काठमाडौँ, कात्तिक १९ गते । विश्वकै सर्वाधिक चासोका रूपमा हेरिएको अमेरिकी राष्ट्रपतिको चुनाव आज हुँदैछ । ४४औँ राष्ट्रपतिका लागि आज हुने चुनावमा सत्तारुढ रिपब्लिकन पार्टीका उम्मेदवार जोन सिड्नी म्याक्केन र प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीका उम्मेदवार बाराक हुसेन ओबामाबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी उपराष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट सहारा पालिन र डेमोक्रेटिक पार्टीका तर्फबाट जो विडेन चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहनुभएको छ । अमेरिकी कानुन अनुसार राष्ट्रपतिले उपराष्ट्रपतिको चयन गर्ने प्रावधान छ ।
विश्वकै शक्तिशाली र तेस्रो धेरै जनसङ्ख्या भएको देश अमेरिकाका नागरिकहरू आज यो निर्वाचनलाई 'बूढा' र 'युवा'बीचको टक्कर भन्न पनि रुचाउँछन् किनभने म्याक्केन७२ वर्षका हुनुहुन्छ भने ओबामा ४७ वर्ष ।
गि्रनविच शून्य समय -जीएमटी) अनुसार आज १३ बजेबाट सबैभन्दा चाँडो सुदूरपूर्वी राज्य न्यु हृयाम्पसायरमा मतदान सुरु हुनेछ भने सुदूरपश्चिमी राज्य हवाईमा सबैभन्दा ढिलो १७ जीएमटीमा मतदान हुनेछ । मतदान समाप्त भएको लगत्तै मत परिणाम आउने क्रम सुरु हुने सीएनएनले जनाएको छ ।
बुधबार नै राष्ट्रपतिको चुनावी परिणाम आउनेछ तर राष्ट्रपतिको चुनावी कार्यक्रम अनुसार आउँदो डिसेम्बर १५ मा मात्र इलेक्टोरल कलेजले राष्ट्रपति चुनावको आधिकारिक परिणाम घोषणा गर्नेछ । आउँदो सन् २००९ को जनवरी २० तारिखमा नवनिर्वाचित ४४औँ राष्ट्रपतिले औपचारिक रूपमा हृवाइटहाउसमा पदभार ग्रहण गर्नेछन् । अमेरिकी राष्ट्रपति अमेरिकी सेनाको सर्वोच्च कमाण्डर हुने व्यवस्था छ ।
शक्तिशाली देश अमेरिकी निर्वाचनले विश्वका साना तथा ठूला देशको ध्यान तानिरहेको छ र निर्वाचनमा डेेमोक्रेटिक उम्मेदवार ओबामा -जसले पार्टीको प्रारम्भिक मतदानमा विल क्लिन्टनपत्नी हिलारी क्लिन्टनलाई हराएका थिए) र रिपब्लिकन उम्मेदवार म्याक्केनमध्ये कसले ४४औँ राष्ट्रपतिको रूपमा हृवाइटहाउसमा बस्ने सौभाग्य पाउला त्यो भने नतिजा आउनुअघि पूर्वानुमान गर्न कठिन भए पनि अमेरिकीहरू परिवर्तनको पक्षमा रहेको विभिन्न मत सर्वेक्षणले देखाएको छ । सीएनएनले निर्वाचनअघि गरेको ताजा सर्वेक्षणमा ओबामाको पक्षमा ५३ र म्याक्केनको पक्षमा ४६ प्रतिशत मत रहेको देखाइएको छ । त्यस्तै रोयटर्सको मत सर्वेक्षणले पनि ओबामाकै स्थिति बलियो देखाएको छ । रोयटर्सका अनुुसार ओबामाको पक्षमा ५० प्रतिशत मत परेको छ भने म्याक्केनको पक्षमा ४४ प्रतिशत मात्र मत परेको छ ।
प्रत्येक चार/चार वर्षमा हुने अमेरिकी निर्वाचनमा हालका राष्ट्रपति जर्ज डब्लु बुसले दुई कार्यकाल पूरा गरी आठ वर्ष हृवाइटहाउसमा बिताउनुभयो भने त्यसअघि डेमोक्रेटिक पार्टीका विल क्लिन्टन राष्ट्रपति हुनुहुन्थ्यो । अमेरिकी राष्ट्रपतिको इतिहासमा दुवै पार्टीले लगभग बराबर हृवाइटहाउसको 'राज' गर्दै आएका छन् ।
इलिनोई राज्यका ४७ वषर्ीय सिनेटर ओबामा कन्सास राज्यकी गोरी आमा एन दुन्हाम र केन्याबाट अमेरिका बसाइँ सरेका काला बाबुका सन्तान हुनुहुन्छ । सानैमा बाबुले छाडेपछि उहाँकी आमाले इन्डोनेसियन नागरिक लोलो स्वेतोरोसँग विवाह गरेपछि उहाँको बाल्यकाल इन्डोनेसियामा बित्यो । बोल्ने क्षमताका धनी तथा कुशल वक्ता एवं संवैधानिक कानुनका प्राध्यापक ओबामा सर्वाधिक बिक्रीको सूचीमा रहेका दुईवटा पुस्तकका लेखक पनि हुनुुहुन्छ । उहाँलाई अमेरिकाको राजनीतिक विभाजन समाप्त पार्ने पहिलो काला जातिका उम्मेदवारको रूपमा प्रस्तुत गरिएको छ । उहाँको यो उम्मेदवारी आफँैमा एक कीर्तिमान हो । उहाँ बारम्बार मतदातालाई भन्दै आउनुभएको छ- "यदि तपाइँले हामीलाई भोट दिनुभयो भने हामीले निर्वाचन मात्र जित्दैनौँ, हामी यो देश र विश्व नै परिवर्तन गर्न सक्छौँ", उहाँले मूलतः तीनवटा कुरामा जोड दिनुभएको छ- जनतामाथि लाग्दै आएको कर घटाउने, स्वास्थ्य सुरक्षाको कर घटाउने र इराक युद्ध समाप्त गर्ने । यी तीनवटै महìवपूर्ण बुँदाले अमेरिकीहरू उहाँको पक्षमा बढी देखिएका छन् ।
उता ओबामाका प्रतिस्पर्धी म्याक्केन पनि आफूलाई अब्बल दर्जाको उम्मेदवार ठान्नुहुन्छ । पानामाको क्यानल जोनमा जन्मिनुभएका एरिजोनाका ७२ वषर्ीय सिनेटर म्याक्केन सामुदि्रक जहाजका पूर्वपाइलट हुनुहुन्छ । भियतनाम युद्धमा पाँच वर्ष जेल जीवन बिताउनुभएका र घाइतेसमेत हुनुभएका म्याक्केन भन्नुहुन्छ- "राष्ट्रप्रतिको विश्वास छ र म यसको सम्मान गर्न एकदमै इच्छुक छु", उहाँलाई बुसको अलोकपि्रय आर्थिक नीतिको उत्तराधिकारीका रूपमा पनि लिने गरिन्छ ।
अमेरिकी राष्ट्रपतिको चुनाव विश्वमै भिन्न प्रकृतिको रहेको छ । अमेरिकी मतदाताहरूले राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान गरे पनि राष्ट्रपतिको चयन भने अप्रत्यक्ष ढङ्गले अर्थात् गठित पाँच सय ३८ सदस्यीय इलेक्टोरल कलेजले गर्ने गर्दछ ।