन्त्रणमा लिइएका अधिकांश बियरमा स्टिकर टाँसिएको छैन भने केही बियरमा अन्तःशुल्कका स्टिकर दोहोर्‍याई तेहर्‍याई टाँसिएको छ ।

त्यसैगरी केही बियरमा अन्तःशुल्क स्टिकरको 'रिपेष्टिङ' -एकपटक टाँसिएका स्टिकरलाई पुनः टाँस्ने काम) समेत गरिएको छ । अन्तःशुल्क ऐन अनुसार बियरका प्रत्येक बोतलमा स्टिकर टाँस्नुपर्ने अनिवार्य व्यवस्था छ ती स्टिकरलाई रिपेस्टिङसमेत गर्न पाइँदैन ।

यसैगरी खेतान समूहकै १४ वटा ट्रकमध्ये एउटामा वाइन पनि फेला परेको छ । यो एक ट्रक वाइनमा पनि स्टिकर टाँस्ने काम ठिकठाक भए पनि प्रक्रियागत त्रुटि फेला परेको विभाग स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार काठमाडौँको एउटा बिक्री केन्द्रबाट अर्को बिक्री केन्द्रमा बिक्रीका लागि पठाएको भनी बिल बिजक जारी गरिए पनि वाइन तराईबाट काठमाडौँ आउँदै गर्दा नियन्त्रणमा लिइएको हो ।

राजस्व छलेको प्रारम्भिक अनुसन्धानका आधारमा गत साता विभागले दुईजना अनुसन्धान अधिकृतसहितको टोली गोर्खा बु्रअरीको उद्योग नवलपरासीमा पठाएको थियो । त्यो टोली आइतबार काठमाडौँ आइपुगेको र भोलिसम्म राजस्व छलीसम्बन्धी प्रारम्भिक प्रतिवेदन दिने पनि विभाग स्रोतले जानकारी दिएको छ ।

प्रारम्भिक प्रतिवेदनपछि गोर्खा बु्रअरीका विषयमा थप अनुसन्धान गरिने विभाग स्रोतले दाबी गरेको छ । डा. बाबुराम भट्टराई अर्थमन्त्रीमा नियुक्त भएपछि राजस्व छलीमा फेला पारेको यो अहिलेसम्मकै ठूलो घटना हो ।

विभागले नियन्त्रणमा लिएका ट्रक भने शुक्रबार छाडेको छ । विभागले ती ट्रकहरू चार करोड ३१ लाख रुपियाँ धरौटी राखेर छोडेको हो । खेतान समूहले धरौटीका लागि लक्ष्मी बैङ्ककलगायतका वित्तीय संस्थाबाट बैङ्क ग्यारेन्टी राखेको पनि विभाग स्रोतले जानकारी दिएको छ ।

यस विषयमा खेतान समूहले भने कुनै पनि प्रतिक्रिया दिएको छैन । आइतबार घटनाका विषयमा जानकारी लिन खेतान समूहका सञ्चालक तथा संविधानसभा सदस्य राजेन्द्र खेतानसँग सम्पर्क प्रयास भए पनि त्यो सफल हुन सकेन ।

नेपालको बियर बजारमा झन्डै ९० प्रतिशत अंश ओगट्ने खेतान समूहको गोर्खा बु्रअरीले काल्र्सवर्ग, टुबोर्ग, सानमिगेल र गोर्खा बियर उत्पादन गर्दै आएको छ । त्यसैगरी कम अल्कोहलको जोली ब्राण्डका मदिरा पनि गोर्खा बु्रअरीले उत्पादन गर्दै आएको छ ।

खेतान समूहले गोर्खा बियरलाई खाडीलगायत जापान, अमेरिका बेलायत आदि देशमा निर्यात गर्ने गरेको दाबी पनि गर्दै आएको छ ।

यसअघि खेतान समूह जोली ब्राण्डमा अल्कोहलको मात्रा र त्यसमा लाग्ने राजस्वसम्बन्धी विवाद तथा प्रत्येक बोतल बियरमा स्टिकर टाँस्ने विषयमा पनि विवादित बन्दै आएको थियो ।

मदिरा र बियरका प्रत्येक बोतलमा स्टिकर टाँस्ने विषयमा खेतान समूहले आपत्ति जनाएपछि राजस्व प्रशासनले स्टिकर टाँस्ने निर्धारित मिति पटक-पटक पछि सारेको थियो ।

गोर्खा बु्रअरी खेतान समूहको बजार व्यवस्था तथा डेनमार्कको बहुराष्ट्रिय कम्पनी काल्र्सवर्ग बु्रअरीजको प्राविधिक लगानीमा स्थापना गरिएको कम्पनी हो ।

काल्र्सवर्ग बु्रअरीजले गोर्खा बु्रअरी राजस्व छलीमा आरोपित भएकोमा कम्पनीप्रति आपत्ति जनाएको कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनी स्रोतका अनुसार काल्र्सवर्गले विवादित विषयमा गोर्खा बु्रअरी दोषी प्रमाणित भए कम्पनीबाट लगानी झिक्नेसम्मको चेतावनी दिएको छ ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home