आश्विन शुक्ल प्रतिपदादेखि दसमी तिथिसम्म मनाइने दसैँ पर्व भन्नासाथ हरेकको मनमा मीठो खाने र राम्रो लगाउने सन्दर्भहरूले नौलो उत्साह जगाउँछ । मूख्यतः नारी महाशक्तिका रूपमा देवीको विविध रूपको पूजा र उपासना गरी मनाइने यो पर्वको मुख्य उद्देश्य नै मानिसलाई पनि सत्बुुद्धि, शक्ति र सिद्धी प्राप्त होस् भन्नु नै हो । दुर्गा पूजा र उनैको प्रसाद स्वरूप टीका र जमरा ग्रहण गर्ने परम्परा भए पनि सामाजिक रूपमा हरेक व्यक्तिहरूको चाडपर्व मान्ने आ-आˆनै शैली हुन्छ । विशेषगरी सार्वजनिक महत्वका व्यक्तिहरूको चाडपर्व मनाउने शैली कस्तो हुन्छ होला भन्ने जिज्ञासा आम पाठकलाई लाग्न सक्छ । पाठकहरूको यस्तै कौतुहलता मेटाउने प्रयास स्वरूप युवामञ्चले यसपटक चलचित्र अभिनेत्रीहरूसँग गरेको छोटोमीठो दसैं संवाद ।
प्रेरणा शर्मा
§ दसैँमा कतिको रमाइलो गर्नुहुन्छ ?
- म दसैँमा भन्दा बढी तिहारमा रमाइलो गर्छु ।
§ तपाईं शाकाहारीकी मांशाहारी ?
- म मांशाहारी नै
हो ?
§ यसपालीको दसै मनाउने कुनै योजना छ कि ?
- छैन, मेरो घर चितवन जान्छु, परिवारसँगै मनाउने हो ।
§ तपाईंलाई दसैँको कुन कुरा राम्रो लाग्छ ?
- पारिवारिक जमघट हुन्छ, आफूभन्दा अग्रजको आशिर्वाद लिन पाइन्छ, सुटिङ् पनि बिदा हुन्छ, घुम्न पाइन्छ ।
§ भगवान्प्रति कतिको आस्था राख्नुहुन्छ ?
- अलि अलि राख्छु, दसैँमा व्रत चाहिँ बस्दिन ।
§ दसैँमा नारी शक्तिको स्मरण गर्ने परम्परा तपाईंलाई कस्तो लाग्छ ?
- राम्रो लाग्छ, कमसेकम वर्षमा एकैदिन भए पनि नारी शक्तिको पूजा हुन्छ, पुरुष प्रधान समाज भए पनि हरेक पुरुष नजानिँदो तरिकाले नारी शक्तिको उपासना गर्ने गर्दछ । यो त अझै वषार्ंै वर्षसम्म भइरहनु पर्दछ ।
पूजना
§ दसैँ रमाइलो लाग्छ ?
- अहँ । त्यति रमाइलो लाग्दैन, बरु तिहार मन पर्छ ।
§ किन ?
- दसैँमा काठमाडौँ पूरै सुनसान र खाली हुन्छ, त्यसैले कता कता नरमाइलो अनुभव हुन्छ ।
§ यसपालीको दसैँ कसरी मनाउने त ?
- कुनै योजना छैन, दुई/चार वर्ष अगाडिसम्म दाजु विदेश नजाँदा हामी कुनै योजना बनाएरै दसैँ मनाउथ्यौँ तर अहिले दाजु हुनुहुन्न, सामान्य रूपमै मनाउँछौँ ।
§ दसैँको कुनै मन नपर्ने पक्षहरू छन् ?
- दसै भन्दैमा अरूको देखासिकी गरेर नभए पनि ऋण गर्ने, दसैँमा नयाँ नै लुगा लगाउनु पर्छ भन्ने मान्यता चाहिँ मलाई मन पर्दैन ।
§ दुर्गाको व्रत बस्नुहुन्छ ?
- यसपालीको दसैँमा त नौ दिनसम्म नै नौवटा देवीको नाममा मौन व्रत बस्ने योजना बनाएको छु ।
§ किन मौन व्रत ?
- म भगवान्प्रति धेरे नै आस्तिक छु त्यसैले उहाँप्रतिको श्रद्धाभाव हो यो ।
§ दसैँ कसरी मनाउनुपर्छ होला ?
- यो एउटा परम्परा हो यसको संरक्षण गर्न हामीले दसैँको राम्रा पक्षहरूको मात्र मनन गरेर मनाउँदा राम्रो होला ।
अरुणिमा
§ दसैँ कतिको रमाइलो लाग्छ ?
- दसैँ ठीकै लाग्छ, मेरो मनपर्ने चाड त तिहार हो ।
§ तपाईंको लागि दसैँको स्मरणीय कुराहरू केही छ ?
- मलाई सम्झना भएदेखि नै प्रायः म हरेक वर्षको दसैँमा विराटनगर जान्छु, त्यहाँ नौ दिनसम्म मन्दिर जाँदा लगाउनलाई म नौ जोर नयाँ नयाँ कपडा दसैँ आउनुभन्दा दुई महिना अगाडिदेखि नै सुटकेशमा राख्ने गर्छु, ती हरेक वर्षहरूको दसैँ मेरो लागि स्मरणीय छ ।
§ दसैँमा नयाँ लुगा लगाउनुपर्छ भनेर हो ?
- दसैँमा मात्रै होइन, हिजोआज पनि म कतै नयाँ ठाउँमा जान पर्यो भने अगाडिदेखि नै कपडा चाहिँ प्याकिङ्ग गरिहाल्छु यो मेरो बानी हो ।
§ दसैँको कुन कुन पक्षहरू मनपर्छ ?
- अरू बेला व्यस्त भए पनि दसैँमा सुटिङमा बिदा हुन्छ, आफन्तसँग भेटभाट हुन्छ, दसैँमा टीका लगाएपछि त पैसा पनि पाइन्छ मलाई यी सबै कुराहरू मन पर्छ ।
§ बुहारी भएर दसैँ मनाउँदा कस्तो अनुभव गर्नुभयो ?
- छोरी भएर मनाउँदा आमाबुबाले सबै गर्नुहुन्थ्यो, केही थाहा हुँदैनथ्यो तर बुहारी भएपछि व्यस्त हुनुपर्छ, आफूले सम्मान गर्नुपर्ने धेरै हुन्छन्, फरक त भैहाल्छ नि ।
सञ्चिता लुईटेल
§ कुन पर्व एकदमै मन पर्छ ?
- मलाई फागु पूणिर्मा एकदमै मनपर्ने पर्व हो ।
§ दसै भन्नासाथ के कुराको सम्झना आउँछ ?
- अँ । मलाई त नयाँ लुगा र मीठो मीठो खानेकुराको सम्झना आइहाल्छ ।
§ यसपालीको दसैँ कसरी मनाउने त ?
- अरूले जसरी मनाउनुहुन्छ, त्यसरी नै हो । नयाँ त के हुन्छ र परिवारभित्रै रमाइलो गरेर मनाउँछु ।
§ नवदुर्गाको पूजा गर्ने व्रत बस्ने गर्नुहुन्छ ?
- मन्दिर जान्छु तर व्रत अहिलेसम्म बसेकी छैन ।
§ दसैँको मनपर्ने पक्षहरू ?
- टाढा टाढा भएका आफन्तहरूसँग एकैठाउँमा भेट हुने, आफूभन्दा ठूलाको हातबाट टीका थाप्ने, आशीर्वाद लिने यो त राम्रो पक्ष हो नि ।
§ देवी शक्तिलाई तपाईंले कसरी बुझ्नु भएको छ ?
- यो नारी शक्ति हो, नारी शक्ति भनेको धर्ती, ब्रहृमाण्ड सब थोक हो । रामायण, महाभारतजस्ता शास्त्रहरू पनि नारी शक्तिकै कारण लेखिएका हुन्, नारीमा दैवी शक्ति हुन्छ ।
सौजन्य सुब्बा
§ दसैँ कतिको रमाइलो लाग्छ ?
- दसै त मेरो मनपर्ने पर्व हो, धेरै नै रमाइलो लाग्छ ।
§ दसैँमा कस्तो परिकारहरू खान मन पराउनुहुन्छ ?
- दसैँमा त मासुको भिन्दाभिन्दै परिकारहरू नै मनपर्छ ।
§ दुर्गा पूजा गर्नुहुन्छ ?
- गर्छु, तर व्रत चाहिँ बस्दिन ।
§ दसैँको कुन पक्षहरू मन पर्छ ?
- मलाई दसैँ आउँदा जहिले पनि बच्चै छु जस्तो लाग्छ, ठूली भइसको पनि बुबाआमाहरूले टीका लगाइदिएपछि पैसा दिनु हुन्छ भनेर रमाइलो लाग्छ, अनि बाल्यकाल सम्भिmन मन लाग्छ, जमघट, टीका लगाउने, आशीर्वाद लिने यो राम्रो पक्षहरू हो ।
§ दसैँको मन नपर्ने केही पक्षहरू छ ?
- दसैँ एउटा परम्परागत रूपमा हामीले मान्दै आएको संस्कार हो, अनावश्यक तडकभडकलाई कम गरौँ, परम्पराको जगेर्ना गरौँ, राम्रो भइहाल्छ नि ।
§ नवदुर्गाको पूजाबाट समाजमा कस्तो सन्देश जान्छ होला ?
- यो त नारीमाथिको सम्मान हो, यो दैवी शक्तिको पूजा हामीले गर्नुपर्छ, यसबाट समाजलाई नारी शक्तिको बोध हुन्छ ।