काठमाण्डौ, कात्तिक २१ गते । पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएर उपराष्ट्रपति परमानन्द झाले संविधानको ठाडो उल्लङ्घन गरेको संविधानविद्हरूले बताउनुभएको छ ।उपराष्ट्रपति झाले सरकारद्वारा सेना समायोजन गर्न गठित उच्चस्तरीय समिति संविधानविपरीत रहेको, दलहरूले पटकपटक संविधानको उल्लङ्घन गर्ने गरेको, संविधानमा उपराष्ट्रपतिको सामान्य जिम्मेवारी तोकिँदा आफू बिनाविभागीय मन्त्री जस्तो भएको अभिव्यक्ति बुधबार सार्वजनिक गर्नुभएको थियो ।
उपराष्ट्रपति झाको यस्तो अभिव्यक्ति आएपछि विशेष गरेर अन्तरिम संविधानका मस्यौदाकार संविधानविद्हरूले कडा आपत्ति जनाउनुभयो ।
यस्तै सस्तो अभिव्यक्ति आइरहने हो भने उपराष्ट्रपति जस्तो गरिमामय पदको औचित्यमा नै प्रश्न उठ्नसक्ने संविधानविद्हरूको चेतावती छ ।
"संविधान र सरकारको संरक्षकको हैसियतमा पुगेका उपराष्ट्रपतिबाट जे जस्तो अभव्यिक्ति आयो, यसले सरकार र उपराष्ट्रपति पदको बीचमा नै द्वन्द्व सिर्जना गर्न सक्छ", संविधानविद् एवं अन्तरिम संविधानका मस्यौदाकारसमेत रहनुभएका सिन्धुनाथ प्याकुरेलले चिन्ता व्यक्त गर्नुभयो ।
"उहाँ त संरक्षक हो, सरकारले गरेका निर्णयका बारेमा यसरी सस्तो ढङ्गबाट बोल्न मिल्दैन", श्री प्याकुरेलले भन्नुभयो । उहाँले उपराष्ट्रपति झाले संविधान उल्लङ्घन गरेर संवैधानिक प्रश्न खडा गरेको आˆनो ठम्याइ रहेको बताउनुभयो ।
अन्तरिम संविधानले उपराष्ट्रपतिलाई राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिले गर्ने सेरेमोनियल काम मात्र गर्ने अधिकार दिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
"योभन्दा धेरै गर्न खोज्नु अधिकार अतिक्रमणशिवाय केही होइन", संविधानविद् प्याकुरेलको भनाइ थियो, "उपराष्ट्रपति झा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको मानिस होÙ उहाँले अन्तरिम संविधानले तोकेको उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकारको अध्ययन नै नगरी उम्मेदवारी त दिनुभएको होइन होला नि !"
उपराष्ट्रपतिले राजनीतिक टीकाटिप्पणी गर्ने नै होइन भन्नुहुन्छ अर्का संविधानविद् राधेश्याम अधिकारी ।
"जे अभिव्यक्ति उपराष्ट्रपतिबाट आयो, त्यसले हामी सबैलाई चिन्तित बनायो । यस्तो अभिव्यक्ति कम्तीमा उहाँबाट आउनु हुँदैनथ्यो", अधिकारीले भन्नुभयो ।
राष्ट्रपति र उपराष्ट्रपति भनेको मर्यादित एवं संवैधानिक पद हो भन्ने दुवैले बुझ्नुपर्ने उहाँको सुझाव हो ।
अन्तरिम संविधानका मस्यौदाकार हरिहर दाहालको आक्रोश भने भिन्नै छ । उहाँले भन्नुभयो, "उपराष्ट्रपतिबाट जे बोलियो, त्यसमा उहाँ मधेसी जनअधिकार फोरमको प्रवक्ताजस्तो लाग्यो ।"
"सेना समायोजनको विषय मूलतः राजनीतिक विषय र केही हदसम्म संवैधानिक विषय पनि भएकाले दलहरूले आपसी छलफल गरेर टुङ्याउने विषयमा उहाँले यसरी बोल्नु उपराष्ट्रपतिको गरिमा सुहाउँदो भएन", संविधानविद् दाहालको निष्कर्ष थियो । उहाँले उपराष्ट्रपति झाले यस्तै गरी बोल्दै जाने हो भने पदको औचित्यमा नै प्रश्न उठ्नसक्ने बताउनुभयो ।
श्री दाहालले भन्नुभयो, "यो सङ्क्रमणकालीन अवस्थामा काम नै पाइन, बिनाविभागीय मन्त्रीजस्तो भएँ भनेर रोदन व्यक्त गर्नुको अर्थ छैन । उहाँलाई संविधानले संविधानको संरक्षण गर्ने काम दिएकै छ नि । उपराष्ट्रपति भनेको राष्ट्रपतिको सहयोगी नै हो, उहाँले यो बुझ्नैपर्छ ।"
तर संविधानविद् एवं पूर्वसभामुख दमननाथ ढुङ्गानाको टिप्पणी भने भिन्न छ, "उपराष्ट्रपतिले यस्तो कुरा बोल्ने स्थिति किन र कसरी आयो ?"
प्रमुख दलद्वारा आपत्ति
यसैबीच उपराष्ट्रपति परमानन्द झाका अभिव्यक्तिप्रति प्रमुख राजनीतिक दलहरूले गम्भीर आपत्ति प्रकट गरेका छन् ।
उपराष्ट्रपति झाले बुधबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा राजनीतिक दलहरूले पटकपटक संविधान उल्लङ्घन गर्ने गरेको आरोप लगाउनुभएको थियो ।
उहाँले सरकारले सेना समायोजन गर्न गठन गरेको उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत रहेको टिप्पणी पनि गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी -माओवादी)का प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले उपराष्ट्रपतिको अभिव्यक्तिप्रति आˆनो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
गोरखापत्रसँग कुरा गर्दै श्री महराले भन्नुभयो, "उहाँले जे जे बोल्नुभयो, त्यसबाट हाम्रो पार्टी गम्भीर भएको छ, हाम्रो गम्भीर आपत्ति छ ।"
मन्त्री महराले उपराष्ट्रपति झाले आˆनो क्षेत्राधिकारभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताउनुभयो ।
यसबाट सरकार पनि गम्भीर भएको मन्त्री महराले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसले पनि उपराष्ट्रपति झाका अभिव्यक्तिप्रति रोश प्रकट गरेको छ ।
पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले उपराष्ट्रपतिले पदको मर्यादा र सीमा नाघेको बताउनुभयो ।
उहाँले भन्नुभयो, "उपराष्ट्रपतिले संवैधानिक मुद्दा उठाउन सक्नुहुन्छ तर कार्यक्षेत्र र क्षेत्राधिकारको विषयमा पनि सोच्नुपर्छ ।"
प्रवक्ता केसीले प्रमुख राजनीतिक दल भनेर संविधानमा परिभाषित हुन नसकेको मुद्दा उठाएर उपराष्ट्रपतिले ठीकै बोल्न खोजे पनि मर्यादाविपरीत अशोभनीय ढङ्गबाट क्षेत्राधिकारबाहिर गएर बोल्नु आपत्तिजनक भएको बताउनुभयो ।
नेकपा -एमाले)का प्रचार विभाग प्रमुख ईश्वर पोखरेलले उपराष्ट्रपतिले जे बोल्नुभयो पदीय मर्यादाविपरीत बोल्नुभयो भन्दै अन्तरिम संविधानमा तोकिएको जिम्मेवारी र कार्याधिकार नहेरी किन उपराष्ट्रपति पदमा उठ्नुभयो भन्ने प्रश्न गर्नुभयो ।