Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मधुपर्क २०६६ जेठ
भाग्य
दिल साहनी
 

पत्रपत्रिकामा आलिसान महल बनाउने व्यक्तिको सूचीमा कमरेड किशोरको नाम पनि थियो । कमरेड मोहनले यसलाई अचम्भको घटनाको रूपमा लिएका थिए र स्वाभाविक घटनाको रूपमा पनि । अचम्भको घटना यस अर्थमा कि उनले कहिले सपनामा पनि सोचेका थिएनन् कमरेड किशोर यसरी सुकुम्बासीबाट महलवासी हुन पुग्लान् तर यथार्थ यही थियो । सत्य यही थियो ।

कमरेड मोहनले कमरेड किशोरसित एकसाथ राजनीति सुरु गरेका हुन् भन्दा पनि हुन्छ । त्यतिबेला दुवै जना बनारसमा शास्त्री पढ्दथे । दुवै जना पुष्पलालको सम्पर्कमा आए । उनका राजनीतिक क्लास लिए । उनीहरूलाई कालिदासको शकुन्तला र मेघदूतभन्दा पुष्पलालको राजनीतिक व्याख्यान राम्रो लाग्यो । प्रभावकारी लाग्यो । कालिदासको शकुन्तला र मेघदूत पढ्दा उनीहरूलाई कताकता हराएकोजस्तो लाग्दथ्यो । कताकता जङ्गली युगमा पुगेजस्तो पनि लाग्दथ्यो । कताकता तिलस्मी दुनियाँमा हराएकोजस्तो पनि लाग्दथ्यो तर जब उनीहरूले पुष्पलालको राजनीतिक व्याख्या र विश्लेषण सुन्दथे उनीहरूलाई आफ्नै इतिहास पढेजस्तो लाग्दथ्यो । आफ्नै कथा पढेजस्तो लाग्दथ्यो । कति बेला त उनीहरूलाई शास्त्रीको किताबहरू बनारसको कुनै एउटा गल्लीमा मिल्काएर झोला बोकी नेपालमा तुरुन्त क्रान्ति गर्न जाउँजस्तो पनि लाग्दथ्यो । बन्दुक बोकौाजस्तो पनि लाग्दथ्यो ।

त्यतिबेला नै वी.पी. कोइराला पनि नेपालमा सशस्त्र सङ्घर्ष गर्न भनेर बनारसमा नै पुगेका थिए । उनले सारनाथलाई क्रान्तिको हेडक्वाटरजस्तो बनाएका थिए । वी.पी. कोइरालाको नेपालमा सशस्त्र क्रान्ति गर्ने कुरोले पनि कमरेड किशोर र मोहनलाई थप प्रभाव पारेको थियो । उनीहरूमा जागेको क्रान्तिकारी भावनालाई थप ऊर्जा दिएको थियो ।

त्यतिबेला नै नक्सलवादी आन्दोलनको प्रभावमा नेपालमा झापा विद्रोह भएको थियो । झापालीहरूले सामन्तका टाउका गिाडेर नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने उद्घोषण गरेका छन् भन्ने कुराको चर्चा बनारसका गल्लीगल्लीमा पनि हुन थालेको थियो । बनारसका पसल पसलमा पनि हुन थालेको थियो । झापा विद्रोहको आवाज सुनेर बनारसमा अध्ययन गरिरहेका कैयौा युवकहरू नेपाल फर्किने मनस्थितिमा पुगेका थिए । झापा विद्रोहको प्रभावमा परेर कति युवकहरूले पुष्पलालले अब नेपालमा क्रान्ति गर्दैनन् भन्न थालेका थिए । यही अवस्थामा कमरेड मोहनविक्रमका गद्दार पुष्पलाल निस्क्यो । गद्दार पुष्पलाल लेखेकोमा कतिले मोहनविक्रमको कडा आलोचना गरे । कतिले भने मोहनविक्रमको गद्दार पुष्पलाललाई राम्रै पुस्तक माने ।

बनारसमा शास्त्री पढ्न बसेका किशोर र मोहनलाई हरेक घटनाले असर पारिरहेको स्थिति थियो । उनीहरूलाई हरेक घटनाले सकारात्मक प्रभाव पनि पारेको थियो । नकारात्मक प्रभाव पनि ।

पुष्पलालले नेपालमा क्रान्ति गर्दैनन् कमरेड । क्रान्ति गर्ने भनेको झापालीहरूले नै हो । पुष्पलाललाई मोहनविक्रम पनि संशोधनवादी भन्छन् । झापालीहरूले पनि संशोधनवादी भन्छन् । पुष्पलाल पक्कै संशोधनवादी रहेछन् । संशोधनवादीहरूले कहिले क्रान्ति गर्न सक्दैनन् । हामीले कि पुष्पलालबाट विद्रोह गरेर अर्को छुट्टै क्रान्तिकारी पार्टी बनाउनुपर्दछ कि नेपाल गएर झापाली हुनुपर्दछ । बन्दुक बोक्न पर्दछ । दूध विनायकको एउटा चिया पसलमा बसेर गद्दार पुप्पलाल लेखेको पुस्तकका पाना पल्टाउँदै कमरेड किशोरले निकै जोसिादै भने ।

कमरेडका कुरा मैले गलत मान्दिन तर म अहिले न पुष्पलाललाई छोड्ने मनस्थितिमा छु न त नेपालमा गएर बन्दुक नै बोक्ने अवस्थामा । चिया पसलमा राखेको दैनिक जागरण पल्टाउँदै भने मोहनले ।

मनमा क्रान्तिको ज्वाला उठेपछि त्यो शान्त हुन सक्दोरहेनछ । कसैको मनमा एक किसिमले क्रान्तिको भूत चढेपछि त्यो त्यत्तिकै चुपचाप बस्न सक्दोरहेनछ । सायद यही भएर पनि होला कमरेड किशोर एक सााझ बनारसबाट रेल चढेर नेपालको साइत गरे ।

नेपाल पुग्नेबित्तिकै उनको सम्पर्क झापालीहरूको राजनीतिक सङ्गठन कोकेसित हुन पुग्यो । पछि कोके हुँदै उनी माले हुन पुगे । त्यतिबेला भूमिगत पार्टीको रूपमा क्रियाशील नेकपा मालेको नेता मात्र होइन कार्यकर्ता हुनु पनि निकै धैरै गौरवका कुरा थियो । त्यतिबेला कति मान्छेहरू भन्ने गर्दथे नेपालमा यदि कसैले क्रान्ति गर्छ भने त्यो माले पार्टीले गर्दछ । झापालीहरूले नै गर्दछन् । अरूले त क्रान्तिका कुरा गर्ने मात्र छन् । क्रान्ति गर्ने रहर गर्ने मात्र हो ।

भूमिगत रहेर दिन रात पार्टीको काम गर्ने क्रममा कमरेड किशोरले आफ््नो विवाह गर्न पनि बिर्सेका थिए । आफ्नो घर परिवार पनि बिर्सेका थिए

केही वर्षपछि पार्टीकै पहलमा उनको विवाह कमरेड मालतीसित भएको थियो । उनीहरू कम्युनिस्ट पार्टीको झण्डामुनि उभिएर माक्र्सवाद, लेनिनवाद र माओत्से तुङ्ग विचारलाई आफ्नो सैद्धान्तिक आधार मानी नेपालमा नौलो जनवादी क्रान्ति सफल पारेर समाजवाद र साम्यवादसम्म पुग्ने आफ्नो लक्ष्यको लागि समर्पित हुने प्रण गर्दै विवाह बन्धनमा बाँधिएका थिए ।

छयालीस सालको जनआन्दोलनपछि भूगिगत माले पार्टी खुला भयो । कमरेड किशोर र कमरेड मालती पनि खुला भए । खुला रहेर नै उनीहरूले पार्टीमा सक्रियतापूर्वक काम गर्न थाले ।

कमरेड मनमोहनको माक्र्सवादीसित एकीकरण भएपछि माले अब माले रहेन । यो एमाले भयो । कमरेड किशोर र कमरेड मालती पनि आИनो पार्टीसित नै एमाले हुन पुगे । यस अवस्थामा उनीहरू माले भइरहने कुरो भएन । यो कुरा बेग्लै हो कि उनीहरूलाई एमालेको राजनीतिक लाइन मन परेको थिएन । पुष्पलाललाई गद्दार भनेर झापाली राजनीतिमा लागेका कमरेड किशोरलाई हिजो राजावादी भनेर चिनिएका मनमोहनको नेतृत्वमा काम गर्न मन त पटक्कै लागेको थिएन तर एमालेजस्तो सबभन्दा ठूलो पार्टी छोडेर उनलाई सय पचास कमरेडहरूको पछि दगुर्न पनि मन लागेन । उनलाई आफू क्रियाशील रहेको पार्टीले अब नेपालमा क्रान्ति गर्दैन भन्ने कुरामा त कुनै शङ्का रहेको थिएन तर पनि उनले नेपालमा क्रान्ति नै गर्ने कुनै अर्को पार्टी पनि देखेका थिएनन् ।

यसैबीच एमालेको नौ महिने सरकार पनि बन्यो । यसै बेला कोही मन्त्री बने । कोही राजदूत बने । कोही जी एम बने । कमरेड किशोर र कमरेड मालतीले भने कुनै राजनीतिक नियुक्ति पाएनन् । उनीहरूलाई लागिरहेको थियो उनीहरू पार्टीको माथिल्लो नेतृत्वदायी पदमा नभएको हुनाले मन्त्री वा राज्यमन्त्रीको पद नपाए पनि जी एमसम्म त बनाइनुपर्ने । उनीहरूले के पनि सोाचे भने पार्टीका सामन्य समर्थकहरू पनि ठूला ठूला डिग्रीधारी बुद्धिजीवी भएको कारण राजदूत बनाइए । जी एम बनाइए तर क्रान्तिको लागि बुर्जुवा डिग्री बहिस्कार गरेर आएको व्यक्तिको भने कुनै पनि मूल्याङ्कन भएन । उसलाई कुनै पनि ठाउँ दिइएन ।

पार्टीले कमरेड किशोर र कमरेड मालतीको कुनै मूल्याङ्कन नगरे पनि उनीहरूले पार्टीको नेतृत्व पंक्तिको राम्रै मूल्याङ्कन गरेका थिए । उनीहरूले देखिरहेको थिए हिजो रबरको सस्ता चप्पल लतार्दै हिाड्ने सर्वहारा कमरेडहरू यतिबेला पजेरो चढ्ने भइसकेका थिए । हिजो झुपडीमा बस्ने कमरेडहरू आज राजधानीमा नै महल बनाएर बस्ने भइसकेका थिए । हिजो कमरेडहरूले गद्दार भनेका पुष्पलालले बनारसमा पेटभरि पाउरोटी पनि खान पाउने थिएनन् तर नेपालमा क्रान्ति गर्न झापा विद्रोह सुरु गरेका कमरेडहरूका महलका कुकुरहरूलाई पनि मासुभात रुच्दैनथ्यो ।

पार्टीका नेतृत्व तहमा बसेका कमरेडका छोराछोरीहरू धमाधम विदेशमा डाक्टर, इन्जिनियर बन्न अमेरिका, बेलायत, रुस, चीन, जापान कताकता पुगेका थिए तर कमरेड किशोर र कमरेड मालतीलाई आफ्ना छोराछोरीहरूलाई सरकारी स्कुलमा पढाउन पनि गाह्रो भइसकेको स्थिति थियो । उनीहरूले के पनि देखे भने केही नहुनेहरूले पनि मलेसिया, दुवै, कतार, कोरिया, जापान आदि ठाउँमा पुगी प्रशस्त पैसा कमाएर काठमाडौामा घर घडेरी किनेका थिए तर विडम्बना न त कमरेड किशोर र कमरेड मालतीहरू पार्टीमा रहेर कुनै प्रगति गर्न सकेका थिए न विदेश लागेर नै । पार्टीकै पहलमा सञ्चालित एन.जी.ओ. आई.एन.जी.ओ.कामार्फत पनि कति कमरेडले आफ्नो सात पुस्ता सपारेको देखेका थिए । यो पनि उनीहरूको व्यापक असन्तुष्टिको कारण बनेको थियो ।

यस्तै अवस्थामा एक दिन कमरेड किशोर र कमरेड मालतीले आफ्नो पार्टी नेतृत्वसित आफ्ना सारा गुनासा राख्दै भने- हामी अब होल टाइमरको रूपमा पार्टीमा रहेर काम गर्न सक्दैनांै । हामी कुनै पेशा अपनाउँछौा र आफ्नो घर पनि हेर्दै सक्दो पार्टीको काम पनि गर्दछौा ।

दुवै जनाले यही कुरालाई दृढतापूर्वक राखेको हुनाले पार्टीले हुन्न भन्ने स्थिति आएन । उनीहरू आफूले चाहेअनुसार नै विविध पेशा गरेर पार्टी काम गर्न सक्ने भए ।

आफ्नो पार्टी सरकारमा भएको बेलामा कमरेड किशोरहरूको नाममा पनि सुकुम्बासीमा एउटा घडेरी दर्ता भएको थियो । उनीहरूले त्यही घडेरीमा एउटा छाप्रो हालेर आफ्नो गार्हस्थ जीवन सुरु गरे । कुरा त पैतृक सम्पत्तिमा दाबी गर्ने पनि उठेको थियो तर उनीहरूले पहाडमा आफ्ना दाजु भाइहरूले कोरेर खाएको एक टुक्रा जमिनमा दाबी गरेर उनीहरूलाई पनि किन सुकुम्बासीमा झार्ने भन्ने सोचले कुरा अघि बढाएनन् । उनले एकपछि अर्को गर्दै थुप्रै पेशामा हात हाले तर कतै पनि सफल हुने स्थिति देखा परेन । किराना पसल राखे । त्यो उधारोले सुक्यो । होटल राखे त्यसमा पनि उनीहरूले खासै प्रगति गर्न सकेनन् । रक्सी नराखे होटल नचल्ने । रक्सी राखे त्यसकै कारणले होटलमा नै दिनरात मारपिट भइरहने । केही समय उनले ठेक्कापट्टामा पनि मन दिए तर नेपालमा ठेक्का पट्टा गर्दा मनी र मसल दुवै चाहिने रहेछ भन्ने कुराको चेत भएपछि उनले छोडे ।

केही समय उनले उद्योग चलाउने जमर्को पनि गरे । ढाका उत्पादन गर्न तान राखे । उनको यस पेशाले पनि रोजगारी चल्न गाह्रो पर्‍यो । कामदारलाई महिना मर्नसाथ पैसा दिन पर्ने । आफू त नाङ्गाको नाङ्गै । भोकाको भोकै । फेरि उनीहरूले होजियारी राखे । यो पनि अन्ततः उनीहरूको लागि फलिफाप भएन । त्यसलाई बन्द गरेर केही समय फर्निचर उद्योग पनि खोले । यसमा बढी चोरीका काठ चल्ने । यो पेशा उनीहरूको निम्ति उपयुक्त नभएको कारणले मात्र होइन कम्पिटिसनमा आउन नसकेको कारणले यसबाट पनि हात धोएका थिए । केही समय कमरेड किशोर र कमरेड मालतीले पत्रकारिता पनि नगरेका होइनन् तर पत्रकारितामा आवश्यक गुण आफूमा नभएको हुनाले यसमा पनि उनीहरू धेरै समय टिक्न सकेनन् । केही समय फोटोकपी र फ्याक्सको धन्दा चलाए । त्यसबाट पनि कुनै उन्नति गर्न सक्ने सम्भावना नदेखेर कम्युटर इन्स्िटच्युटतिर ढल्किए । यो पेशा पनि उनीहरूले दुई डेढ वर्षभन्दा बढी चलाउन सकेनन् । चारैतिरबाट असफल भएपछि उनीहरूको अगाडि अब केवल दुईवटा उपयुक्त पेशा बाँकी रहेका थिए- जग्गाको किनबेचको कारोबार वा विदेशी रोजगारको कारोबार तर यसमा पनि कमरेडहरू सफल भएनन् ।

घरमा खर्च बढ्दै गयो । मागहरू बढ्दै गए । आवश्यकता बढ्र्दै गए । यी सब कुराको साथसाथै ऋण पनि बढ्दै गयो । उद्योग धन्दा खोल्छु भनेर बैङ्कबाट ल्याएको कर्जा तिर्न सक्ने अवस्था रहेन । सुकुम्बासीमा प्राप्त गरेको घर घडेरी विक्री गरे पनि ऋण बीसको उन्नाइस हुने छाँट देखिएन । कमरेड किशोर र कमरेड मालतीको पार्टी कामप्रति एक प्रकारको वितृष्णा लाग्न थाल्यो । उनीहरू बिस्तारबिस्तार निष्त्रिmय भएर बस्न थाले । वास्तवमा उनीहरू के गर्ने के नगर्ने भन्ने मनस्थितिमा पुगेका थिए ।

कमरेड किशोर र कमरेड मालतीले के देखे भने क्रान्तिकारी स्पि्रट भएका धेरै जसो कमरेड माओवादी भइसकेका थिए । उनीहरूमध्ये कति भूमिगत भइसकेका थिए भने कति बाहिर एमालेजस्तै देखिएर माओवादी पार्टीका गतिविधि सञ्चालन गरिरहेका थिए । कमरेड किशोरको एक मनले त क्रान्ति नै गर्ने हो भने माओवादीमा जानुपर्छ कि पनि भनिरहेको थियो तर फेरि उनको अर्को मनले भनिरहेको थियो यो उमेरमा आएर माओवादीले जति बलिदानीको भावनाले काम गर्न सकिन्न । यो उमेरमा आएर माओवादीहरूले जति ज्यान नै फालेर काम गर्न सकिन्न ।

यसैबीच प्रतिगमन आधा सच्चियो भनेर एमाले सरकारमा गयो । एमालेको कृपादृष्टि कमरेड किशोरमाथि पनि पर्‍यो । उनलाई पार्टीले जी एम पदले सम्मानित गर्ने निर्णय गर्‍यो ।

जिएम भएको एक/दुई वर्षमा नै कमरेड किशोरको पारिवारिक स्थितिमा ठूलो हेरफेर आयो । उनले राजधानीमा नै महल खडा गरेको खवरले समाचार पानाका पन्ना भरिन थाले । हुन त यसैबीच उनका जेठा छोरा कोरिया गएको एक/डेढ वर्ष जति भएको थियो । उनले आफूले राजधानीमा खडा गरेको भवन कुनै भ्रष्टाचारको पैसाले होइन । छोराले कोरियाबाट पठाएको पैसाले नै बनाएको हो भने । यो कुरा कतिले पत्ताए कतिले पत्ताएनन् तर साँचो कुरा के थियो भने यतिबेला कमरेड किशोर र कमरेड मालतीको अवस्था हिजोको जस्तो थिएन । उनीहरूको गणना राजधानीकै अभिजात वर्गमा हुन थालेको थियो ।

कमरेड मोहनको अगाडि एउटा पजेरो आएर रोकियो । पजेरो कमरेड किशोरको थियो । जिएम कमरेड किशोर ।

मलाई चिन्नु भयो मोहनजी ? कमरेड किशोरले गाडीबाट मुण्टो बाहिर निकालेर सोधे । आफ्नो अगाडि गाडी आएर रोकिादा कमरेड मोहन झस्किए । उनले देखे एक जना पेन्ट टाई सुट लगाएको व्यक्तिले उनलाई सम्बोधन गर्दै भनिरहेको थियो ।

उनले आँखा गाडेर हेर्दा चिनेजस्तो त लाग्यो तर ठहराउन भने सकेनन् । उनले विनम्रतापूर्वक भने- मैले तपाईर्ंलाई कतै देखेजस्तो त लाग्यो तर ठहराउन सकिनँ । आँखा कमजोर भएर पनि होला ।

म तपाईंको बनारसको लंगोटिया यार । कमरेड किशोर । कमरेड किशोरले मुस्कराउँदै भने ।

ए त्यसैले पो त मलाई तपाईं कुनै चिर परिचित व्यक्तिजस्तो लाग्नुभएको थियो । अहिले मलाई तपाईंलाई चिन्न गाह्रो भयो । हिजो किशोरजी वास्तवमा किशोर अवस्थामा नै हुनुहुन्थ्यो । अहिले यस्तो प्रौढ अवस्थामा मैले तपाईंलाई कसरी चिन्ने । दोस्रो कुरो तपाईं बनारसको धोती कुर्तामा हुनुहुन्थ्यो । अहिले यस्तो सुटेड बुटेड व्यक्तिलाई मैले कसरी चिन्ने ? उसरी तपाईर्ले मेरो कुनै खबर नलिए पनि तपाईंका बारेमा त मैले खबर लिादै गर्थैं । पछिल्लोपटक तपाईं जिएम भएको खबर पनि मेरा कानमा नपुगेको होइनन् । कमरेड मोहनले आफ्नो प्रतिक्रिया प्रकट गर्दै भने ।

भन्नोस् तपाईं अहिले के गर्दै हुनुहुन्छ ? केही गम्भीरजस्तो भएर कमरेड किशोरले प्रश्न गरे ।

के गर्ने गाउँमा मास्टरी गर्दै थिएँ । सरकारले मलाई आतङ्कवादी भनेर प्रहरी थाना पुरायो । सैनिक ब्यारेकमा पुरायो । जेलको दर्शन पनि गरायो । गायब नै पार्ने सुर पनि कसेको थियो तर नागरिक समाज, मानव अधिकारवादी सङ्घ-संस्था र कानुन व्यवसायीहरूको ठूलो प्रयासले छुटेको छु । यसमा न्यायाधीशहरूको पनि निकै ठूलो सहयोग रहेको छ । थाना र ब्यारेकमा ज्यादा यातना खाएर होला मेरो सम्पूर्ण शरीर मरेको जस्तो छ । अहिले उपचार गराउँदै छु । उपचार गराउन नै राजधानी आएको थिएँ । भोलि जिल्ल्ाातिर नै फर्किंदै छु । कमरेड मोहनले सबै कुराको बेली विस्तार लगाउँदै भने ।

आज मेरै निवास जाने कि ? दुःख सुखका कुरा गर्न सकिन्छ । कमरेड किशोरले उदारताको प्रदर्शन गर्दै भने । जान त जान हुन्थ्यो तर केही काम बाँकी रहेकोले अहिलेलाई क्षमा गर्नु होला । पछि कुनै दिन तपाईंको निवासमा अवश्य निस्किउँला ।

कुराकानी गरेपछि कमरेड किशोरको गाडी बानेश्वरतिर घुइक्यो । कपाल सेतै फुलेका कमरेड मोहन चुपचाप आफ्नो सेल्टरतिर लागे ।

अन्य शीर्षक
рдореЗрд░реЛ рдЙрд╣реА рднреБрддреНрддреЗ рдЧрд┐рджреА -рдмрд╛рд▓рдХреГрд╖реНрдг рдкреЛрдЦрд░реЗрд▓
अध्ययन र समर्पण -कुलचन्द्र वाग्ले
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा -विजय चालिसे
गयो वर्ष - आयो वर्ष -मेदिनीकुमार केवल
मलामी -पद्मा अर्याल
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
देशभित्र सिमाना खोज्दै -अच्युत घिमिरे
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
आमाको जतन -डम्बर रसिक भारती
आँकुरा
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
ए सप्तकोशी ! -दिलीप राई सगर
आमाको जतन -डम्बर रसिक भारती
केही हाइकु -ज्ञान उदास
अक्षर -प्रल्हाद पोखरेल
गजल -सुवासचन्द्र ढुङ्गेल
कविता -तानिकावा शुन्तारो
गजल -काशीराम विरस
मन परेको राम्रो -केदार न्यौपाने
गजल -दिव्य गिरी
नेता नबन्ने म ता -पर्शुराम पराजुली 'पराशर'
स्मृति क्यानभासमा हजुरआमा -लक्ष्मी उप्रेती
जीवित नायकको आत्मकथा -शैलेन्द्र साकार
पहाड र आकाश -मञ्जुल
सहिदको सम्झना -ज्ञाननिष्ठ ज्ञवाली
झुमी -चंकी श्रेष्ठ
कालीका सुसेली -बाबुराम लामिछाने
स्मृतिमा इश्वरदाइ -गीता त्रिपाठी
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म -कृष्णकुमार प्रजापति
स्कटल्याण्डतिरका पदचाप -मुकुन्द पोखरेल
को हुन् चार जना ? -धु्रव थापा
भारतमा नेपाली नाटक -देवी पन्थी
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास डा. गङ्गाप्रसाद अकेला
अमेरिकाको रहर -डा. हंसपुरे सुवेदी
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा -नरेन्द्रजंग पिटर
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू -तेजेश्वरबाबु ग्वंग
लोकतान्त्रिक आन्दोलनमा स्रष्टा, गणतान्त्रिक चेतना र नेपाली साहित्य -मधुसूदन पन्थी
शैशवका तीन पुस्ता -मदनमणि दीक्षित
नेपाली साहित्यमा 'मधुपर्क'को योगदानको मूल्याङ्कन -शिव रेग्मी
हाम्रो प्रतिबद्धता
मधुपर्क २०६६ जेठ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px